arrow

मेसेडोनियाको नाम परिवर्तनका बारेमा ग्रीसमा मतदानको तयारी

logo
एएफपी,
प्रकाशित २०७५ माघ ११ शुक्रबार
macedonia-greece.jpg

एथेन्स। ग्रीसका सांसदहरुले शुक्रबार मेसेडोनियाको नाम परिवर्तनको विषयमा ऐतिहासिक मतदान गर्दैछन्। सडक र सदन दुबैमा चर्को विरोधका बीच छिमेकी मेसेडोनियाले गरेको आफ्नो मुलुकको नाम परिवर्तनलाई ग्रीसको संसदले अनुमोदन गर्न लागेको हो।

ग्रीसको संसदले मतदान गरी पारित भएमा ग्रीस र मेसेडोनियाबीच लामो समयदेखि जारी कूटनीतिक विवाद तत्कालका लागि समाधान हुनेछ । दुई मुलुकबीच मेसेडोनियाले सन् १९९१ मा स्वतन्त्रता प्राप्त गरेदेखि नै नामको विषयमा विवाद रहँदै आएको छ।

खासगरी, ग्रीसको एक राज्य मेसेडोनिया र युगोस्लाभियाबाट सन् १९९१ मा स्वतन्त्र भएको मेसेडोनियाबीच नाम जुधेका कारण विवाद रहँदै आएको छ।

“यो सम्झौतासँगै ग्रीसले आफ्नो इतिहास, यसको चिन्ह, यसको परम्परा पुनः प्राप्त हुनेछ,” संसदमा दुई दिनदेखि जारी छलफलका क्रममा प्रधानमन्त्री अलेक्सिस सिप्रासले बताए। उनले मतदानसँगै तीस वर्षदेखिको विवाद सुल्झिने विश्वास व्यक्त गरे।

उनले मेसेडोनिया राज्य अब एउटा असल मित्रराष्ट्र, सहकार्य, शान्ति र सुरक्षाका लागि एउटा समर्थक राष्ट्र हुने बताए। मेसेडोनियाको संसदले जनवरी ११ मा मुलुकको नाम परिवर्तन गरी “गणतन्त्र उत्तर मेसेडोनिया” राख्ने प्रस्ताव पारित गरेको थियो। तर, सम्झौता बमोजिम नयाँ परिवर्तित नामलाई ग्रीसको संसदले पनि पारित गर्नुपर्नेछ।

सन् १९९१ देखि ग्रीसले छिमेकी मुलुक मेसेडोनियाको नामलाई अस्वीकार गरिआएको छ किनभने ग्रीसको उत्तरी प्रान्तको नाम पनि मेसेडोनिया रहेको छ। विगतमा दुबै मेसेडोनिया एकै थिए।

ग्रीसको संसदले मेसेडोनियाको नाम परिवर्तनलाई अनुमोदन गरेपछि गणतन्त्र उत्तर मेसेडोनियालाई नेटोको सदस्यता प्राप्त गर्न बाटो खुल्नेछ। सम्भवतः अर्को महिना मेसेडोनियाले नेटो सदस्यताका लागि आवेदन दिनेछ जसलाई ग्रीसले पनि समर्थन गर्नेछ।

नाम परिवर्तनको विपक्षमा ग्रीस र मेसेडोनिया दुबै स्थानमा प्रदर्शन भइरहेका छन्। कतिपय ठाउँमा हिसात्मक झडप समेत भएका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ