arrow

जव कलाकार युरोपको कागज बनाउन लुके ...

logo
सन्तोष न्यौपाने,
प्रकाशित २०७५ माघ १७ बिहिबार
europe-haraye.JPG

बेल्जियम । केही समय अगाडि तमु समाज बेल्जियमले ल्होसारको अवसर पारेर सांस्कृतिक कार्यक्रम आयोजना गर्यो जसको नारा थियो “शास्त्र हराए संस्कृति हराउँछ, संस्कृति हराए परम्परा हराउँछ,परम्परा हराए मान्छे(जाती)हराउँछ । तर विडम्वना यो नारामा भनेजस्तै कार्यक्रममा आएका कलाकार नै हराएका छन् । अर्थात् कार्यक्रम पछि उनीहरु नेपाल नफर्की अर्कै देशमा युरोपमा बस्ने कागजात बनाउन पुगेका छन् ।

कार्यक्रमको लागि नेपालबाट आएका गणेश गुरुङ जनवरी १६ तारिखमा नेपाल फर्के । तर उनीसँगै आएका अर्का कलाकार भनें नेपाल फर्किनुको सट्टा पोर्चुगल पुगे युरोपमा बसोबासको कागजात बनाउन ।

गणेश र ति दुवै कलाकारहरु व्यक्तिगत स्पोन्सरमा बेल्जियम आइपुगेका थिए । तमु समाज, बेल्जियमले उनीहरूको स्पोन्सर नगरेपनि मुख्य आयोजक संस्था थियो । तर एकजना कलाकार स्वदेश नफर्की अर्कै मुलुक पसेपछि तमु समाजले यसको जिम्मेवारी आफ्नो नभएको बताउन थालेको छ जवकी कार्यक्रमका लागि भने सो संस्थाले ठूलै प्रचार गरेको थियो ।

यसरी एउटा कार्यक्रममा आएर स्वदेश नफर्की पोर्चुगल पस्ने यी पहिलो कलाकार भनें होइनन् । अर्का एकजना नेमकुल थर भएका कलाकार सन् २०१६ मा बेल्जियम लगायतका देशहरुमा च्यारिटी कार्यक्रमको लागि भन्दै नेवारी फिल्म च्यारिटी सो आए र अन्त्यमा उनी पोर्चुगल पसे । हाल उनले त्यहाँबाट बसोवासका लागि आवश्यक कागजात बनाइसकेका छन् । एउटा संस्थाका संस्थापक उनी पहिले अष्ट्रेलियामा बस्दथे । १५ महिना अगाडि पोर्चुगल पसेका उनले हाल त्यहाँको स्थायी बसोबासको कागजात बनाउन सफल भएका छन् ।

युरोपका विभिन्न मुलुकमा कार्यक्रममा आउने र स्थायी बसोवासका कागजात तुलनात्मक रुपमा बनाउन सहज हुने मुलुक पस्ने प्रवृत्ति मौलाउँदै गएको छ । केही समय अगाडि सामाजिक सञ्जालमा जनसम्पर्क समितिबाट नेपालबाट ल्याएर युरोपका केहि मुलुकमा पठाएको आरोप जनसम्पर्क समिति, युरोपका महामन्त्री गंगाधर गौतमले वर्तमान कमिटीलाई लगाएका थिए । बुझ्दै जाँदा समिति भित्रका केही व्यक्तिको सहयोगमा व्यक्तिगत तवरबाट त्यस्तो काम भएको भेटिएको श्रोतको भनाई छ । तर यसमा कसैले कसैलाई कारवाही भनें गर्न सकेनन् ।

केहि उदाहरण अचम्म लाग्दा प्रकृतिका छन् । घटना झण्डै दुई वर्ष अगाडिको हो । काठमाडौंबाट मोहन बराल, जानकी अर्याल र कृष्ण ढकालले बेल्जियमको लागि भिषा आवेदन दिए । अर्याल र बरालको भिषा लाग्यो भने ढकालको लागेन । ढकालका बाबु बेल्जियममा भएकै कारण भिषा नदिएको अनुमान छ । कलाकारका रुपमा बेल्जियम छिरेका बराल र अर्याल दुई रात बेल्जियमको लुभेन शहरमा बसेर तेस्रो दिन बराल पोर्चुगल गए भने अर्याल स्पेन पुगिन् । बरालको पोर्चुगलको पेपर बनिसकेको छ । उनीहरूको कुरालाई आधार मान्ने हो भने यहाँस्थित नेपाली संस्थाले नै स्पोन्सर गरेको देखिन्छ । यसै विषयमा आएको भिडियो क्लीप हेर्दा आगन्तुक व्यक्तिले उनलाई ल्याउन कुनै क्लबको नाम जोडेका छन् ।

यसबारेमा बुझ्न खोज्दा तमु समाज बेल्जियमका अध्यक्ष जीवन गुरुङले यसरी कलाकार नेपाल नफर्किनुमा आफूहरुको जिम्मेवारी नभएको बताए । उनले भने “तमु समाज बेल्जियमले ल्होछार कार्यक्रमको लागि निमन्त्रणा गरेको हो तर स्पोन्सर उहाँको बहिनि ज्वाईंबाट भएको हो । उनका अनुसार कलाकार बेल्जियम आउने कुरा सुनेपछी तमु समाज बेल्जियमले स्टेज उपलव्ध गराउने भएको र त्यसका लागि पारिश्रमिक पनि उपलव्ध गराइएको थियो । समाजले आफ्नो दायित्व पूरा गर्दै १६ जनवरी, २०१९ मा विदाई गरेको तर १७ जनवरीमा ति कलाकार पोर्चुगल गएको सुन्नमा आएपछि त्यसका बारेमा बुझ्न फोन गर्दा सम्पर्क हुन नसकेको गुरुङले बताए । स्पोन्सर गरेर ल्याउने बहिनी ज्वाईंले नै यसको जिम्मेवारी लिनुपर्ने गुरुङको भनाई छ ।

तमु समाजका नन्द घलेले भनें तमु समाजले १६ जनवरीमा औपचारिक बिदाई गरेर विभिन्न देशमा कार्यक्रम सम्पन्न नहुन्जेल समाजले समन्वय गर्ने काम मात्र गरेको जिकिर गरे ।

यसरी कलाकारको रुपमा युरोप आउनेहरु लुक्नु र अर्कै मुलुक पुग्नु समस्या भएको छ । एनआरएन, बेल्जियमका अध्यक्ष लोक दाहालले हाल युरोपमा आउने नेपालीले निकै दुःख कष्ट भोग्नु परेको भन्दै यसमा सचेत हुन आग्रह गरे । कुनै व्यक्ति आफ्नै रुचिले आएर बस्न खोजेमा त्यसमा आफ्नो सरोकार नरहेको भन्दै उनले सचेत गराउने भनें आफूहरुको दायित्व भएको बताए । उनले कलाकार देशको गहना भएका कारण यसरी बसिदिंदा राम्रो नहुने र कलाकारकै अपमान हुने धारणा राखे ।

बेल्जियम स्थीत नेपाली दुतावासले बेल्जियमसँगै नेदरल्याण्ड र लक्जेम्बर्गलाई पनि हेर्ने गरेको छ । कलाकार आएर गायव हुने समस्यालाई लिएर राजदूत लोक बहादुर थापालाई जिज्ञासा राख्दा थापाले मान्छे ल्याएर ओभर स्टे गराउँदा वा भगाउँदा त्यसले भोलिका दिनमा सबै नेपाली प्रतिको सम्मान र ईज्जत घट्न सक्ने हुँदा सबै सचेत बन्नुपर्ने बताए । राजदूत थापाले भने “नेपाल र नेपालीको प्रतिष्ठामा आँच आउने गरी तथा जुन देशमा बसेको हो, त्यस देशको कानुनको बर्खिलाप हुने गरी कसैले र कुनै संघसंस्थाले पनि कुनै काम वा गतिविधि गर्नुहुन्न ।”



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ