arrow

एसईईले पुरक परीक्षाको नतीजा नै दिदैन्, सूचनाको हकको खिल्ली उडाइयो  

परीक्षा नियन्त्रण कार्यालय भन्छः यो यस्तै हो

logo
प्रकाशित २०७५ माघ २५ शुक्रबार
SEE_news.JPG

ललितपुर। ललितपुर लाकुरीभञ्ज्याङकी सिर्जना तामाङलाई एसईईपछि व्यवस्थापन पढ्ने खुब धोको थियो। तर, व्यवस्थापन पढ्नका लागि गणितमा उनको नम्बर पुगेन। गणितमा ई मात्रै आएपछि कुनै पनि कलेजले उनलाई व्यवस्थापनको ढोका खोलेन। पुरक परीक्षा दिएपछि ग्रेड बृद्धि हुन्छ, त्यसपछि व्यवस्थापन नै पढ्छु भनेर योजना बनाइन्। 

अनिवार्य गणितको पुरक परीक्षाका लागि बैंकमा गएर ५ सय रुपैयाँको दस्तुर बुझाइन्। साउनमा चलेको पुरक परीक्षामा ग्वार्कोको प्रभात स्कूलमा गएर परीक्षा दिइन्। २०७४ को चैतमा दिएकोभन्दा पुरक परीक्षामा धेरै राम्रो गरेको उनलाई लाग्यो। यही बेला कक्षा ११ मा धमाधम भर्ना खुल्यो। आज आउला भोली आउला भन्दाभन्दै पुरक परीक्षाको नतीजा सार्वजनिक भएको महिनादिनसम्म पनि उनको नतीजा हात लागेन। सीधै परीक्षा नियन्त्रण कार्यालय सानोठिमी पुगिन्।

त्यहाँका कर्मचारीले पुनःयोग (रिटोटल) का लागि पाँच सय रुपैयाँ तिरेर रिचेक गर न, भने। यतिबेलासम्म कलेजको फर्म भर्ने म्याद गुज्रिइसेको थियो। हतार हतार मानविकीमा फर्म भरिन्,  सोसोलोजी र आर.डी. मुख्य विषय लिएर पढ्न थालिन्।

Image may contain: 2 people

गत साउनमा दिएको अनिवार्य गणितको पुरक परीक्षामा कुन ग्रेड, कति नम्बर आयो, न विद्यालयय, न त जिल्ला शिक्षा कार्यालय न त परीक्षा नियन्त्रण कार्यालय, कसैले पनि नतीजा दिएनन्। विद्यालयले नतीजै नआएको जवाफ दियो। रिचेक गर्ने सुझाबपछि उनी परीक्षा नियन्त्रण कार्यालय धाइनन्।

एसईई परीक्षा बोर्डले वर्षको दुई पटक साउन र चैतमा नियमित परीक्षा चल्दै गरेको बेला पनि पुरक परीक्षा दिन पाउने नियम बनाएको छ। तर सिर्जनाले साउनमै दिएको परीक्षाको नतीजा अहिलेसम्म नदिएपछि, चैतमा हुने परीक्षामा जाँच दिने जाँगर गरिनन्। अझै पनि उनलाई आफुले कति नम्बर पाएँ होला भन्ने लाग्छ। ‘यदि नतीजा आएको भए नम्बर जति आए पनि चित्त त बुझ्थ्यो नि’, उनले भनिन्, ‘दिएको परीक्षा राम्रै भएको भए, म व्यवस्थापन नै पढ्थें। अहिले  मानविकी पढिरहेछु तर मन चाहिँ व्यवस्थापन मै छ।' सिर्जना मात्रै होइन अहिले उनी पढिरहेको कलेजमा उनीजस्ता दर्जनौं विद्यार्थीको पनि पुरक परीक्षाको नतीजा आएको छैन।

उनीहरु मन नमानि नमानि अर्को विषय पढ्न बाध्य छन्। एसईई पुरक परीक्षाको नतीजा कुरिबसेका सयौं विद्यार्थीले अब त मन नलागेकै विषयमा भएपनि, ११ को फर्म भरिसकेका छन्। ११ को परीक्षा वैशाख अन्तिम सातादेखि शुरु हुँदैछ।

के हो प्रावधान ?
पुरक परीक्षाको सम्बन्धमा परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरले गजबको नियम बनाएको छ। पुरक परीक्षा दिएपछि, नियमित दिँदाको भन्दा बढी ग्रेड आयो भने मात्रै नतीजा दिने। पुरक परीक्षामा पनि नियमितकै जत्ति वा घटेर नम्बर, ग्रेड आयो भने गुमनाम। वास्ता नगर्ने।

विद्यार्थीलाई परीक्षामा सामेल गराए पछि नतीजा दिन पर्दैन ?  यो प्रश्न परीक्षा उपनियन्त्रक सुकदेव सापकोटालाई राख्दा जवाफ दिए, ‘नियम यही हो, पुरक परीक्षा भनेको ग्रेड बृद्धिका लागि हो। यदि ग्रेड बृद्धि भएन भने नतीजा आउँदैन।' अनि विद्यार्थीले आफ्नो प्राप्तांक, ग्रेड कस्तो भयो भनेर हेर्न पनि नपाउने त ? उनले भने ‘हेर्न पाइँदैन। नम्बर पुगेनछ, ग्रेड बढेनछ भनेर आफैं बुझ्नुपर्छ।

कपी चेक गरेपछि नम्बर कम्प्यूटर सिष्टममा जान्छ, त्यो हेर्न प्रतिबन्ध नै हो, त्यसरी नै बुझ्नुस्’ उनले सिधै जवाफ फर्काए। ‘यदि सबै विद्यार्थीले कापी हेर्न खोजे भने त हामीले थेग्न संभव पनि त हुँदैन नि’ उनले कुरा टुंग्याए। तर पुरक परीक्षाका लागि शुल्क समेत लिएर फर्म भराएपछि, आफुले दिएको परीक्षामा कुन ग्रेड, कति नम्बर आयो भनेर जान्न किन नपाउने ? परीक्षा नियन्त्रण कार्यालयको खास नियम उदेक लाग्दो छ। अर्को कुरा, यदि जाँचकीले भुलबस वा जानजान कम नम्बर दिएको रहेछ भने ?

उपाय के छ ?

नेपालको संविधान २०७२ को धारा २७ ले सूचनाको हकको प्रत्याभुत गरेको छ। जहाँ लेखिएको छ :  २७. सूचनाको हक : प्रत्येक नागरिकलाई आफ्नो वा सार्वजनिक सरोकारको कुनै पनि विषयको सूचना माग्ने र पाउने हक हुनेछ। तर कानून बमोजिम गोप्य राख्नु पर्ने सूचनाको जानकारी दिन कसैलाई बाध्य पारिने छैन। परीक्षा नियन्त्रण कार्यालयको नियम संबिधानसँग बाझिन पाउँदैन, सक्दैन। अनि विद्यार्थीले आफुले दिएको परीक्षामा पाएको प्राप्तांक गोप्य राख्नुपर्ने कुनै कारण छैन, जसबाट परीक्षा नियन्त्रणका कार्यालयलाई हानी होस्। 

उपाय अरु पनि छन्। मुलुकमा सूचनाको हक सम्बन्धी ऐन २०६४ पनि छ। यही ऐनको आधारमा परीक्षा नियन्त्रण कार्यालयमा निवेदन दिन सकिन्छ। सम्बन्धित अधिकारीले सूचना दिन नमानेमा, कार्यालय प्रमुख समक्ष निवेदन दिन सकिन्छ। उनले पनि सूचना दिन आनाकानी गरेमा, मुलुकमा सूचना आयोग छ। सूचना आयोगका प्रमुख आयुक्त कृष्णहरि बास्कोटाले, यस्ता विषयमा अदालतमै लडेर पनि सूचना दिलाएको लामो फेहरिस्त सार्वजनिक गरिसकेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ