arrow

ओली-प्रचण्ड वाकयुद्ध सतही कि दुरगामी ?

logo
माधव प्रसाद चम्लागाई
प्रकाशित २०७५ माघ २७ आइतबार
oli-prachanda.gif.gif

काठमाडौं। जुटमा भन्दा पनि फुटमा रमाउने कम्युनिष्टहरु चुनावी एकता गर्दै पार्टी एकतासम्म पुग्लान भनेर जनताले त के राजनैतिक बिश्लेशकहरुले समेत सोचेका थिएनन्। पत्याउनै नसकिने गरी एकताको उद्घोष गरेका थिए। यो एकताले अवको दिनमा कम्युनिष्टहरुले देशको राजनीतिमा राज गर्ने भए भनेर धेरैले सहजै अनुमान लगाए। यो अनुमानसगै अन्य पार्टीको भबिश्य कस्तो होला ? भनेर लोकतन्त्रबादीहरु भने छट्पटाए।

संबिधान सभाले नयाँ संबिधान बनाइसकेको छ। संबिधानको नयाँ ब्यवस्था अनुसार पालिका, प्रदेश र संघीयको चुनावमा अनुमान अनुरुप नै माओवादी र एमालेको गठबन्धनले प्रचण्ड बहुमत ल्यायो। २०७४ सालको असोजबाट सुरु भएको चुनावी एकता त्यही सालको माघमा आँउदा ७ बुदे सम्झौता गरी तत्कालीन माओवादी र एमाले भङ्ग गर्दै नयाँ पार्टी नेकपा बनिसकेको थियो। एकले अर्काको अस्तित्वलाई पटक्कै नस्वीकार्ने र ब्यक्तिगत तहमा नै ओर्लिएर आरोप प्रत्यारोपमा उत्रिने शिर्ष तहदेखि गाउँ तहसम्म देखिन्थे।

एकले अर्कालाई कम्युनिष्ट नै होइन भन्दै आरोप लगाउथे । यस्तो चरम दुई ध्रुबमा रहेको अवस्थामा भएको एकतालाई धेरैले अस्वभाविक एकता भनेर टिप्पणी गरे । आफ्नो स्वार्थ सिध्द गर्न चीनले मिलायो भने त कतिले भारतले । निरन्तरताको क्रमभंगता भने बिश्वलाई चकित पार्ने खालको नै थियो । माओवादी एमाले एकता ।

तत्कालिक एमालेका अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल दुबै जना अध्यक्ष बनेर अहिले नेकपा हाँकिरहेका छन् । ओलीले थप दुइतिहाइको शक्तिशाली प्रधानमन्त्री समेत बनेर सरकारको बागडोर समेत समालिरहेका छन् । चुनावी एकतादेखि पार्टी एकता हुदै सरकार संचालनको यो एक बर्षसम्म आउँदा भने शक्तिशाली दुई अध्यक्ष बिचमा बिश्वासको पगरी माथि शंकाका चाङहरु थपिरहेको जो कोहीले अनुमान लगाउन सक्छ ।

पार्टी भित्रका मुद्दामा अवको दिनमा एमाले र माओवादीका नेताहरु आ-आफ्नो कित्तामा मात्र देखिने छैनन् । कित्ता समिकरण स्वार्थ र ब्यक्तिगत लाभको आधारमा फेरवदल हुने निश्चित छ । लामो समयदेखि ओली ग्रुपको पेलाइ खाइरहेका माधव कुमार नेपाल, झलनाथ खनाल र बामदेव गौतमहरु मौका कुरेर बसेका छन् । अवको दिनमा राजनैतिक तथा पार्टीको मुद्दामा ओलीको भन्दा प्रचण्ड नजिक हुने पक्का प्राय छ।


यो कुरा ओली-प्रचण्डले सचिवालयको बैठकमा पेश गरेको राजनैतिक प्रस्तावको काउन्टर दिदै बामदेवले पेश गरेको बैकल्पिक प्रस्ताव माथि भएको छलफल हेरे पुग्छ । ओली-प्रचण्डको राजनैतिक प्रस्तावमा प्रचण्डले डिफेन्स गर्नुको साटो मध्यममार्गी भूमिका निभाएका कारण ओली झस्किएका थिए । बिश्वासको खाडल थप गहिरिएको थियो ।

झस्किएका ओलीले प्रचण्डलाई साइजमा ल्याउन सुमार्गी कार्ड फालेको धेरैले अनुमान लगाएका छन् । प्रचण्ड निकट ब्यापारी सुमार्गीले बिदेशबाट भित्राएको रकम अबैध भएको भन्दै भुक्तानी पाइसकेको पैसा पुन जम्मा गर्न सर्वोच्चले आदेश दिएको छ । यो आदेश न्यायलयको भए पनि ओलीले प्रचण्डलाई साइजमा राख्न न्यायलयलाई सकृय बनाए भन्नेहरुको मत पनि उत्तिकै बढेको छ ।

पार्टी एकिकरण हुदाँ सात बुदे सम्झौतामा उल्लेख नभए पनि सरकारको बागडोर ओली र प्रचण्डले आधा आधा संचालन गर्ने भन्ने भद्र सहमति भएको कुरा बाहिर आएको थियो। फेरी सरकारको नेतृत्व लिन आतुर देखिएका प्रचण्डले धैर्यता गुमाउदै गएका छन् भने ओली प्रचण्डको गतिविधीबाट ससंकित देखिएका छन्। 

ओली र प्रचण्ड पार्टी भित्र सरसल्लाह नै नगरी आफ्नो आफ्नो योजना अनुरुप अघि बढेका प्रष्ट देखिन्छ। एउटा घटनाको जवाफ अर्को घटना घटाएर दिदै आएका छन्। सुमार्गी काण्डको उत्तर प्रचण्डले भेनजुएला प्रकरणमा अमेरिका बिरुद्ध कडा बक्तब्य निकालेर दिए। प्रधानमन्त्री ओली नेपाल बाहिर भएको बेला प्रचण्डले त्यो बिज्ञप्ती निकाल्दा पार्टीका अन्य शिर्ष नेताहरु माधव कुमार नेपाल, झलनाथ खनाल, बामदेव गौतमहरुकै सरसल्लाह गरेर निकालेका थिए भन्ने कुरा धेरै तिरबाट पुष्टि भएको छ । 

हुन त यो भेनजुएला काण्डले पार्टी भित्र ठुलो उथलपुथल ल्याइरहेको छ भन्ने अनुमान लगाउन गाह्रो छैन्। ईश्वर पोख्रेलले प्रचण्डतिर लक्षित गर्दै सन्कीलाई पार्टी नेतृत्व दिनु हुन्न भन्ने आसयको स्टाटस सामाजिक सञ्जालमा राख्नु, भीम रावलहरु सरकारको बिरुद्ध सामाजिक सञ्जालमा उत्रिनु तथा प्रचण्डले फेरी माओवादी जंगल पस्न सक्छ भन्दै धम्क्याउँदा पार्टी गम्भीर संकटमा फसेको आभास कार्यकर्ता तहमा पुग्न थालेको छ। 

अहिलेसम्म पनि एमाले र माओवादीको तल्लो तहसम्म पार्टी एकता भइसकेको छैन् । तर माथिका घटनाक्रमले नेकपा संकटमा फस्दै पार्टी एकताबाट भाग्न खोजेको त हैन भन्ने शंका गर्ने ठाँउ भने प्रशस्त छोडेका छन् । एउटै जंगलमा दुई दुई वटा शेरहरु कति लामो समय सम्म रहलान र ! भन्नेहरु पनि धेरै छन् । पार्टी भित्रका माथिल्ला तहमा रहेकाहरु नै प्रचण्ड पार्टीका अन्य असन्तुष्ट भित्र घुसेर ओलीलाई साइजमा राख्न शेर बन्ने दाउमा लागिपरेको भन्दै हिड्न थालेका छन् ।

पछिल्ला दिनका यावत घटनाक्रमले बढाएको दुरी कम गर्न शनिवार प्रधानमन्त्री ओली र नेकपा अध्यक्ष प्रचण्ड बिच भेट भएको छ । भेटले पक्कै पनि असमझदारीका कतिपय कुराहरु भने घटाउला । दुईतिहाइ सरकारले एक बर्षको अवधिमा गरेका कामको आधारमा कमाएको अलोकप्रियता घटाउन भने आगामी दिन कम्मर कसेर डट्नुपर्नेछ। 

बिकासका सुचकहरुमा आएको ह्रास, लगानी गर्ने वातावरणमा सुधार नहुनु तथा तल्लो तहका जनताले राहतको अनुभूति गर्न नपाएको अहिलेको अवस्थामा पार्टी भित्र को बढी शक्तिशाली बन्ने किचलो सुरु भएसगै आगामी दिन दुइ तिहाइको कम्युनिष्ट सरकार भनेर चिनिएको सकारले थप काम गर्न सहज देखिदैन ।

अहिले नै हेर्ने हो भने पनि पार्टी भित्रको आन्तरिक समस्या मिलाउदा र कामको आशमा पार्टी भित्रका स्वार्थी झुन्डको ब्यवस्थापनमा नै धेरै समय खर्च गर्नु परेको कारण समेत नागरिकको अपेक्षा पुरा हुन नसकेको भन्नेहरु पनि धेरै छन् । यी र यस्ता चंगुलमा फसेको सरकार आगामी दिनमा पार्टी एकतालाई सहज ढंगले टुग्याएर पार्टीको गति र सरकारको गतिले तिब्रता दिन सक्ला या फुटको भुमरीमा फस्ला भन्ने चाही हेर्न केही दिन अझै कुर्नु पर्ने देखिन्छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ