arrow

नेकपामा वैचारिक चिरा, कार्यदलका पाँच सदस्यको छुट्टै प्रतिवेदन

logo
प्रकाशित २०७५ फागुन १३ सोमबार
ncp-hq-building-oli-prachanda.jpg

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा वैचारिक चिरा परेको छ । गुट र उपगुटमा रमाइरहने नेकपाको पार्टी एकता पूर्ण रुपले हुन नसकिरहेका बेलामा वैचारिक आरोप प्रत्त्यारोप तीव्र छ । 

सोही क्रममा नेकपाको सांगठनिक एकता टुंगो लगाउन गठित कार्यदलका पाँच सदस्यले छुट्टै लिखित प्रतिवेदन बुझाएका छन् । कार्यदल भंग गर्ने सचिवालयको निर्णयलाई चुनौती दिँदै पाँच नेताले लिखित प्रतिवेदन बुझाएका हुन् । 

कार्यदलले काम गर्न नसकेको निष्कर्ष निकाल्दै नेकपा सचिवालय बैठकले कार्यदल नै भंग गर्ने निर्णय गरेको थियो । कार्यदलका सदस्यहरु योगेश भट्टराई, सुरेन्द्र पाण्डे, वर्षमान पुन, वेदुराम भुसाल र लेखराज भट्टले सचिवालयको निर्णयलाई चुनौती दिँदै लिखित प्रतिवेदन बुझाएका हुन् ।

सुरुका दिनमा लिखित असन्तुष्टि र विचार दुवै अध्यक्षलाई बुझाउने भनिए पनि त्यो असन्तुष्टि प्रतिवेदनमै परिणत भएको छ । 

स्थानीय तहदेखि केन्द्रसम्म अहिलेसम्म मिल्न नसकेको सांगठनिक एकता टुंगो लगाउन स्थायी कमिटी बैठकले रामबहादुर थापा बादलको नेतृत्वमा ९ सदस्यीय कार्यदल बनाएको थियो । 

कार्यदलका सदस्यहरुबीचको विवादका कारण त्यसले ठोस प्रतिवेदन तयार पार्न सकेको थिएन । पाँच सदस्यले बादल र पार्टी महासचिव विष्णु पौडेलले गर्दा नै कार्यदल भंग भएको आरोप लगाएका थिए । ‘रामबहादुर थापा र विष्णु पौडेलले आत्मसमर्पण गरे’

अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डलाई बुझाइएको प्रतिवेदन स्थायी कमिटी सदस्यहरुलाई बोधार्थ दिइएको छ ।

प्रतिवेदनमा कार्यदलमा उत्पन्न विवादबारे पनि उल्लेख गरिएको छ । प्रतिवेदनमा सांगठनिक एकीकरणको मापदण्डसमेत सिफारिस गरिएको छ । 

अब स्थायी कमिटि सदस्यहरुलाई समेत बोधार्थ दिइएपछि यसले नयाँ तरंग पैदा गर्ने नै छ । 

तत्कालीन एमालेबाट ८१ र तत्कालीन माओवादी केन्द्रबाट ६६ गरी १४७ सदस्यीय पोलिटब्यूरो गठन भएको हो । 

बादल रिबन काट्न हिँड्दा फुर्सद नपाएको र पौडेललाई महासचिव पद नै गह्रौं भएकाले कार्यदल असफल भएको नेकपाका एक केन्द्रीय सदस्यले बताएका छन् । 

उनले भने, ‘साथीहरुले शत्रु हँसाउने काम गर्नुभयो ।’

नेकपामा वैचारिक चिरा परिरहेको छ । तत्कालीन एमालेभित्रै ओली, माधव नेपाल, बामदेव गौतम, झलनाथ खनाल र भीम रावल गुट स्पष्टै देखिन्छ । 

त्यसमा पनि माओवादी समेत थपिँदा गुटैगुट रहेकाले समस्या झन् बल्झँदै गएको छ । 

गत जेठ ३ गते पार्टी एकता भए पनि वैचारिक एकता हुन सकेको छैन । केन्द्रमा मिलेको देखिए पनि स्थानीय तहमा एकता नै हुन नसक्दा भोलि के हुने भनेर कार्यकर्ता चिन्तित छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ