arrow

काष्ठमण्डपका स्तम्भ कार्यस्थलमा

logo
रासस,
प्रकाशित २०७५ माघ २७ आइतबार
kastamandav.jpg

काठमाडौं। विश्व सम्पदामा सूचीकृत हनुमानढोका दरबार क्षेत्र नजीकै रहेको काष्ठमण्डप पुनःनिर्माणका लागि आवश्यक तीन स्तम्भ हनुमानढोका क्षेत्रबाट निर्माणस्थलमा आज लगिएको छ। हनुमानढोकामा आज आयोजित कार्यक्रममा २५ फिट लम्बाइको उक्त स्तम्भलाई विधिविधानपूर्वक पूजा गरेपछि सेना, स्थानीयलगायत सहयोगमा डोरीले बाँधेर कार्यस्थलमा पुर्‍याइएको छ। उक्त कार्यक्रममा प्रतिनिधिसभा सदस्यद्वय कृष्णगोपाल श्रेष्ठ र बिना श्रेष्ठ तथा काठमाडौँ महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्य, उपप्रमुख हरिप्रभा खड्गीलगायत सहभागी थिए।

विसं २०७२ मा गएको भूकम्पले क्षतिग्रस्त काष्ठमण्डप पुनःनिर्माणका लागि केही महीनाअगाडि प्रदेशसभा सदस्य राजेश शाक्यको संयोजकत्वमा समिति गठन गरिएको थियो। काठमाडौँ महानगरपालिका–२० मा पर्ने काष्ठमण्डपको उत्खननपछि सातौँ शताब्दीका चट्टान फेला परेको थियो।

पुरानो तीन तलेको स्वरुपमा रहेको उक्त सम्पदालाई पुराना प्रविधिको प्रयोग गरी सोही संरचनाअनुसार तीन वर्षको अवधिमा निर्माण गरिनेछ। यसको पुनःनिर्माणका लागि महानगरपालिकाले समितिलाई रु साढे पाँच करोड उपलब्ध गराएको जनाइएको छ।

सांसद शाक्यले आगामी असार मसान्तभित्र सम्पदाको एक तला निर्माण गरिने बताउँदै अहिलेसम्म करीब ९० लाख खर्च भएको जानकारी दिनुभयो। गत कात्तिक २२ गतेदेखि निर्माण कार्य शुरु गरिएको काष्ठमण्डपमा क्रेन, डोजर, अत्याधुनिक प्रविधिको प्रयोग नगरिने समितिले जनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ