arrow

२०२० सम्म हात्तिपाइले निवारण गर्ने सरकारी लक्ष्य विफल हुँदै

१५ जिल्लामा आम औषधि खुवाउने अभियान शुरु

logo
प्रकाशित २०७५ फागुन १५ बुधबार
hattipaile.jpeg

काठमाडौ‌। सरकारले हात्तिपाइले रोग निवारणका लागि १५ जिल्लामा आज बुधबारदेखि ‘आम’ औषधि खुवाउने अभियान शुरु गरेको छ। विगत वर्षहरुमा तीन दिन औषधी खुवाउने गरेपनि यसपाली भने १५ गते देखि  खुवाउन नसकेसम्म निरन्तर जारी रहने इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक विवेक कुमार लालले जानकारी दिए। गएको वर्ष २४ जिल्लाका करिव ९२ लाखलाई हात्तीपाइले रोग विरुद्धको औषधी खुवाइएको थियो । यो वर्ष भने १५ जिल्लाका ७८ लाख ४९ हजार लाई औषधी खुवाउने लक्ष्य राखिएको छ। 

पहिलो पटक स्वास्थ्यकर्मी नै परिचालन
हात्तिपाइले रोग निवारण कार्यक्रम सञ्चालन हुने जिल्लाका वडावासीलाई औषधी खुवाउन यसपाली  पहिलोपटक स्वास्थ्यकर्मी नै परिचालन गरीएको  महाशाखाले जनाएको छ । यसअघि, स्वयंसेवी र महिला स्वास्थ्यकर्मीबाट आम औषधी वितरण गर्ने गरेपनि यसपाली पहिलो पटक स्वास्थ्यकर्मी नै परिचालन गरिएको हो । यो वर्ष झापा, इलाम, पाँचथर, धनकुटा, मोरङ, बारा लमजुङ, पर्वत, बाग्लुङ, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, कैलाली, र कञ्चनपुरमा हात्तिपाइले विरुद्धको औषधि वितरण अभियान चलाइएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । 

कपिलवस्तु जिल्लामा यसपाली एघारौं पटक औषधी खुवाइदैछ। बारा जिल्लामा फेरी हात्तिपाइलेको प्रिभलेज दर एक प्रतिशत भन्दामाथी भएकाले यसपाली फेरी खुवाउन लागिएको हो। प्रत्येक वर्ष खुवाइने यो औषधी ६ वर्षसम्म नियमित खानुपर्ने भएपनि कपिलवस्तुमा पनि प्रिभलेज दर अर्थात संक्रमण दर बढेकाले यसपाली एघारौं पटक खुवाइन लागेको छ।

कपिलवस्तु लगायतका जिल्लामा ६ पटक नियमित खुवाउँदा पनि हात्तिपाइलेका बिरामी देखिएकाले फेरी खुवाउने क्रम जारी रहेको महाशाखाले जनाएको छ। यो वर्ष लमजुङ्ग पर्वत र बाग्लुुङ्गमा १० औं पटक औषधी खुवाउन लागिएको हो।

उपत्यका लगायत ४८ जिल्लामा प्रिभलेन्स दर एक प्रतिशत भन्दा कम भएकोले अब यी जिल्लामा यो समस्या आम जनस्वास्थ्य समस्याका रुपमा नभएकाले अभियान राकिएको पनि महाशाखा अन्तर्गतको हात्तिपाइले रोग निवारण कार्यक्रमका फोकल पर्सन प्रदीप रिमालले जानकारी दिए। तर पनि ६३ जिल्ला अझै पनि हात्तिपाइले रोगको जोखिममा छन्। 

नेपालमा अहिलेसम्म ३० हजार हात्तिपाइले प्रभावित रहेको अनुमान गरेपनि करिब १० हजार जना पत्ता लागेको सरकारी तथ्यांक छ। हिमाली १४ जिल्लामा भने यो रोग नदेखिएकाले औषधी सेवन कार्यक्रम सञ्चालन भएको छैन। सन् २००३ मा पर्सा जिल्लाबाट यो अभियान शुरु गरिएको हो। 

२० करोड ६० लाख खर्च गरिँदै 
सन् २०२० सम्ममा नेपालबाट हात्तीपाइले रोग निवारण गर्ने सरकारको लक्ष्य छ। यसका लागि सरकारले हात्तिपाइले विरुद्धको आम औषधी सेवन, बिरामी खोजपडताल र हाइड्रोशिल सर्जरीका लागि यसबर्ष २० करोड ६० लाख ७० हजार बजेट बिनियोजन गरेको छ । त्यसमध्येको १२ करोड बजेट भने  यसपाली १ सय ५६ स्थानीय तहमा अभियान सञ्चालनकै लागि छुट्याएको छ । त्यस्तै, नेपालको कुल अंपाङ्गतामध्ये करिब ३० हजार अपाङ्गता हात्तीपाइले रोगकै कारण हुने गरेकोमा त्यसमध्य सबैभन्दा धेरै हाइड्रोशिलका विरामी रहेको महाशाखाको तथ्यांक छ। नेपालमा हाइड्रोशिलका विरामी करीब ३० हजार रहेको तथ्यांक छ। 

नेपाल सरकारले हाइड्रोशिलका विरामीको निःशुल्क शल्यक्रिया शुरु गर्दै आएको छ। यस अन्तर्गत हालसम्म नेपाल सरकारद्धारा सूचिकृत करिब ६४ वटा अस्पतालबाट करिब ७ हजार नौ सय ५६ विरामीहरुले हाइड्रोशिलको शल्यक्रिया गरिसकेका छन्। यसका लागि महाशाखाले प्रति विरामीका दरले अस्पताललाई छ हजार रुपैया समेत उपलब्ध गराउँदै आएको छ। 

२०२० को लक्ष्य पुरा किन हुँदैन? 
सन १९९७ मा विश्व स्वास्थ्य संगठनको सदस्य राष्ट्रको हैसियतले नेपालले जेनेभा महासभामा प्रतिबद्धता जाहेर गरेको हो । यो प्रतिबद्धता अनुसार २०२० सम्ममा नेपालले हात्तिपाइले निवारण गर्नुपर्ने थियो । तर यो लक्ष्य अब २०२० मा पुरा नहुने भएको छ । अहिले २०१९ मा अभियान सञ्चालन भएका जिल्लामा २०२१ सम्म औषधी खुवाउनुपर्ने भएकाले २०२० मा औषधी खुवाउन रोक्ने सरकारको लक्ष्य परिमार्जन गर्नुपर्ने देखिएको छ । अझै केही जिल्लामा  २०२२ सम्म नै औषधी खुवाउन बाँकी नै रहेको र ६३ जिल्लामा हात्तिपाइलेको जोखिम कायमै रहेकाले निवारण गर्ने लक्ष्य परिमार्जन गर्नुपर्ने देखिएको रिमालले बताए।

अब सरकारले विश्व स्वास्थ्य संगठनसंग अबको नेपालको लक्ष्य बर्ष २०२० धकेलेर थप नयाँ वर्ष घोषणा गर्ने तयारी छ । यसका लागि मन्त्रालयले विश्व स्वास्थ्य संगठनसँग छलफल गरी अर्को वर्ष निर्धारण गर्नेछ । योसँगै सरकारको सन २०२० मा हात्तिपाइले निवारण गर्ने लक्ष्य केही वर्ष पर धकेलिएको छ ।  

के हो हात्तिपाइले? 
क्युलेक्स प्रजातिको लामखुट्टेको टोकाइबाट मानव शरिरको लिम्फ्याटिक प्रणालीमा असर गरेपछि त्यहाँ अस्वभाबिक बृद्धि हुनु नै हात्तिपाइले रोग लाग्नु हो। यो रोग लागेको ६ देखि १० बर्षपछि मात्रै शरीरको बाहिरी भागमा देखापर्ने भएकाले रोग लाग्नु अघिनै औषधी सेवन गर्नुपर्ने चिकित्सकहरुको सुझाव छ। १५ जिल्लाका बिभिन्न बुथमा स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा हात्तिपाइले विरुद्धको डिइसी र अल्बेन्डाजोल खुवाइदैछ।

२ बर्ष मुनीका केटाकेटी, गर्भवती एवं सात दिनभित्रका सुत्केरी, सिकिस्त बिरामी, क्यान्सर, मुटुरोगी, कलेजोका रोगी, मिर्गौला रोगी, फोक्सोका दीर्घरोगी, छारे रोग लागेका बिरामी र कडाखाले कुपोषणका रोगी बाहेक सबैले हात्तिपाईले निवारणको औषधी सेवन गर्नुपर्ने हात्तिपाइले रोग निवारण कार्यक्रममा उल्लेख गरिएको छ।

औषधी सेवन गर्दा शरीरमा हात्तिपाईलेको जिवाणु भएकालाई सामान्य पेट दुख्ने, वाकवाक लाग्ने, टाउको दुख्ने, शरीर दुख्ने, पखला लाग्ने, अल्छी लाग्ने लगायतका सामान्य असर देखिए पनि एक दिनभित्रै यस्ता असर आफै हराएर जाने महाशाखाले जनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ