arrow

सरकारलाई खबरदारी गर्न नेविसंघ उत्रियो नेपालगञ्जमा

logo
प्रकाशित २०७५ माघ १४ सोमबार
nsu_-nepalgunj.jpg

नेपालगञ्ज। नेपाल विद्यार्थी संघको संयोजनमा सोमबार नेपालगञ्जमा सरकारका विरुद्ध खबरदारी सभा गरिएको छ। विपी चोकमा गरिएको खबरदारी सभामा बोल्ने बक्ताहरुले सरकार दुई तिहाईको दम्भ पालेर अधिनायकबादी शैलीमा अघि बढेको भन्दै रोष प्रकट गरेका थिए । उनीहरुले सरकारलाई आफ्नो गल्ती सच्याउन चेतावनी दिएका छन् ।

सार्वभौम सदनलाई समेत सरकारले पेवा सम्झँदै आफ्नो अनुकूल बनाएको आरोप लगाउँदै बक्ताहरुले सरकारको स्वेच्छाचारी शैलीका विरुद्ध कांग्रेस र यसका भ्रातृ संगठन सडकमा उत्रनुपरेको बताए।

खबरदारी सभामा बोल्दै कांग्रेस सभापति किरण कोइरालाले सरकारको ज्यादति विरुद्ध कांग्रेस सडकमा आउन बाध्य भएको बताइन। जनविरोधी कार्य गर्ने र प्रतिपक्षीलाई सदनमा समेत निषेध गर्ने सरकारको शैली अराजक र अधिनायकबादी भएको उनको टिप्पणी थियो। ‘जब कांग्रेस सडकमा आउँछ, गलत काम गर्ने सरकार ढल्छ, सभापति कोइरालाले भनिन, “विवेक गुमाएको र पेलेर जाने सरकारलाई हामी पनि हाम्रो तागत देखाउँछौं ।”

सभामा सचिव तप्त पौडेल, नेता कृष्ण कार्की, सुदिप नरसिंह राणा, विद्यार्थी नेता आशिष बर्मा लगायतले बोलेका थिए। नेपाली विद्यार्थी संघको केन्द्रीय परिपत्र अनुसार गरिएको खबरदारी सभा नेपाल विद्यार्थी संघ बाँकेका अध्यक्ष पूर्ण प्रसाद आचार्यको अध्यक्षतामा भएको थियो ।

माघ ११ गतेको सदनको बलजफ्ती घटना, डा गोविन्द केसीको मागप्रति सरकारको संवेदनहिनता, पार्टीका पूर्व सभापतिद्वय एवम् पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाका नाममा रहेका अस्पताल संघ मातहत नराखी विघटनको मनसाय राखेको, महंगी र भ्रष्टाचार बढेको, हत्या, हिंसा र बलात्कारका घटनाको नियन्त्रणमा पनि असफल भएको लगायतका आरोप लगाउँदै कांग्रेस र यसका भ्रातृ संगठन केही दिन यता निरन्तर सडक आन्दोलनमा छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ