arrow

सङ्घीय निजामती सेवा विधेयक स्वीकृत

logo
प्रकाशित २०७५ फागुन ६ सोमबार
lalbabu.JPG

काठमाडौँ ।  प्रतिनिधिसभाको सोमबारको बैठकमा सङ्घीय निजामती सेवा विधेयकलाई सर्वसम्मतिले स्वीकृत गरेको छ । बैठकमा सङ्घीय मामिला तथा सामान्यमन्त्री लालबाबु पण्डितले ‘सङ्घीय निजामती सेवा विधेयक, २०७५ माथि विचार गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गरेका थिए । बैठकले उक्त प्रस्तावमाथि सैद्धान्तिक छलफलपछि सर्वसम्मतिले स्वीकृत गरेको हो ।

छलफलका क्रममा सांसदहरुले उठाएका जिज्ञासामा मन्त्री पण्डितले विधेयक सङ्घीयताको मर्मविपरीत नरहेको स्पष्ट पार्दै यसले समावेशीको सिद्धान्तलाई आत्मसात गरी कर्मचारीलाई सक्षम बनाउने व्यवस्था गरेको छ भने। उनले राष्ट्रसेवकको मनोबल उच्च बनाई सरकारका सेवा प्रवाह र विकासमा इमान्दारीतापूर्वक जिम्मेवारी पूरा गराउनु पर्ने आवश्यकता रहेकाले सोही मर्मअनुसार विधेयकमा व्यवस्था गरिएको बताए ।

मन्त्री पण्डितले सांसदहरुका सुझावलाई समेटेर विधेयक परिस्कृत गरिने उल्लेख गरे। प्रस्तावमाथिको छलफलमा सांसदहरु गङ्गा चौधरी सत्गौवा, आशाकुमारी विक, भरतकुमार शाह, रेखा शर्मा, राजेन्द्रकुमार केसी, रामकुमारी झाँक्री, पार्वतीकुमारी विशुङ्खेलगायतले विधेयकका सम्बन्धमा जिज्ञासा राखेका थिए ।

बैठकले नेपाल प्रहरी र प्रदेश प्रहरी विधेयकलाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाएको छ । बैठकमा उक्त विधेयकलाई गृहमन्त्री रामबहादुर थापाले दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भनी प्रस्ताव प्रस्तुत गरेका थिए । बैठकले उक्त प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको थियो । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ