arrow

सिंहदरबारको प्रिमियर

logo
प्रकाशित २०७६ वैशाख २५ बुधबार
1199329821.jpeg
काठमाडौं । अभिनेत्री गौरी मल्ललाई नेपालको प्रथम महिला प्रधानमन्त्रीका रुपमा प्रस्तुत गरिएको टेलिश्रृंखला ‘सिंहदरबार’को प्रिमियर गरिएको छ । राजधानीको जय नेपाल हलमा आयोजित कार्यक्रममा सभामुख ओनसारी घर्ती मगर र नेपालका लागि अमेरिकी राजदूत अलाइना बी. टेपलेट्जले टेलिश्रृंखलाको शुभारम्भ गरेका थिए ।

टेलिश्रृंखला हेरिसकेपछि राजदुत टेपलेट्जले शृंखलामा महिला प्रधानमन्त्रीको नयाँ विषय मात्र नभई उन्नतिशील लोकतन्त्रका दिन प्रति दिनका यथार्थहरू आफुले पाएको बताईन् । ‘नागरिक तथा तिनका नेताहरूबीचको साझेदारी र सहकार्यका विषयहरू पनि यसमा समावेश छन् ।’ उनले भनिन् ।

श्रृंखलाका निर्देशक छिरिङ रितार शेर्पाले नेपालका राजनीतिक नेताहरूको नजरबाट हेरिएको राजनीतिलाई प्रस्तुत गर्ने टेलिश्रृंखलाले मनोरञ्जनात्मक नाट्य ढाँचाको प्रयोग गरेको बताए । ‘हामी के चाहन्छौँ भने नागरिकहरूले कठिन निर्णय गर्ने नेताहरूका लागि केही समानुभूति महशुस गरून् । साथै, हामी यथार्थ जीवनका विषयवस्तुका जटिलतालाई उजागर गर्न चाहन्छौँ,’उनले भने,‘जनतालाई उनीहरूको राजनीतिक व्यवस्थासँग जोड्न चाहन्छौँ र उनीहरूमा जिम्मेवारीबोधलाई प्रोत्साहन गर्न चाहन्छौँ, ताकि उनीहरू त्यस व्यवस्थामा सरिक बन्न सकून् ।’

लेखक अविनाश विक्रम शाहले प्रत्येक शृखलालाई राम्रोसँग अनुसन्धान गरेर बनाइएको उल्लेख गर्दै तिनमा जलवायु परिवर्तनदेखि स्वास्थ्य सेवासम्म नेपाली जनजीवनका पक्षहरूलाई समेटिएको दाबी गरे । ‘हाम्रो आशा नेपालको विकासशील सरकारको बुझाइलाई गहिरो बनाउने मात्र नभई लोकतान्त्रिक प्रक्रियामा नागरिकहरू कसरी संलग्न हुन सक्दछन् भन्ने कुरा प्रदर्शन गर्नु समेत हो ।’उनले भने ।

श्रृंखलामा भिन्तुना जोशीले प्रधानमन्त्रीका सचिब र आलोक थापाले ब्लगरको भूमिकामा अभिनय गरेका छन् । यूएसएआईडीको आर्थिक सहयोगमा सर्च फर कमन ग्राउन्डद्वारा निर्मित आधा–आधा घण्टाका १३ भागको श्रृंखला कार्तिक २९ गतेबाट हरेक साँझ ८ः५० बजे नेपाल टेलिभिजनमा प्रसारण हुनेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ