arrow

अस्ट्रेलियामा नेपाली विद्यार्थी अलपत्र पार्नेलाई कारवाहीको माग

logo
प्रकाशित २०७५ फागुन १२ आइतबार
upper-house.JPG

काठमाडौं ।  राष्ट्रियसभाको आइतबारको शून्य समयमा भाग लिने सांसदले अस्ट्रेलियामा नेपाली विद्यार्थीलाई परेको मर्का, हरिसिद्धि इँट्टा तथा टायल कारखानाको दुरुपयोगलगायत विषयमा सरकारको ध्यानाकर्षण गराए ।

अनिता देवकोटा अस्ट्रेलियामा एआइविटीको कलेज खारेजीपछि सयौँको सङ्ख्यामा नेपाली विद्यार्थी अलपत्र परेकाले त्यस्तो कलेजमा पढ्न पठाउन सिफारिश गर्ने परामर्शदातालाई कारवाहीको दायरामा ल्याउन माग गरिन् ।

सांसद उदय शर्माले सरकारले २५ वर्षअघि कौडीको मूल्यमा हरिसिद्धि इँट्टा तथा टायल कारखाना बेचे पनि न सरकारले पैसा पायो, न जनताले इँट्टा नै पाउन सके भन्दै यसबारे सत्यतथ्य सार्वजनिक गर्न सरकारसँग माग गरे।

खगेन्द्रप्रसाद पुरीले सल्यानलगायत मध्यपश्चिम र सुदूरपश्चिम क्षेत्रबाट सम्बन्धनका लागि सिफारिश भइआएका कलेजलाई त्रिभुवन विश्वविद्यालयबाट हालसम्म स्वीकृति प्रदान नहुनुको कारण के हो भनी प्रश्न गर्दै छिटो यो विषय टुङ्गोमा पुगोस् भने।

सांसद तारादेवी भट्टले मुलुकको आर्थिक विकासका परिसूचक एवम् विवादित वक्तव्य र निर्माला हत्यामा संलग्न अपराधीलाई पत्ता लगाउन नसक्दा देशको अन्तरर्राष्ट्रिय छवि खस्केको बताइन्  ।

बैठकमा पहिलो वक्ताका रुपमा भाग लिँदै कमलाकुमारी वलीले केही दिनअघि भएको असिना पानीबाट इँट्टा उद्योगमा ठूलो क्षति भएकाले उद्योगीलाई क्षतिपूर्तिको व्यवस्था गर्न माग गरे । उनले भने, “सुदूरपश्चिममा वेतबाँसको व्यवसायीकरण गरियोस् ।”

प्रधानमन्त्री केपी शर्मा ओली र केही मन्त्रीबाट हालै भएको सुदूरपश्चिम भ्रमणका अवसरमा त्यस क्षेत्रमा विकासको गतिलाई अघि बढाउने अठोट गरेकाले जनतालाई उत्साही बनाएको भन्दै सांसद वलीले विकास र समृद्धिका कार्यक्रम अघि बढिरहेको बेला ठ्याप्पै काम नभएको जस्तो गरेर अफवाह फैलाइएको भन्दै गुनासो गरिन् ।

सांसद बद्रीप्रसाद पाण्डे वर्तमान सरकार गठन भएको एक वर्ष भइरहँदा मेलम्ची खानेपानीलगायत सरकार सञ्चालनको तौरतरिकाबारे धेरै प्रश्न उठेको बताए । नेकपाका अगमप्रसाद बान्तवाले इलाम अस्पतालमा दरबन्दी अनुसारको चिकित्सकको व्यवस्था गर्न र अलैँचीको अर्गानिक परीक्षण गर्ने व्यवस्था गर्न माग गरे।

सांसद वृशेषचन्द्र लालले सन् १९५० को नेपाल–भारतबीच भएको सन्धिको पुनरवलोकन गर्नुपर्छ भनेर आवाज उठाइए पनि सीमा क्षेत्रमा रहेका जनताको प्रतिनिधित्व नेपाल भारत प्रबुद्ध व्यक्ति समूहमा नसमेटेर सीमा क्षेत्रका जनताको भावनालाई उपेक्षा गरिएको धारणा राखे ।

सांसद रामनारायण विडारीले मुलुकमा ५०औँ वर्षदेखि अस्तव्यवस्त पारिएको कुरालाई मिलाएर अघि बढ्नु आफैँमा चुनौती भए पनि वर्तमान सरकारले त्यसलाई व्यवस्थित र सन्तुलित ढङ्गबाट अघि बढिरहेको बताए । रामलखन चमारले नवलपरासीको रामग्राम स्तुपा गौतमबुद्धको अस्थिधातु भएको एउटा मात्रै स्थान भएकाले त्यसलाई त्यसको संरक्षण र विकासका लागि बेग्लै कोष बनाइयोस् भनी माग गरे ।

सांसद विमला आले रानाले प्रधानमन्त्री कृषि आधुनिक परियोजनाका पदाधिकारीबाट पदको दुरुपयोग गरेर राजनीतिक आस्थाका आधारमा आसेपासेलाई मात्र अनुदान दिने गरेको आरोप लगाउँदै त्यस परियोजनाबाट कृषक लाभान्वित हुन नसक्ने तर्क गरिन्।

सांसद विमला पौडेलले एनसेलमा तोडफोड र आगजनी कुनै राजनीतिक उद्देश्यबाट प्रेरित नभई आतङ्ककारी र आपराधिक घटनाका रुपमा भएको बताइन् । उनले भनिन्, “मुलुक भर्खर विकास र समृद्धितर्फ उन्मुख भइरहेको बेला भएको यस प्रकारका घटना एनसेलमाथि मात्र नभई समग्र निजी क्षेत्र माथिको आक्रमण हो, यो निन्दनीय छ ।”



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ