arrow

कसरी हुँदैछ निर्मला हत्याकाण्डको अनुसन्धान ?

logo
प्रकाशित २०७५ माघ २७ आइतबार
nirmala1.JPG

काठमाडौं। पछिल्लो दुई दिन निर्मलाको हत्यारा पत्ता लागि सकेको र डीएनए समेत म्याच भएको भनेर केही मिडियामा समाचार सम्प्रेषित भएका छन्। ती समाचारले फेरी नयाँ भ्रम फैलाउन थालेको छ।

श्रोतको हवाला दिँदै ती समाचारमा भनिएको छ, “प्रहरीले अबको दुई चार दिनमै हत्यारा सार्वजनिक गर्दैछ। हत्यारा निर्मलाकै घर आसपासका व्यक्ति भएको र उसले पटकपटक बलात्कार घटना घटाएको बताइएको छ। यद्यपि पहुँचवाला भएका कारण अहिलेसम्म कानूनी कार्बाहीको दायरामा ल्याउन नसकिएको दाबी प्रहरीको छ”।

यस्तो व्यहोराको समाचार विशेष गरी पूर्व एमाले निकटका अनलाइन पोर्टलहरुले चुहाउने गरेका छ। पार्टीभित्र शीर्ष नेताहरुले हुँडालो मच्चाउन थालेपछि, आम नागरिकको ध्यान मोड्न उनीहरुले नौटंकी गर्ने गरेको चर्चा नेकपा वृत्तमा छ। 

यस्तो छ वास्तविकता 
कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको सात महिना लाग्दै गर्दा, प्रहरीले हत्याराको पहिचान अझै गर्न सकेको छैन। सूचना विभागमै दर्ता भएका विभिन्न अनलाइन मिडियाले समाचार सम्प्रेषित गरेपछि हामीले कञ्चनपुरका डीएसपी मेख खत्रीलाई फोन गर्‍यौं। 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको स्थापना दिवस सोमबारको अघिल्लो दिन आयोगले आयोजना गरेको रक्तदान कार्यक्रममा रगत दान गरेर आराम गरेका डीएसपी खत्रीले, बाहिर आएको हल्लामा एक रत्ति पनि सत्यता नभएको बताए।

कुनै उजुरबाजुर नपरे र तलमाथि केही नभए अबको एकसाता पछि एसपीको फुली पहिरिने तयारीमा बसेका डीएसपी खत्रीले भने खोई त्यो त थाहा छैन कुन सोर्सबाट चुहियो, त्यो चुहिनु पर्ने पनि होइन, हाम्ले कुनै मान्छे पक्राउ पनि गरेको छैन, कुनै कुरा भाको भए सत्यको अलिक नजिक पुगिन्थ्यो। तर कसैलाई पक्रेको पनि छैन, फेरी तत्काल त्यस्तो संभावना पनि देखिँदैन। उनीहरुले खोइ कस्को कहाँबाट कस्को रिफरेन्स लेर गर्‍याछन् त्यो हाम्लाई थाहा छैन।

कसरी भइरहेको छ त अनुसन्धान ?
गत साउन ११ गते निर्मलाका शब फेला परेयता प्रहरीले अहिलेसम्म औपचारिक रुपमा पाँच सय भन्दा बढी र अनौपारिक रुपमा हजार भन्दा बढीसँग सोधपुछ गरिसकेको छ। घटनाको अनुसन्धानका क्रममा बयान लिएर कागजमै रेकर्ड राख्ने गरी औपचारिक रुपमा पाँचसय भन्दा बढीसँग सोधपुछ गरेको हो। त्यस्तै सामान्य मौखिक रुपमा सोधपुछ गर्ने र रेकर्ड नराख्ने गरी प्रहरीले हजार भन्दा बढीसँग सोधपुछ गरिसकेको छ। 

अनुसन्धानका लागि प्रहरीले सबभन्दा बढी फोकस निर्मलाको हत्या भएको दिनमा घटनास्थल वरपर देखिएको मोबाइल सिग्नल नै हो। त्यो दिन घटनास्थल वरपर जीपीएस प्रणालीले ट्य्राक गरेका मोबाइल सिग्नल्सको आधारमा केही सयमाथि सोधपुछ गरिएको डीएसपी खत्रीले जानकारी दिए। 

त्यसपछि पक्राउ परेका र सोधपुछको दायरामा ल्याइएकाहरुको बयानका आधारमा थप अरुमाथि पनि अनुसन्धान गरिएको छ। उमेरका आधारमा पनि अनुसन्धान गरिएको छ। जस्तो बलात्कार र हत्या गर्न नसक्ने बालक र बृद्धहरुलाई अनुसन्धानको दायरामा राखिएको छैन। प्रहरीको निगरानीमा परेकाहरुको गतिविधि र आपराधिक पृष्ठभूमीको अर्को आधारमा पनि शंकास्पदमाथि अनुसन्धान भइरहेको खत्रीले जानकारी दिए। खत्रीले यतिबेला आठ दशवटा क्राइटेरियामा अनुसन्धान भएको बताए पनि अनुसन्धानका सबै विषय भन्न नमिल्ने भन्दै टारे।

निर्मला हत्याकाण्डका अनुसन्धान अधिकृत डीएसपी कृष्णराज ओझा लामै समयको विदामा बसेपछि, यतिबेला डीएसपी खत्रीले घटना हेर्दैछन्। के अब एसपीको फुली लगाइन्जेलसम्म निर्मलाका हत्याराबारे सुँइको पाइएला ? उनले भने “कसरी भन्नु खोइ केश नै जटिल बनिसक्यो। ”



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ