पशुपतिको पूजापछि सुरु भए'थ्यो नेपाल संवत्, शंखधर व्यापारी होइनन् राजा हुन् !

सुदर्शन अर्याल, प्रकाशित मिति : २०७५ फाल्गुण २० सोमबार

काठमाडौं । नेपाल संवत नेपालको एउटा मौलिक संवत् हो। नेपालमा बढी चल्ने विक्रम संवतको सुरुवात नेपाल संवत भन्दा पहिले नै भएको भएपनि नेपालमा यसको प्रचलन भने धेरै पछि अर्थात् राणा शासनकालदेखि मात्रै सुरु भएको इतिहासमा पाईन्छ । चन्द्र शम्शेरको पालामा मात्रै सरकारले औपचारिक रुपमा विक्रम संवतलाई अँगालेको हो। त्यसभन्दा पहिले मध्यकाल र आधुनिक नेपालमा नेपाल संवतको नै बढी प्रचलन हुने गरेको देखिन्छ । 

नेपालको मौलिक नेपाल संवत् एक लुनार क्यालेण्डर अर्थात चन्द्रमासमा आधारित राष्ट्रिय संवत् हो । यो वि सं ९३६ या ३७ मा सुरु भएको भन्ने प्रमाणहरु विभिन्न ऐतिहासिक दस्तावेज र अभिलेखहरुमा पाईन्छ । तर, यो संवतको प्रवर्तन कसले गर्यो भन्ने भन्ने बारेमा भने धेरै इतिहासकारहरुको भिन्दा भिन्दै मत रहेको पाईन्छ । 

विभिन्न नेपाली र विदेशी इतिहासकारहरुले नेपाल संवतको इतिहासबारे चर्चा गरेका छन् । तर, यसमध्ये पनि विदेशी इतिहासकारहरुको तर्कलाई आधारमान्न सक्ने अवस्था निकै कम देखिन्छ। सन् ८७९ मा नेपाल संवत् सुरु हुँदा नेपालमा वैश्य ठकुरी वंशका राजा राघवदेवको शासनकाल रहेको कुरा धनबज्र बज्राचार्यद्वारा लिखित मध्यकालको अभिलेख नामक पुस्तकमा उल्लेख गरिएको छ । 

नेपाल संवतको सुरुवातको विषयमा विदेशी इतिहासकारहरुमा कर्नेल कर्कपेट्रिक, सिल्भाँ लेभी आदिले उल्लेख गरेका छन् भने नेपाली इतिहासकारहरुमा बाबुराम आचार्य, डीआर रेग्मी, धनबज्र बज्राचार्य आदिको पुस्तकमा यस विषय उल्लेख गरिएको छ । भाषा वंशावली, गोपालराज वंशावली आदिमा पनि यस विषयमा उल्लेख गरिएको छ । 

नेपाल संवतको विषयमा कर्नेल विलियम कर्कपेट्रिकद्वारा लिखित 'एन एकाउन्ट अफ दि किङडम अफ नेपाल' नामक पुस्तकमा राघवदेवले तमूल संवतको सुरुवात गरेको उल्लेख छ । उनले यही नेपाल संवत् हो कि अरु कुनै संवत् हो भन्ने बारे भने स्पष्ट उल्लेख गरेका छैनन् । सन् १७९३ मा कर्नेल कर्कपेट्रिक नेपालमा आएका थिए । 

त्यस्तै अर्का विदेशी इतिहासकार सिल्भाँ लेभीले आफ्नो पुस्तक 'ली नेपाल'मा लेखेका छन् 'नेपालीहरु ८ र १२ अंकलाई अशुभ मान्दछन् । नेपाल सातौं शताब्दीमा तिब्बतको अधिनमा थियो । नवौं शताब्दीमा तिब्बतको अधिनबाट नेपाल स्वतन्त्र भएपछि त्यसैको खुशियालीमा नेपाल संवत चलाईएको हो ।' तर, सिल्भाँले भनेजस्तो नेपालको सातौं शताब्दीमा तिब्बतसँग नराम्रो सम्बन्ध नै नरहेको आधिकारिक प्रमाणहरु भेटिएकोले इतिहासकारहरुले उनको यो दाबी पनि गलत रहेको बताउने गरेका छन् । 

जबकी सातौं शताब्दीका राजा नरेन्द्रदेवलाई भाइहरु उदयदेव र ध्रुवदेवले लखेट्दा नरेन्द्रदेव तिब्बतमा नै शरण लिन पुगेका थिए । त्यसैले पनि सिल्भाँ लेभीको तर्क समेत यसको हकमा मेल खाने देखिँदैन । उनको भनाईलाई केपी जैसवालको 'क्रोनोलोजिकल हिस्ट्री' भन्ने पुस्तकले पनि खण्डन गरेको छ । जसमा सन् ७०३ देखि ७०५ सम्म नेपालको तिब्बतसँग लडाईँ हुँदा तत्कालीन तिब्बती राजा चिनुसा सिलुङको ज्यान गएको उल्लेख छ । त्यसले पनि लेभीको भनाईलाई खण्डन गरेको छ । 

नेपालका इतिहासकार बाबुराम आचार्यले नयाँ शासन सुरु भएपछि राघवदेवले नेपाल संवतको सुरुवात गरेको भन्ने उल्लेख गरेका छन् । मानदेवको शासन सकिएपछि नयाँ वंशको सुरुवात हुँदा नेपाल संवतको सुरुवात भएको भन्ने भनाई पनि पाईन्छ । तर, इतिहासमा कताकतै मानदेव राघवदेवका पिता रहेको समेत उल्लेख भएकोले यो भनाई पनि शतप्रतिशत सही नहुन सक्ने आशंका गरिएको छ । 

तर, इतिहासकारद्वय डिआर रेग्मी र धनबज्र बज्राचार्यको मत भने समान जस्तै देखिन्छ । रेग्मी र बज्राचार्यले नेपालमा त्यतिबेला ठूलो महामारी फैलिएको उल्लेख गरेका छन् । त्यो समयमा खडेरीले गर्दा उब्जनी पनि थिएन । लामो समयसम्म पानी नपरेपछि तत्कालीन राजा राघवदेवले श्री पशुपतिनाथमा महामारीको अन्त्यको कामना गर्दै पूजा गरेका थिए । सोही पूजापछि पानी परेको र महामारी समेत अन्त्य भएको खुशीयालीमा नेपाल संवत् सुरु गरेको भन्ने उल्लेख छ । बज्राचार्यले सोही समयदेखि म्हः पूजा सुरु गरेको समेत उल्लेख गरेका छन् । पशुपतिमा शंख फुकिरहेको मूर्तिपनि भेटिएको म्हः पूजाको सुरुवात पनि भएको र सो समयमा महामारी फैलिएको कुरापनि प्रमाणित भईसकेकोले इतिहासकारहरु यही तर्कलाई आधिकारिक मान्दछन्। पशुपतिमा शंख फुकेर बसेको राजा राघवदेवको मूर्तिलाई नै कतिपयले शंखधर मान्ने गरेका छन् । 

अर्को तर्फ भाषा वंशावलीले भक्तपुरका राजा नयनदेवलाई ज्योतिषले शुभसाईतमा टेकु दोभानबाट बालुवा उठाएर ल्याएमा त्यो बालुवा सुन हुने भविष्यवाणी गरेका थिए भन्ने उल्लेख छ । सोही अनुसार नयनदेवले भरियाहरुलाई टेकु दोभानमा पठाएका थिए । तर, दोभानमा पुगेपछि काठमाडौंका व्यापारी शंखधरले उनीहरुलाई सो बालुवा आफ्नो घरमा ल्याउन र सो बापत केही उपहार दिने बताए । सोही अनुसार भरियाहरुले सुन बनेको बालुवा शंखधरको घरमा लगेर फेरि दोस्रो पटक दोभानमा गइ बालुवा बोकेर भक्तपुर गएको भन्ने भनाई समेत सुनिन्छ । 

ज्योतिषिले भनेको समयमा बालुवा सुन नभएपछि राजा नयनदेवले ज्योतिषलाई बोलाएर हप्काएका थिए । आफ्नो विद्या असफल भएको चिन्तामा ती ज्योतिष भने आफ्नो पुस्तक जलाउन तयार भएका थिए । तर पछि डोकामा सुनको कण देखेपछि राजाले ज्योतिषलाई रोकेर सबै कुरा भरियासँग बुझेको र ज्योतिषको भनाइ समेत मिलेकोमा ज्योतिषलाई पुरस्कृत समेत गरेको पनि इतिहासमा भेटिन्छ । 

यता काठमाडौंमा सोही सुनले शंखधरले सबैको ऋण मिनाहा गरिदिएको भन्ने भनाई भएपनि यसमा सत्यता देखिँदैन । पहिलो कुरा त बालुवा सुन बन्ने भन्ने कुरा नै पत्याउन गाह्रो मानिन्छ । दोस्रो कुरा त्यतिबेला कुनै व्यवसायीलाई नयाँ संवत् चलाउने अधिकार राजाले दिने नै थिएनन् र अर्को तर्फ सो समयमा भक्तपुरमा नयनदेव राजा नै नरहेको भेटिएको छ । त्यसैले पनि अन्य तर्कहरु भन्दा नेपाल संवत् सुरुवातको प्रमाणका लागि पशुपतिको पूजाबारे गरिएको तर्क नै बढी विश्वसनीय मानिन्छ । 

लेखक अर्याल संस्कृति इतिहास तथा पुरातत्व केन्द्रीय विभाग कीर्तिपुरमा स्नातकोत्तर अध्ययनरत छन् ।

ईआइसिटी नेपाल प्रालिद्धारा संचालित हाम्राकुरा डटकममा प्रकाशित कुनै पनि सामाग्री ईआइसिटी नेपालको पूर्व जानकारी विना हुवहु एवं आंशिक रुपमा समेत कपी गरि प्रकाशन गर्नु दण्डनीय छ। यस किसिमका कार्य गर्ने उपर ईआइसिटी नेपाल कानुनी उपचार खोज्न बाध्य हुने भएकाले सम्बन्धित सवैलाई सचेत हुन जानकारी गराइन्छ।

नयाँ