arrow

प्रचण्डको धम्की : सत्यनिरुपणको लागि वार्गेनिङ !

logo
प्रकाशित २०७५ माघ २७ आइतबार
prachanda-ccm-768x480.jpg

काठमाडौं । शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै नेकपाका अध्यक्ष प्रचण्डले सरकारसामु आक्रोश र असन्तुष्टिको भारी बिसाए । वास्तवमा कार्यक्रमको प्रवृत्ति हेर्ने हो भने प्रचण्डले साहित्य र समाजको चर्चा गरेर त्यसैमा सीमित पनि बन्न सक्दथे । तर, उनले आफ्नो कुण्ठालाई आम नेपाली समाजमा छर्नको लागि एउटा उपयुक्त फोरमको रुपमा त्यो कार्यक्रमलाई प्रस्तुत गरे । 

पार्टी एकीकरणको घोषणा भएपनि अझै समेत पूर्ण रुपमा पार्टी एकता हुन नसकेको बेलामा उनले पोखेको असन्तुष्टिले नेकपा भित्रको खिचातानी र मनमुटावको विषय बाहिर आएको छ । यो पार्टी भित्र अझै पनि एकता गर्न बनेको कार्यदलले समय थप गर्न माग गरिरहेको छ । यसको अर्थ यहाँ मूलभूत अन्तर्वस्तुमा नै यो पार्टी भित्र समझदारी हुन सकेको छैन । 

पछिल्ला केही महिना अघिदेखिको घटनाक्रमले दुई अध्यक्षबीचको केही असमझदारी बाहिर आईरहेको भएपनि त्यसमा स्पष्ट आधारको अभावमा नेकपा भित्रको असन्तुष्टिबारे केही पनि विषय बाहिर आएको थिएन । तर, प्रचण्डको एउटा अभिव्यक्तिले नै पार्टी भित्रको सबै मनमुटावलाई बाहिर ल्याईदिएको छ । 

अर्को तर्फ प्रचण्डको यो अभिव्यक्ति भित्री मनमुटावको उपज हो भनेर आशंका गरिएपनि यो नै हो भन्नेमा स्पष्ट आधार भने देखिँदैन । राजनीतिका चतुर पात्रको रुपमा रहेका प्रचण्ड एकातिर तीर तेर्स्याएर अर्को तिर निशाना लगाउने नेताको रुपमा नेपाली राजनीतिमा परिचित छन् । अहिले सत्य निरुपण तथा मेलमिलाप आयोगको समयावधि सकिएको छ । अध्यक्षको राजीनामालाई शर्त बनाएर थपिएको सो आयोगको म्यादमा नयाँ अध्यक्ष नियुक्ति हुने अब निश्चित भईसकेको छ । 

अहिले प्रचण्डकोलागि सबैभन्दा टाउको दुखाईको विषय भनेको यही द्वन्द्वकालीन मुद्दाको विषय नै हो । त्यसमा पनि सत्य निरुपण आयोग अझै महत्वपूर्ण आयोगको रुपमा मानिन्छ । त्यसमा आफू अनुकूलका व्यक्तिलाई राखेर आफू अनुकूलको काम गराउने दाउमा रहेका प्रचण्डले अहिलेसम्मको राजनीतिक नियुक्तिमा तत्कालीन माओवादी पक्षलाई गरिएको भेदभावको यथार्थ प्रचण्डसामु स्पष्टै छ । त्यसमा पनि सत्य निरुपण तथा मेलमिलाप आयोग ओलीको लागि पनि प्रचण्डलाई आफू अनुकूल चलाउने हतियारको रुपमा राख्नको लागि आफू अनुकूलका अध्यक्ष जसरी पनि राख्नै पर्ने दबाब छ । यस्तो दुई अध्यक्षकोहरुको सत्यनिरुपणको मोहका कारण नै प्रचण्डको यस्तो विज्ञप्ती आएको हुनसक्ने तर्क नेकपाका एक नेताले जानकारी दिए । 

पछिल्लो समय भेनेजुयला प्रकरणमा पनि सरकारको नेतृत्व गरिरहेका अर्का अध्यक्ष केपी शर्मा ओली र प्रचण्डको कुरा बाझिएको मात्रै छैन । उनीहरुबीच एकले अर्कोलाई गलत नै सावित गर्ने प्रयासमा समेत उनीहरु उत्रिएका छन् । यसमा सिधा रुपमा हेर्दा प्रचण्डले केपी ओली नेतृत्वको सरकारलाई फसाउने प्रपञ्च रचेको त होईन रु भन्ने सन्देश समेत जान थालेको छ । 

भेजेजुयला प्रकरणमा प्रधानमन्त्री ओली प्रचण्डको धारणामा जिब्रो चिप्लिएको भन्दै बचाउनमा उत्रिएका छन् भने प्रचण्डले जिब्रो चिप्लिएको नभई पार्टीको धारणा नै यही रहेको बताउँदै आएका छन् । यो विषयमा धेरैलाई दुई अध्यक्षबीचको सम्बन्धबारे शंका मात्रै भएको भएपनि प्रचण्डको शुक्रबारको झण्डै १० मिनेटको भाषणले भने उनीहरुबीचको बैमनस्यतालाई छताछुल्ल पारिदिएको छ । 

प्रचण्डले अर्को माओवादी जन्माउन सकिने चेतावनी दिईरहँदा उनको संकेत अर्को गृह युद्धको थियो । नेकपा स्रोतका अनुसार पार्टी भित्र आफ्नो पक्षलाई सम्मानजनक हैसियत नदिइएको र राजनीतिक नियुक्तिमा समेत प्रधानमन्त्रीले आफ्ना पक्षीयलाई मात्रै भर्ति गर्न थालेपछि अहिले प्रचण्ड पनि केपी ओली प्रति सशंकित मात्रै होईन आक्रोशित समेत देखिएका छन् । 

त्यसो त बाहिर देख्नको लागि यस अघि राम्रोसँग मिलेको देखिएपनि सरकारको जनविरोधि कामलाई बाहिर चर्चामा ल्याउनको लागि प्रतिपक्षी दलको भन्दा पनि धेरै सत्तारुढ तत्कालीन माओवादी पक्षीय नेताहरुकै सहभागिता बढी देखिन्छ । माओवादी पक्षीय नेताहरुले एशिया प्यासिफिक समिट भन्दा पहिलेदेखि नै सरकारले गरेका नराम्रा कामहरुमा आफू सुरक्षित खेमामा बसेर तत्कालीन नेकपा खेमाका नेताहरुलाई मात्रै त्यो काण्डमा सहभागि गराउने कामदेखि नै पार्टी भित्रको दुई खेमाको राजनीति बाहिर आईसकेको थियो । 

एशिया प्यासिफिक समिटमा प्रचण्डको दाँत दुख्नु र चिकित्सा शिक्षा विधेयकको मुद्दामा संसद्मा हंगामा हुँदा विरामी भएका प्रचण्डको रणनीतिलाई पनि त्यतिबेला नै धेरैले शंका गरेकै हुन् । प्रचण्डको यो राजनीतिको पछि केपी ओलीको दम्भ नै प्रमुख कारण रहेको भनाई तत्कालीन माओवादी खेमाका एक नेताले बताए । उनका अनुसार पार्टी एकीकरणदेखि नै केपी ओलीले तत्कालीन माओवादी खेमाका नेताहरुलाई विभेदकारी व्यवहार गर्दै आएका थिए । यसमा प्रचण्डले सधैं असन्तुष्टि जनाउँदै आएका थिए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ