arrow

गाउँबाटै १ सय २७ जनाले लिए नागरिकता

logo
रामचन्द्र रायमाझी,
प्रकाशित २०७५ माघ २० आइतबार
nagarikta-palpa.jpg

पाल्पा(माथागढी) । विगतमा नागरिकता बनाउन सदरमुकाम जानुपर्दा आजित भएका स्थानीयहरु गाउँबाटै नागरिकता पाएपछि खुसी भएका छन् । ग्रामीण भेगका जनतालाई गाउँबाटै सेवा प्रदान गर्ने लक्ष्यका साथ आयोजना गरिएको एकिकृत घुम्ती शिविर तथा सार्वजनिक सुनुवाई कार्यक्रमबाट नागरिकता र मतदाता नामवली दर्ता गर्न  पाएपछि माथागढी गाउँपालिका ५ हात्तिलुङ्गका स्थानीयहरु खुसी भएका हुन् ।

 जिल्ला प्रशासन कार्यालय पाल्पाको आयोजना र माथागढी गाउँपालिकाको समन्वयमा सञ्चालित शिविरमा  एक सय २७ जनाले वंशजको आधारमा नागरिकता पाएका छन् । जस मध्ये ६३ पुरुष र ६४ महिला रहेका छन् । त्यस्तै एक सय १८  जनाले फोटो सहितको मतदाता नामवलीमा नाम दर्ता गराएको गाउँपालिका अध्यक्ष सन्तोष थापा मगरले  जानकारी दिए । जस मध्ये ६० जना महिला र ५८ जना पुरुषले मतदाता नामवलीमा नाम दर्ता गराएका छन् ।

नागरिकलाई  स्थानीय स्तरमै सुविधा दिने हेतुले जिल्लाका सबै स्थानीय तहहरुमा घुम्ती शिविर मार्फत नागरिकता वितरण सँगै मतदाता नामवली दर्ता गराउर्दै आएको जिल्ला प्रशासन कार्यालयका प्रशासकिय अधिकृत एवं एकिकृत घुम्ती शिविरका संयोजक हुमबहादुर पाण्डेले जानकारी दिए ।  नागरिकता बनाउन ४-५ घण्टाको बाटो हिडेर सदरमुकाम जानु पथ्र्यो तर गाउँमै नागरिकता बनाउने टोलि आए पछि यहीबाटै नागरिकता बनाउन पाएकोमा खुसी लागेको नागरिकता बनाउन पुगेका विष्णु विकले बताए ।

आफ्ना दाजु र दिदिको नागरिकता सदरमुकामबाटै बनाएको स्मरण गर्दै उनले भने ‘आफ्नो नागरिकतासँगै फोटो सहितको मतदाता नामवलीमा दर्ता गराउन पाउँदा आफुलाई भाग्यमानी सम्झेको छु ।’  शिविरमा ६७ घर परिवारले पशुसेवा सम्बन्धी सेवा समेत लिएका छन् । त्यस्तै शिविर सँगै सार्वजनिक सुनुवाई समेत भएको छ । जिल्ला प्रशासन, जिल्ला प्रहरी, सशस्त्र प्रहरी, पशुसेवा कार्यालयबाट हुने गतिविधिका विषयमा आमनागरिकलाई जानकारी गराइएको थियो । कार्यक्रममा  सहभागीहरुले नागरिकता, पासपोर्ट र मतदाता नामवली बनाउन जाँदा भोग्नु परेका समस्याका विषयमा जिज्ञासा राखेका थिए ।

  जिज्ञासाको  कार्यक्रमका प्रमुख अतिथि तथा प्रमुख जिल्ला अधिकारी मनोहरप्रसाद खनाल र प्रशासकीय अधिकृत तथा शिविरका संयोजक हुमबहादुर पाण्डेले जवाफ दिएका थिए । सहभागीहरुले राखेको जिज्ञासाको जवाफ दिर्दै प्रमुख जिल्ला अधिकारी खनालले  देश नयाँ संरचनामा गईसकेकाले अब नागरिकले प्रशासनिक काममा समस्या झेल्नु नपर्ने बताए । उनले आमनागरिकको सेवा सुविधालाई मध्यनजर गर्दै जिल्ला प्रशासनले जिल्लाका सबै स्थानीय तहका गाउँ–गाउँमा घुम्ति शिविरहरु सञ्चालन गर्ने जानकारी दिए ।

 कार्यक्रममा जिल्ला प्रहरी कार्यालयले लागु औषध दुव्र्यसनी सम्बन्धी सचेतना समेत सञ्चालन गरेको थियो । कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरिक्षक विश्वमणी पोखरेल, सशसत्र प्रहरीका प्रमुख ईश्वरी खनाल, राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालयका प्रमुख सन्तोष बस्नेत लगाएतको उपस्थितिमा शिविर सञ्चालन भएको हो । कार्यक्रम गाउँपालिकाका अध्यक्ष सन्तोष थापा मगरको अध्यक्षतामा भएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ