arrow

अझै १३ प्रतिशत हात्तीपाइलेका बिरामी, १५ गतेदेखि औषधि खुवाइने

logo
प्रकाशित २०७५ फागुन १२ आइतबार
hattipaile.jpeg

बाँके । हात्तीपाइले रोग निवारणका लागि बाँकेमा नवौँ चरणमा हात्तीपाइलेविरुद्वको आमऔषधि सेवन अभियानको तयारी थालिएको छ । यही फागुन १५ गतेदेखि नवौँ चरणको अभियानअन्तर्गत हात्तीपाइलेविरुद्व औषधि खुवाइने भएको छ । 

अभियान सञ्चालनको तयारी गरिरहँदा बाँकेमा अझै १३ प्रतिशत हात्तीपाइले रोगका बिरामी रहेका छन् । यो अवस्थालाई हेर्दा बाँके जिल्ला अझै पनि हात्तीपाइले रोगको उच्च जोखिममा रहेको छ । हात्तीपाइले रोग निवारणका लागि वर्षेनी ठूलो रकम खर्च हुने गर्छ । 

विसं २०६७ देखि शुरु गरिएको अभियानको पहिलो वर्ष ९१ प्रतिशतले हात्तीपाइलेको औषधि सेवन गरेकामा पछिल्ला वर्षहरुमा यो सङ्ख्या घटेको जनस्वास्थ्यको तथ्याङ्क छ । जनस्वास्थ्य कार्यालयले यस वर्ष शतप्रतिशतलाई औषधि खुवाउने तयारी गरेको छ । 

अभियान शुरु गर्दा ‘सावधानी’ अपनाउन नसकेकाले बाँकेवासीले हात्तीपाइलेको औषधि नै खान मान्दैनन् । अभियानको शुरुआतमा महिला स्वयंसेविकाले घरपरिवार सङ्ख्या गनेर दिएको औषधि जथाभावी खाँदा धेरै जना बिरामी परेकाले औषधिले उल्टो असर गरेको बुझेर औषधि खानेको सङ्ख्या कम हुँदै गएको हो । 

देशभरका ६१ जिल्लामा थालिएको अभियानमा अझै १५ जिल्लामा जारी नै रहेको छ । प्रदेश नं ५ को बाँके र दाङमा नवौँ, बर्दियामा आठौँ र कपिलवस्तुमा ११ औँ चरणको अभियान शुरु हुँदैछ । 

अभियान शुरु भएको छ वर्षपछि २०७२ मा सर्वे गर्दा हात्तीपाइलेका रोगी १६ प्रतिशतमा झरेको थियो । त्यसपछि २०७४ कात्तिकमा सर्वे गर्दा हात्तीपाइलेको रोगी १३ प्रतिशत देखियो । 

नेपालगञ्जमा ३०० को नमूना जाँच गर्दा २५ मा हात्तीपाइले भेटिएको थियो । बैजापुरमा ३१६ को नमूना जाँच्दा १७ मा हात्तीपाइले भेटिएको थियो । 

हात्तीपाइलेका जीवाणु प्रवेश गरेपछि मानिसमा अण्डकोष सुन्निने, हात, स्तन, गुप्ताङ्ग सुन्निने हात्तीको जस्ता पाइला हुन्छन् । लामखुट्टे हुने स्थानमा हात्तीपाइले रोगको संक्रमण हुने भन्दै स्वास्थ्य अधिकृत सरोज शाहले भने, “हात्तीपाइले रोगविरुद्धको औषधि सेवनले कसैको पनि मृत्यु नहुने विषयमा व्यापक प्रचार गर्नु आवश्यक छ ।” मानिसलाई नडराइ औषधि सेवन गर्न जनस्वास्थ्यले आग्रह गरेको छ । 

सरकारले सन् २०२० सम्ममा हात्तीपाइले रोग निवारण गर्ने लक्ष्य लिए पनि हात्तीपाइले रोगविरुद्धको औषधि सेवन गर्नेको सङ्ख्या कम हुँदै गएको छ ।
जनस्वास्थ्य कार्यालयले दुई वर्ष नपुगेका बालबालिका, गर्भवती, सात दिनसम्मकी सुत्केरी, दीर्घरोगी, ७० वर्षभन्दा बढी उमेरका र २४ घण्टाभित्र ज्वरो आएका, कडा कुपोषण भएका पाँच वर्षमुनिका बालबालिकालाई औषधि सेवन नगर्न अनुरोध गरेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ