arrow

अमेरिका र चीनले विश्वलाई कसरी बाँड्लान् इन्टरनेट ?

logo
प्रकाशित २०७५ माघ २२ मंगलबार
AI-in-Construction.jpg

काठमाडौं । अबको पाँच वर्षमा दुई किसिमको इन्टरनेटको प्रयोग हुनेछ । एउटालाई चीनले नेतृत्व गर्नेछ भने अर्को अमेरिकाले गर्नेछ । वरिष्ठ पुँजीपतिको विभिन्न आँकलनअनुसार इन्टरनेटको विकास भिन्न किसिमको हुन गइरहेको हो ।  अहिले अघि सारिएको अवधारणालाई ‘स्पिल्न्टरनेट’ नाम दिइएको छ । यो अवधारणाअनुसार भविष्यमा इन्टरनेट दुई भागमा विभाजित हुनसक्ने बताइएको छ । यसलाई फरक नियामकले नियमन गर्नेछन् भने फरक किसिमको सेवाबाट सञ्चालित हुनेछन् ।

अहिलेसम्म यो अवधारणाको स्पष्ट परिभाषा भने आइसकेको छैन । तर, एक सुझावका अनुसार भविष्यमा चिनियाँ र अमेरिकी एप र सेवाले आधा-आधा इन्टरनेटको हिस्सा ओगट्नसक्ने देखिएको छ । यो अवधारणा केही समयअघि स्विट्जरल्याण्डको डाभोसमा भएको विश्व आर्थिक मञ्चमा पनि छलफल भएको थियो ।  डाभोसमा चिनियाँ कम्पनी सिनोभेसन भेन्चरका सीईओ कैफु लीले भविष्यमा यस्तो इन्टरनेटको विकास हुने जसमा चिनियाँ एप र अमेरिकी एप प्रयोग गर्ने मुलुकहरुको दुई समुह हुने बताएका थिए ।

उनले चिनियाँ एपहरु अहिले युरोप, अमेरिका र अंग्रेजी बोलिने मुलुकमा केही कम स्वीकार गरिएको भए पनि भारत, दक्षिणपूर्वी एसिया, दक्षिण अमेरिका, मध्यपूर्व र केही मात्रामा अफ्रिकामा भने अत्यधिक मात्रामा प्रयोग बढिरहेको बताएका थिए । यसले अबको केही वर्षमा चिनियाँ एप र अमेरिकी एप प्रयोग गर्ने मानिसहरुको दुई फरक धार देखिनसक्ने उनको भनाइ छ । यस्तोमा दुवैको सम्भावना बराबरको रहेको उनले बताए ।

वास्तवमा अलिबाबा र टेन्सेन्टजस्ता चिनियाँ कम्पनीहरुले आफ्नो सेवा विश्वव्यापीरुपमा विस्तार गरिरहेका छन् । विशेषगरी उनीहरुले एसियाका कम्पनीहरुमा लगानी गरिरहेका छन् । गत वर्ष गुगलका पूर्व सीईओ एरिक स्किमिडतले आगामी दिनमा चीनले महत्वपूर्ण इन्टरनेटको नेतृत्व गर्ने र अमेरिकाले गैरचिनियाँ इन्टरनेटको विस्तार गर्ने बताएका थिए ।

के चीन एआईमा अगाडि छ ?
अहिले अमेरिका र चीन पाँचौं पुस्ताको इन्टरनेट ५ जी र कृत्रिम बौद्धिकता (एआई) को लागि रस्साकस्सीमा छन् । एआई भविष्यमा औद्योगिक क्षेत्रलाई सबैभन्दा सहयोग पुर्‍याउनसक्ने प्रविधि हो । साथै ५जीले भविष्यको इन्टरनेटको एक निश्चित आकार दिनेछ ।

एआई यस्तो प्रविधि हो, जसमा प्रयोग गरिएको एल्गोरिदमको सहयोगमा मेसिनले काम गर्न र सिक्न सक्छ । यसले धेरै कामहरु स्वचालितरुपमा गर्न सक्छन् । यो प्रविधि विश्वव्यापीरुपमा धेरै उद्योगमा गर्न सकिन्छ ।  धेरै विश्लेषकले भने अमेरिका यो प्रवधिमा चीनभन्दा पछाडि रहनसक्ने अनुमान गरेका छन् । जसमा अमेरिकी बौद्धिक समुह एट्लान्टिक काउन्सिलका सीईओ पनि फ्रेड केम्प पनि एक हुन् । उनले चीन ऐतिहासिक रुपमा एआईमा नेतृत्व लिने अवस्थामा रहेको बताए ।

लीले भने एआईको अनुसन्धानमा अमेरिका अगाडि रहेको बताउँछन् । तर, वास्तविक कार्यान्वयनको मामिलामा भने चीन अगाडि रहेको उनको भनाइ छ । यस्तो अवस्था अब छिटै नै परिवर्तन पनि हुनसक्ने उनको धारणा छ । अहिलेको गति जारी राख्ने हो भने अबको पाँच वर्षमा चीनले अमेरिकालाई सहजै पछि पार्नसक्ने उनको भनाइ छ ।

चीनमा धेरै प्रयोगकर्ता छन्, जसको कारण विवरणहरु पनि धेरै छन् । सरकारको नीति पनि एआईलाई विस्तार गर्नुपर्छ भन्ने किसिमको छ । यसले चीनलाई आगामी दिनमा एआईको विस्तारको लागि थप सहयोग पुर्‍याउने लीको भनाइ छ । चीनले आफ्नो ‘मेड इन चाइना २०२५’ योजनामा एआईलाई समावेश गरेको छ । सन् २०१७ मा चीनले सन् २०३० सम्मा एआईमा विश्वको सबैभन्दा अगाडि रहने योजना अघि सारेको थियो ।

अहिले दुवै मुलुकहरुमा आक्रामकरुपमा एआईको विकासमा लागेका छन् । पछिल्ला विवरणले पेटेन्टको मामिलामा अमेरिका र चीन दुई भागमा छुट्टिएको देखाउँछ । संयुक्त राष्ट्रसंघले गत साता सार्वजनिक गरेको एक अध्ययनको प्रतिवेदनमा आईबीएम र माइक्रोसफ्टजस्ता कम्पनीले विश्वमा एआईको क्षेत्रमा अग्रता लिइरहेका छन् । तर, अनुसन्धान समुह र विश्वविद्यालयमा भने प्रमुख २० मा १७ ओटा चीनका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ