arrow

'डा. केसीसँगै सरकारको स्वास्थ्य पनि दिन प्रतिदिन विग्रँदैछ'

logo
प्रकाशित २०७५ माघ १४ सोमबार
badri_pandey.jpg

काठमाडौं । प्रतिनिधि सभाको सोमबारको बैठकमा पनि चिकित्सा शिक्षा विधेयक र डा. गोविन्द केसीको स्वास्थ्यको विषयमा कुरा उठेको छ । सोमबार बसेको राष्ट्रिय सभाको बैठक सुरु भएसँगै काँग्रेस सांसदहरुले उठेर विरोध गरे । पछि बैठकमा बोल्दै काँग्रेस नेता एवं सांसद बद्री पाण्डेले सरकारले आफूहरुको माग पूरा गर्न तर्फ कुनैपनि चासो नदिएकोले यो बैठक सोमबार पनि चल्न नसक्ने बताए । 

७ दिन अघि यसरी नै बैठक स्थगित भएपछि बैठक सोमबार (आज) को लागि बोलाईएको हो । सोमबार पनि काँग्रेसको अवरोधपछि १५ मिनेटको लागि बैठक स्थगित भएको छ । सो बैठक सुरु भएसँगै काँग्रेस सांसदहरुले उठेर विरोध गरेका छन् । पछि काँग्रेसले सरकारले आफूहरुको माग पूरा नभएको कारण अझैपनि आफूहरुको अवरोध जारी रहेको बताएका छन्। 

नेता पाण्डेले सरकारले काँग्रेसका दुईजना पूर्व सभापतिहरुको नाममा रहेको स्वास्थ्य संस्थालाई खारेज गर्ने तयारी गरेको आरोप लगाए । यो विषयसँगै सरकारले काँग्रेसले उठाएका अन्य मागहरु पूरा गर्नुको साँटो झनै एकलौटी रुपमा सरकार अघि बढेकोले आफूहरु स‌ंसद अवरुद्ध गर्न बाध्य भएको प्रतिक्रिया दिए । उनले आफूहरु स‌ंसदलाई बन्धक बनाउने पक्षमा नरहेपनि सरकारको गतिविधिले आफूहरु विरोध गर्न बाध्य भएको बचाए । संबैधानिक परिषदको बैठकमा प्रमुख प्रतिपक्षीलाई खबर नै नगरी महत्वपूर्ण निर्णय गरिएको प्रति पनि आपत्ति जनाए । उनले चिकित्सा शिक्षा विधेयक प्रतिनिधि सभाबाट जवर्जस्ती पारित गराईएकोबारे राष्ट्रिय सभा समेत जानकार रहेको बताए । उनले संसदीय मूल्य र मान्यता विपरित गएर प्रतिनिधि सभामा प्रमुख प्रतिपक्षको विरोध हुँदा हुँदै विधेयक पारित गरिनुले सरकारको असलियत स्पष्ट भएको आरोप समेत लगाए । 

उनले चिकित्सा शिक्षाको समग्र सुधारको माग गर्दै अनसन बसेका डा. गोविन्द केसीको माग पूरा गर्न सरकार उदासिन रहेको र उनको सत्याग्रहलाई बेवास्ता गरि उनीसँग यसै सरकारले यस अघि गरेको सम्झौता लत्याएर चिकित्सा शिक्षा विधेयक ल्याईएकोमा आपत्ति समेत जनाएका छन् । उनले दिन प्रतिदिन डा. गोविन्द केसीको स्वास्थ्य अवस्था विग्रँदै गएको भन्दै डा. केसीकोसँगै सरकारको समेत स्वास्थ्य दिन प्रतिदिन विग्रँदै गएको भान भएको समेत बताए। निर्मला पन्तको हत्यारा पत्ता लगाउन नसक्नु, गोविन्द केसीको मागमा सरकार आफ्नै सम्झौता विपरित विधेयक पारित गराईनु जस्ता गतिविधिहरुले पनि सरकारको स्वास्थ्य विग्रँदो अवस्थामा रहेको कुरा पुष्टि हुँदै गएको उनको बुझाइ छ । 

गत सोमबार नेपाली काँग्रेसले दोस्रो पटक बोलाईएको संसद् बैठकमा पनि अवरोध गरेको थियो । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले आफ्नो माग पूरा नभएसम्म संसद् चल्न नदिने रणनीति अनुरुप दोस्रो पटक पनि बैठक अवरुद्ध गरेपछि बैठक एक सातासम्मको लागि स्थगित गरिएको थियो । काँग्रेसको अवरोध पछि राष्ट्रिय सभा अध्यक्ष गणेश प्रसाद तिमल्सिनाले सोमबारका सबै कार्यसूचीहरु स्थगित गर्दै आगामी बैठक अर्को सोमबार अर्थात् माघ १४ गतेसम्मको लागि स्थगित गरेका थिए ।

काँग्रेसले केही साता अघि मन्त्रिपरिषदमा पठाईएको विभिन्न ११ वटा स्वास्थ्य संस्थाहरुमध्ये ९ वटा स्वास्थ्य संस्थाको अनुमती स्वीकृति गरेको तर, काँग्रेसका सभापतिद्वय गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नाममा खुलेका स्वास्थ्य संस्थाहरुलाई अनुमतीको स्वीकृति नदिएको भन्दै संसद अवरोध गरिरहेको छ । साथै, चिकित्सा क्षेत्रको सुधारको लागि अनसनरत डा. गोविन्द केसीसँगको सहमति विपरित चिकित्सा शिक्षा विधेयकको विरोध र केसीको माग पूरा गर्ने माग सहित काँग्रेसले संसद अबरुद्ध गराउँदै आएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ