arrow

टेस्लाले चीनमा विद्युतीय कार उत्पादन कारखाना निर्माण गर्ने

logo
एएफपी,
प्रकाशित २०७५ फागुन २४ शुक्रबार
elon-musk-tesla.jpg

शाङ्घाई। विश्वविख्यात विद्युतीय कार निर्माता कम्पनी टेस्लाले चीनमा विद्युतीय कार निर्माणका लागि कारखाना खोल्न चिनियाँ बैंकबाट ५२ करोड डलर ऋण प्राप्त गरेको छ। यो कारखाना शाङ्घाई नजिक निर्माण गरिने कम्पनीले जनाएको छ।

अमेरिकाको क्यालिफोर्नियास्थित उक्त कम्पनीले चीनमा कारखाना निर्माण गर्ने बताए पनि पुँजी जुटाउन बेइजिङसँग वार्ता गरिरहेको थियो। टेस्ला कम्पनी विश्वकै सबैभन्दा ठूलो विद्युतीय कार निर्माता हो।

चीनको कारखानामा टेस्लाले मोडेल ३ का सेडान कारहरु उत्पादन गर्नेछ। प्रारम्भमा यहाँबाट सातामा ३ हजार कार उत्पादन हुनेछन् भने वार्षिक पाँच लाख थान कार उत्पादन गर्ने लक्ष्य कम्पनीको छ। कार उत्पादन यसै वर्षको अन्त्यदेखि हुनेछ।

टेस्लाका प्रमुख कार्यकारी एलन मस्क गत जनवरीमा चीनको भ्रमण गरेका थिए। चीनमा रहँदा उहाँले कार उत्पादन कारखाना स्थापना र सञ्चालनका लागि स्थानीय चिनीया बैंकहरुसँग पूँजीका लागि छलफल गरेका थिए।

टेस्लाले चिनियाँ औद्योगिक तथा बाणिज्य बैंक, चाइनिज कन्स्ट्रक्सन बैंक, कृषि बैंक र शाङ्घाई पुदोङ विकास बैंकबाट ५२ करोड १० लाख ऋण रकम प्राप्त गरेको छ। टेस्लाको उक्त घोषणासँगै न्यूयोर्क शेयर बजारमा दुई प्रतिशतभन्दा बढीले सेयर कारोबार भएको छ। चीन विश्वकै सबैभन्दा ठूलो कार बजार हो र वर्षौंदेखि कारको बिक्री निरन्तर बढ्दो छ। तर सन् २०१८ मा २.८ प्रतिशतले कार बिक्री घटेको चिनीया अधिकारीहरुले जनाएका छन्।

विद्युतीय कारको बिक्रीमा भने निरन्तर सुधार आएको छ। गत वर्ष विद्युतीय सवारी साधनको बिक्रीमा ६२ प्रतिशतले वृद्धि भएको छ। चीनमा विद्युतीय कार उत्पादनमा बीएआईसी, बीवाईडी र जोट्ये पनि अग्रणी स्थानमा छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ