arrow

डोटीमा बढ्दै असुरक्षित गर्भपतन

logo
विमलबहादुर विष्ट,
प्रकाशित २०७५ फागुन १२ आइतबार
pregnant-woman.jpg

डोटी । स्वास्थ्य क्षेत्रका सरोकारवालाले सुरक्षित गर्भपतन तथा सेवाका बारेमा आवश्यक जानकारी अभावमा असुरक्षित गर्भपतन गराउनेक्रम नरोकिएको बताएका छन् ।

गर्भपतनका बारेमा अझै समाजमा भ्रम विद्यमान रहेकाले महिला खुलेर सूचीकृत स्वास्थ्य संस्थामा आउन नसकेको उनीहरुको धारणा छ । आइपास नेपालको सहयोगमा सामुदायिक विकास मञ्च नेपालले जिल्ला सदरमुकाम सिलगढीमा आयोजना गरेको सुरक्षित गर्भपतनसम्बन्धी सञ्चारकर्मीसँगको अन्तक्र्रिया कार्यक्रममा सहभागीले सुरक्षित गर्भपतन तथा निःशुल्क सुरक्षित गर्भपतन सेवाका बारेमा उपलब्ध सेवाका बारेमा समुदायस्तरसम्म जानकारी प्रवाह गर्नुपर्नेमा जोड दिएका थिए ।

अझै पनि निजी मेडिकल तथा सूचीकृत नभएका स्वास्थ्य संस्थामा गर्भपतन गराउने र जोखिम बढेपछि मात्र अस्पतालमा उपचारका लागि आउने गरेको पाइएको छ । सुरक्षित गर्भपतन र सेवाका बारेमा समुदायस्तरमा जानकारी प्रवाह गर्नसके जोखिम न्यूनीकरण गर्न सकिने जिल्ला अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा भुषण मिश्रले बताए।

सामुदायिक विकास मञ्चद्वारा सञ्चालित सुरक्षित गर्भपतन सेवा कार्यक्रमका कार्यक्रम अधिकृत दीपा सिंहले महिलामा गर्भपतनका बारेमा भ्रम र भेदभाव रहेको, लिंग पहिचान गरि गर्भपतन गराउने गरेका तथा पटकपटक गर्भपतन गराउँदा महिलाको स्वास्थ्यमा जोखिम बढेको बताइन् ।

समुदायस्तरमा सुरक्षित गर्भपतनका बारेमा सूचना तथा जानकारी अभाव रहेको पाइएकाले सुरक्षित गर्भपतन र जिल्लामा उपलब्ध सेवाका बारेमा समुदायस्तरसम्म जानकारी प्रवाह गर्न सञ्चारमाध्यमले महत्वपूर्ण भूमिका खेल्नुपर्नेमा सहभागीको जोड थियो ।

सामुदायिक रेडियो प्रसारक सङ्घ सुदूरपश्चिम प्रदेश सचिव कर्ण चन्दले सुरक्षित गर्भपतन र उपलब्ध सेवाका बारेमा समुदायस्तरसम्म सूचना जानकारी प्रवाह गर्न सञ्चारकर्मी र सरोकारवालाबीचमा समन्वय हुनुपर्ने बताए ।

जिल्ला अस्पतालका साथै तिखा, गड्सेरा, चवराचौतारा, पोखरी, मौवा, मुडभारा, भूमिराजमाण्डौँ, बर्छैन, लानाकेदारेश्वर, लडागडा, सरस्वतीनगर, छतिवन, सानागाउँ, डौड, दानकोट, कफल्लेकी, दुर्गामाण्डौँ र तिखातर गरि १८ स्वास्थ्य चौकीमा निःशुल्क सुरक्षित गर्भपतन सेवा उपलब्ध छ ।

सुरक्षित गर्भपतनका लागि सूचीकृत स्वास्थ्य संस्थामध्ये सामुदायिक विकास मञ्चद्वारा सञ्चालित सुरक्षित गर्भपतन सेवा कार्यक्रमअन्तर्गत दुर्गामाण्डौँ, कफल्लेखी, डौड, छतिवन र सरस्वतीनगर स्वास्थ्य संस्थामा प्राविधिक सहयोग तथा आम सचेतीकरण गर्ने कार्यक्रम सञ्चालित रहेको मञ्चका सचिव सिद्धराज जोशीले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ