arrow

विवाहमा खुकुरी हानाहान गर्नेलाई पक्राउ गरेपछि प्रहरीमाथि स्थानीय जाइलागे, तीन प्रहरी घाइते

प्रहरीले एकजनामाथि गोली हान्यो, ४५ राउण्ड हवाई फायर

logo
प्रकाशित २०७५ माघ २७ आइतबार
bullet.jpg

सिन्धुली । मरिण गाउँपालिकास्थित इलाका प्रहरी कार्यालय कपिलाकोटमा प्रहरी र स्थानीयबीच झडप हुँदा चार जना घाइते भएका छन् । शनिबार बेलुकी ७ बजे भएको झडपमा प्रहरीतर्फ तीन र एक जना स्थानीय घाइते भएका छन् । 

झडपमा परी इप्रका कपिलाकोटमा कार्यरत प्रहरी नायब निरीक्षक जीतबहादुर अर्याल, प्रहरी सहायक निरीक्षक राजन खड्का र प्रहरी जवान विनोदकुमार शाह घाइते भएका छन् । 

यस्तै प्रहरीले चलाएको गोली लागेर मरिण गाउँपालिका–६ निवासी ४० वर्षीय सार्कीमान मोक्तान घाइते भएका छन् । उनको दाहिने पातामा गोली लागेको छ । प्रहरी र स्थानीयबीचको झडपलाई रोक्न प्रहरीले ४५ राउण्ड हवाई फायर गरेको प्रहरी उपरीक्षक सिंहले बताए । 

घाइते मोक्तानको कपिलाकोटस्थित स्वास्थ्य संस्थामा उपचार हुन नसकेपछि थप उपचारका लागि धुलीखेल पठाइएको प्रहरी उपरीक्षक चक्रबहादुर सिंहले जानकारी दिए । घाइते प्रहरीहरुको भने स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ । 

यही माघ २४ गते मरिण गाउँपालिका–६ धमिले निवासी श्रीध्वज स्याङ्तानको विवाहमा सामान्य विवाद भएको थियो । प्रहरीका अनुसार सोही दिन विवादमा खुकुरी हानाहान हुँदा ५ जना घाइते भएका थिए । 

शङ्कर गोले र दोर्जे गोलेलाई इलाका प्रहरी कार्यालय कपिलाकोटले शुक्रबार नियन्त्रणमा लिएको थियो । उक्त घटनामा संलग्न अन्यलाई नियन्त्रणमा लिने क्रममा झडप भएको इलाका प्रहरी कार्यालय कपिलाकोटका प्रहरी निरीक्षक चलित्र कार्कीले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ