arrow

आठ वर्षदेखि जङ्गलमै बास

logo
प्रकाशित २०७७ पुष १७ शुक्रबार
1396811744.jpeg
बेलौरी(कञ्चनपुर) । झन्डै आठ वर्षअघि कञ्चनपुरको दोदा नदीले विस्थापित गरेका शङ्करपुरका डेढ सय बढी परिवारको अझैसम्म पनि जङ्गलमै बास छ । दोदा नदीमा २०६५ सालदेखि आउने बाढीले हालसम्म शङ्कपुरका १६३ परिवार पूर्ण विस्थापित परिवारको बास जङ्गलमै रहेको छ । स्थानीयवासीका अनुसार दोदाले २०६५ सालमा शङ्करपुर गाविसको वडा नम्बर ७ नै बगाएको थियो । विस्थापितका हालसम्म पनि पुनःस्थापना नहुँदा जङ्गलमै बस्न बाध्य भएका हुन् । 

सरकारी पक्षबाट कुनै पहल नहुँदा उनीहरु मानिस भएर पनि जङ्गली जनावरको जस्तो जङ्गलमै बस्न बाध्य भएका छन् । विस्थापित भएदेखि जङ्गलमै बस्न बाध्य भएको उनीहरुको दुःखेसो छ ।  ‘राज्यको ध्यान दोदामा पुग्न सकेन,’ शङ्करपुर–८ डुङ्गाका बिश्राम रानाले भने, ‘जसको परिमाण नदीले ७ नम्बर वडालाई लग्यो ।’ आर्थिकरुपमा सम्पन्न भएकाहरु बसाई सरेर सहरतिर गएको र विपन्न विस्थापितहरु भने नजिकैको शोभातालको डाँडामा बसिरहेका छन् । 

बाढीले २५० बिघा जमीन कटानी गरेर नदीले धार परिवर्तन गर्दा काम नलाग्ने भएको छ । नदीले बायाँबाट दायाँतिर धार परिवर्तन गर्दै जाँदा उक्त जमीनमा खेती गर्न नमिल्ने भएको शङ्करपुर–८ का वालकृष्ण डगौराले बताए ।  यसवर्ष पनि दोदामा आएको बाढीले शङ्करपुर–७ र ८ को दुई बिघा १० कट्टा जमीन बगाएको छ । शङ्करपुर–८ का झक्कुप्रसाद चौधरीले गत साउन ३ गते आएको बाढीले दुई बिघा १० कट्टा जमीन बगाएको बताउनुभयो । उनका अनुसार दोदाबाट शङ्करपुर–८ र ९ वटा उच्च जोखिममा छन् । 

जनताको तटबन्ध कार्यालयले दोदा नदीमा दुई हजार ६५५ मिटर तटबन्ध बनाएको छ । करिब १४ करोडको लागतमा तटबन्ध बनाएपनि कटानी रोकिएको छैन् । कतिपय तटबन्ध भत्किसकेका छन् । ‘तटबन्धले काम राम्रो गरेन,’ उनले भने, ‘रु १४ करोडको तटबन्ध बनायौँ भन्छन्, तर हाम्रो गाउँ बगेकोबग्यै छ, तटबन्ध पनि बगेको बग्यै, पैसा पनि बगेको बग्यै छ ।’ 

जनताको तटबन्ध कार्यालयका प्रमुख अनुपकेशर थापाले बजेट अभावका कारण प्रभावकारीरुपमा दोदा नियन्त्रण हुन नसकेको बताए । ‘काम गर्न बजेट छैन, सानो कामले नदी नियन्त्रण हुदैन,’ उनले भने । उनका अनुसार जनताको तटबन्ध कार्यालयले यस वर्ष दोदामा साढे चार लाखको लागतमा २५० मिटर मात्रै तटबन्ध बनाएको छ । 

‘बाढीबाट विस्थापित ३०÷३५ जनाले क्षतिपूर्तिको माग गरेर तटबन्ध बनाउन दिएनन्,’ उनले भने, ‘पैसा पनि ढिलो आएकाले काम हुन नपाएरै फिर्ता गयो ।’  दोदाले कञ्चनपुरका आठ गाविस कृष्णपुर, देखतभुली, शङ्करपुर, श्रीपुर, बाइसेविचवा, कालिका, त्रिभुवनवस्ती तथा परासनमा क्षति पु¥याएको छ । दोदा नदीमा बनारा, स्याली, सुनवरा नदी मिसिएका छन् । 

दोदा नदीमा तटबन्ध कार्यालयले आर्थिक वर्ष २०६६÷६७ देखि काम शुरु गरेपनि हालसम्म २० करोडको तटबन्ध बनाएपनि बाढी भने, नियन्त्रणमा आउन सकेको छैन् ।  सरकारले यस वर्षदेखि दोदा नदीलाई दुई अर्बको गुरुयोजनामा राखे पनि पीडितहरुको भने अझैसम्म पनि पुनःस्थापना हुन सकेको छैन् । 

कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी मनोहरप्रसाद खनालले बाढीपीडितको उचित व्यवस्थापनका लागि निर्देशिका बनेपछि पुनःस्थापना गरिने बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ