arrow

प्रतिनिधिसभा बैठक आइतबारसम्मका लागि स्थगित

logo
प्रकाशित २०७५ माघ १७ बिहिबार
parliament1.png

काठमाडौँ । सङ्घीय संसद्, प्रतिनिधिसभाको बिहिबारको बैठक प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको विरोधका कारण स्थगन भएको छ ।  सभामुख कृष्णबहादुर महराले संसद्को बैठक शुरु गर्नुहुनेबित्तिकै कांग्रेसका सांसदहरुले उठेर विरोध जनाएपछि सांसद डा मीनेन्द्र रिजाललाई बोल्ने समय दिएका थिए ।
 
सांसद रिजालले पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाले शान्ति प्रक्रिया एवं संविधान निर्माणमा पुर्‍याउको योगदान बिर्सन खोजिएको हो भनी प्रश्न गरे।  “डा गोविन्द केसी अनशनमा हुनुहुन्छ, यत्तिकैमा चिकित्सा शिक्षा विधेयक पारित गरियो, गलत अभ्यासको शुरु भयो , संसद्ले गर्ने त्रुटिलाई सच्याउने हो, त्यो बाटो बन्द भयो ।”, सांसद रिजालले भने।

राणा, पञ्चायत र ज्ञानेन्द्रले शुरुमा कांग्रेसलाई देखेनन् जतिखेर देखे त्यसबेला ढिला भएजस्तो वर्तमान सरकारका लागि नहोस् सांसद रिजालले भने। निरीह अनशनकारी जो आफ्नो विचारका लागि लडेको छ, सत्याग्रहमा बसेको छ, उसको ज्यान लिन खोज्ने कि बचाउने ? उनले प्रश्न गरे।

संवैधानिक परिषद्ले विभिन्न आयोगका प्रमुखमा सिफारिश गर्दा प्रमुख प्रतिपक्षी दलको नेतालाई उपेक्षा गरिएको गुनासो गर्दै जनताप्रति सरकारलाई उत्तरदायी गराउन सभामुखको भूमिका हुनुपर्ने उनको भनाइ थियो ।

सांसद रिजालले बोलिसकेपछि कांग्रेस सांसदहरुले उठेर विरोध जनाएका थिए । सभामुख महराले चिकित्सा शिक्षा विधेयक विधिअनुसार नै पारित गरिएको उल्लेख गर्दै बस्न कांग्रेस सांसदहरुलाई आग्रह गरेका थिए ।

सभामुख महराले पटकपटक कांग्रेस सांसदहरुलाई आफ्नो सिटमा बस्न आग्रह गर्दा पनि नबसी उठेर विरोध जनाएपछि सभामुख महराले माघ २० गते आइतबार ३ बजेसम्मका लागि बैठक स्थगन गरे।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ