योगदान र संस्कार बिर्सिएको कांग्रेस

प्रियरंजन दाहाल, प्रकाशित मिति : २०७५ फाल्गुण २७ सोमबार
फाइल तस्विर

६ पटक लगातार भारतीय  लोकसभामा  सांसद बनेका भागवत झालाई कांग्रेसका तत्कालिन सर्वेसर्वा राजीव गान्धीले प्रस्ताव राख्छन "अब तपाइँले बिहारको मुख्यमन्त्री भएर चलाउनु पर्यो र तपाइँको लोकसभा क्षेत्रमा छोरालाई तयार पार्नुस उसलाई म केन्द्रिय राजनीतिमा स्थापित गर्न सहयोग गर्नेछु "। ब्रिटिश बिरुद्धको आन्दोलनमा गोली खाएर पनि बाच्न सफल भएपछी "आजाद "उपनाम पाएका  उनले राजीव गान्धीको कुरा सुनेपछि जवाफ दिन्छन । म राजनीतिमा सक्रिय रहुन्जेल मेरो परिवारको कुनै पनि सदस्यले कांग्रेस पार्टीमा कुनै जिम्मेवारी लिने छैन । उनी बिहारको मुख्यमन्त्री त भए तर जीवनपर्यन्त उनले कांग्रेस भित्र त्यो बाचा पुरा गरे । उनका छोरा कीर्ति आजाद  बरु भारतीय जनता पार्टीबाट बिधान सभा र लोक सभामा सांसद भए । राजनीतिमा परिवारका सदस्यहरुको प्रवेशले  योग्य कार्यकर्ताप्रति अन्याय हुन सक्ला र  इमान्दारिता डगमगाउला भन्ने  कुरामा शायद उनि सचेत र गम्भीर थिए ।

राजनीतिमा परिवारबाद सधै चर्चामा रहने  बिषय हो । स्थापित नेताहरुले पछिल्लो दिनमा राजनीतिलाई समाज र राष्ट्र निर्माणका लागि गरिएको समर्पण भन्दा पनि मान प्रतिष्ठा र धन आर्जनको गतिलो माध्यम मात्रै ठानेनन आफ्ना सन्तानलाई आर्थिक र प्रतिष्ठाको हिसाबले पनि आफ्नो पालोमा स्थापित गराउने सानो चित्त देखाएको अनेकन द्रिस्टान्त देखिन्छ । हज्जारौ बर्षसम्म बंश परम्पराबाट राज्य संचालक बन्ने गरेको नेपालमा त्यो गणतन्त्रसंगै निमेषमै  समाप्त हुने कुरा सम्भाव हुन सक्दैन । शासक र शासित दुइ बर्गमा विभाजित भएर सदियौंसम्म चलेको नेपालको त्यो शासन प्रणाली एक किसिमले संस्कारकै रुपमा बिकसित भएको छ । तल्लोतहबाट नेतृत्व  गर्दै  शासनमा पुगेपछि जिम्मेवारी मात्रै हैन शासकले खानपान ,लवाइ खवाई ,चालढाल   समेत पुराना शासककै जस्तो गर्नु पर्ने अनौठो रोग देखिन्छ । भोटोजात्रा देखाउने देखि दशैँमा आम जनतालाई टिका लगाई दिएर  ठुलो शासक भएको रवाफमा आनन्द लिने चलन यद्यपि छ । शासनमा भएकाहरुका सन्तानमा शाहीसानकै झल्को दिने चरित्र देखिन्छ । तिनका सन्तान ऐश आराममा पुराना  दरबारियाहरुलाई चुनौती दिए झैँ लाग्छ । बास्तवमा त्यो कुनै व्यक्तिको दोष भन्दा पनि संस्कारको रुपमा हाम्रो समाजमा गढेर बसेको छ ।

अवसर पाउँदा बहुसंख्यक नेपाली नेता, कार्यकर्ता सत्तासंगै सजिलै फेरिन पुग्छन र शासक बन्न पुग्छन । २०४६ सालको जन आन्दोलनपछि निर्वाचित बनेर सरकारमा पुगेका सबै खाले राजनीतिक सिद्धान्त बोकेका नेताहरुमा जनताको प्रतिनिधि बन्ने र देश र जनताको सेवा गर्ने भन्दा पनि शासन गर्ने, धन आर्जन गर्ने र आफ्नो परिवारका सदस्यलाई राजनीतिमा स्थापित गराउने एकै खाले चरित्र देखियो । यसमा कांग्रेस, कम्युनिष्ट अझ जनताको अधिकारको लागि भन्दै  मार्ने मर्ने तथाकथित  जनयुद्ध नै गरेको माओवादी झन् अगाडि देखियो । सबै जात ,बर्ग ,सम्प्रदायमा शासन गर्ने मौका पाउदा आफ्नो व्यक्तिगत अभिष्ट पुरा गर्ने चरित्र देखियो । यसरी हेर्दा यो चरित्र संस्कारको रुपमा हाम्रो समाजमा जरा गाडेर बसेको छ यसलाई फ्याक्न केहि दिन ,कुनै व्यवस्थाको परिवर्तनले पुग्दैन संस्कार नै फेरिनु पर्छ ।

हालसालै कांग्रेसका सभापतिले बंशबादकै नाममा कोहिले नेतृत्व पाउन नहुने गम्भीर बिषय उठाए । उनले सभापति हुन कोइरालानै हुनुपर्ने ? भन्दै आक्रोश पोखेको मिडियामा सार्वजनिक भयो । स्वाभाविक रुपमा उनले उठाएको त्यो बिषय तर्कहिन होइन । कुनै निश्चित थर हुनु वा नेतृत्वको बंश वा रगतको नाता हुनु मात्रै पार्टीको जिम्मेवारी पाउने योग्यता बन्नु हुदैन । त्यसलाई राजनीतिमा स्थापित हुन दिनु पनि हुदैन । तर संग संगै त्यसलाई मुद्दा बनाएर नेतृत्वमा पुग्ने तर आफुले अवसर पाउँदा त्यसलाई दोहोर्याउने चरित्रको पनि अन्त्य हुनुपर्छ ।

चाहेर नचाहेर कोइराला र उसंग निकट अरु परिवारले पनि जेलनेल वा कमसेकम निर्वासन भोगेको सत्य हो । अझ कोइराला परिवारको सन्तानले आफु स्वयम् सहभागी नभए पनि कांग्रेस हुनुको पिडा, निर्वासनको दुखदायी बसाइ भोगेको छ । निर्वासनमा रहंदा कात्रो किन्ने पैसा नभएको हृदयविदारक घटनाहरुको साक्षी बनेको छ । नेपाल लगायत हिन्दुस्तानमा स्थापित राजनीतिक नेता कार्यकर्तासंग तिनको सानिध्यले पक्कै पनि तिनमा राजनीतिक चेतना र संस्कार बिकास भएको हुनुपर्छ । नेतृत्वमा रहेका बहाल वाल कोइराला परिवारका सदस्यहरुको नेतृत्व  क्षमताप्रति  सन्देह गर्ने  ठाउँहरु प्रशस्त होलान तर शेरबहादुर देउवाले आक्रोश पोख्दै कारवाही गर्न समेतपछि नपर्ने भनाइ भने बदलाको भावनाबाट प्रेरित जस्तो देखिन्छ । राणा परिवारमा जन्मिएकी श्रीमती देउवा जसकी आमा अझै पंचायती अवशेष बोकेको पार्टी राप्रपाको केन्द्रीय समितिमा छिन जसको कांग्रेससंगको सम्बन्ध भनेको कांग्रेस पार्टी सभापतिकि श्रीमतीको भन्दा अरु केहि होइन, उनलाई कुन योगदानको आधारमा समानुपातिक सांसद बनाइयो ? अघिल्लो  निर्वाचनमा सांसदको उम्मेदवार बनाइयो भन्ने प्रश्न शायद कांग्रेस कार्यकर्ता बीच अनुत्तरित नै छ । कांग्रेसभित्र बसेर बर्षौकाम गरेका र उनको जति योग्यता भएका महिलाहरु कांग्रेसमा छैनन् भन्ने कुरा पटक्कै होइन ।

वीपी कोइरालाको राजनीतिक उतार चढावमा छायाँ बनेर हिडेकी उनकी श्रीमती शुशिला कोइरालाले कहिल्यै राजनीतिक जिम्मेवारीको इच्छा देखाएको सुनिएन । बरु एउटा नृत्य पाठशाला उनको चाहना थियो । शायद कांग्रेसका लागि त्यसले खासै महत्व राखेन । राजनीतिको अंक गणितीय खेलमा त्यसको कुनै भूमिका नहुने भएपछी कांग्रेसले त्यसलाई सम्झन पनि चाहेन ।

कांग्रेस सभापति स्वयम्ले ,कांग्रेसको नेतृत्व गर्ने मान्छेले पार्टीमा योगदान गरेको हुनुपर्छ भन्ने कुरा उठाएर आक्रोश पोख्दै गर्दा अबदेखि कार्यकर्ताको योगदानको मुल्यांकनको आधारमा जिम्मेवारी दिइनेछ हामीले मुल्यांकनका आधार र बिधि तयार पारेका छौ  भनेर घोषणा गरेको भए शायद त्यसले कार्यकर्तामा एउटा उत्साह थपिने थियो । कांग्रेसको इतिहासमा पहिलो पटक उम्मेदवार बनाउदा टिकेट  खरिद बिक्रि गरेको बिषय महासमितिमा उठ्छ अर्कोतिर कुनै व्यक्तिप्रति लक्षित भएर योगदानको बिषय उठाइन्छ भने त्यसले पक्कै पनि सकारात्मक संदेश जादैन । त्यसले राजनीतिक संस्कार भन्दा व्यक्तिगत प्रतिशोध लिएको झल्को दिन्छ ।

२०१३ सालमा बाग्लुङ्गका आफ्ना कांग्रेस मित्र ओम प्रसाद थकालीलाई लेखेको पत्रमा वीपीले भनेका छन् -"कांग्रेस गेरुवा नलगाएको निष्काम कर्म गर्ने जोगी हुन सक्नु पर्छ  " । लाभ वा हानिको कुनै आशा नराखी समर्पित भएर गरिने कर्मलाई निष्काम कर्म भनिन्छ । राजनीतिलाई त्यति ठुलो सोच र समर्पणका गरिने सेवाका रुपमा लिन वीपी कोइराला सुझाव दिन्छन । कांग्रेसको बैरगनिया सम्मेलनमा अनौपचारिक रुपमा कांग्रेसले कस्तो लुगा लगाउने भन्ने बिषयमा बहश र निर्णय पनि भएको थियो भनिन्छ । आवरण र आचरणमा समेत यति धेरै सचेत रहेर  नेतृत्व गरेको कांग्रेस  आज आफ्ना प्रत्येक निर्णयहरुमा कमजोर देखिन पुगेको छ । कांग्रेसका नेतादेखि कार्यकर्तासम्म आर्थिक रुपले बद्नाम हुन पुगेका छन् ।

नेपालको कुल  बजेटभन्दा बढी व्यक्तिगत सम्पति र आर्थिक  कारोबार भएका तत्कालिन कांग्रेसका नेता सुवर्ण, महाबिर सम्शेरहरुले आफ्नो व्यक्तिगत सम्पत्तिलाई सधै पार्टी र देशको भन्थे तर आज राष्ट्रको सम्पत्तिको दोहनमा कांग्रेस अरु पार्टी जतिकै बद्नाम हुन पुगेको छ ।  पंचायतमा  सुवर्ण शमशेरकी श्रीमती रानी ललिता देवीको निजि लुगा समेत लिलाम गरिंदा ति नेताको आदर्श डग्मगाएन । निष्काम कर्मका लागि कांग्रेस बन्न आग्रह गर्ने नेतृत्व पुस्ता  सकिएर आज कांग्रेस नेतृत्व आफुलाई व्यक्तिगत रुपमा आर्थिक लाभ दिनेलाई सांसद, मन्त्री , प्रहरी प्रमुख बनाउनेसम्मको आरोप सहन बाध्य छ । भर्खरै सम्पन्न महासमिति बैठकमा कतिपय कार्यकर्ताले लगाएको त्यो आरोपको  नेतृत्वले प्रतिकार गर्न सकेन । उसले त्यो आरोपको खण्डन गर्ने सामर्थ्य राख्दैन ।  स्वदेशमा मात्रै हैन बिदेशमा बस्ने कांग्रेसी कार्यकर्तालाई नेतृत्वको जुत्ता, र कोटको साइज थाहा हुनुपर्छ भनिन्छ ।  तिनका श्रीमतीले प्रयोग गर्ने ब्याग र लुगाको ब्राण्ड  थाहा हुन्छ । जसले तिनको व्यक्तिगत चाहना पुरा गर्छ उ कांग्रेसको प्रतिनिधिको रुपमा जन सम्पर्क समितिहरुमा अवसर पाउँछ भनिन्छ ।

"प्रजातन्त्र पुनर्स्थापना पछि सुकिला मुकिलाले कांग्रेस कब्जा गर्छन र सच्चा कार्यकर्ता पाखा लाग्ने छन् अनि योगदान गरेकाले फेरी एकपटक संघर्ष गर्नु पर्नेछ " भन्ने वीपीको भनाइलाई योगदान गरेका आम कांग्रेस कार्यकर्ताले सधै सम्झनछन तर योगदान भएका तर पाखा लगाइएकाहरुले आजसम्म पार्टीभित्र संघर्ष गरेर त्यसलाई फाल्ने सामर्थ्य र ताकत जम्मा गर्न सकेको देखिदैन । झन् योगदान गरेकाहरु पाखा लाग्दै अवसरवादी ,ब्यापारीहरु मोलतोलमा अगाडि देखिएका छन् । अझ बचे खुचेको कांग्रेसी संस्कार समेत बिर्सिएर व्यक्तिगत  रुपमा आरोप प्रत्यारोपमा काग्रेस ओर्लिन पुगेको छ । वीपी कोइरालालाई हानिएको गोली थापेर उनलाई बचाउने तारानाथ कोइराला हुन् वा पंचायतले गरेको आक्रमणमा घाइते भएर बाच्न सफल एल बि गुरुङ हुन् तिनको योगदानको सम्मान त भएन नै तिनलाई सम्झने प्रयास पनि गर्दैन कांग्रेस । आफ्नो जवानीलाई चुनौती दिंदै बिमान अपहरण गर्ने उमेश गिरिहरु कांग्रेसमा टिक्न नसक्ने वातावरण बन्छ । आफ्नो जीवन समर्पण गरेको पार्टीलाई छोड्नु पर्दाको पिडा पक्कै पनि कहालीलाग्दो होला ।

कुनै समय यस्तो थियो जुन बेला कांग्रेसमा सुवर्ण शमशेर र गणेशमान सिंह प्रस्तिस्पर्धि बन्थे । स्वयम् कोइराला परिवार विभाजित हुन्थ्यो । वीपी कोइरालाको समर्थन सुवर्ण शमशेरलाई र गिरिजाप्रसाद लगायतको समर्थन गणेशमानलाई हुन्थ्यो । पराजित भए पनि गणेशमानले वीपी प्रति कहिल्यै कठोर शब्द प्रयोग गरिएको सुनिएन । ति नेताहरुको आत्मियता सधै उस्तै रह्यो । कांग्रेसभित्र शुरु भएको संस्कारहिनता कांग्रेसका लागि सबैभन्दा ठुलो चुनौती बनेर आउनेछ ।

 योगदान भएकाहरुलाई बिर्सिने ,आफुसंग नजिक रहेका नेतृत्व क्षमता नभएकाहरुलाई पुरस्कृत गर्दै जाने हो भने चाकडी स्वरुप कार्यकर्ताहरुको आवाज बोल्न खोज्नेलाई लगातार बिरोधी खेमाको आरोप लगाउने र बोल्न नदिने, माइक खोस्ने अझ व्यक्तिगत प्रतिषोध लिएर आक्रमण गर्ने  संस्कारहिन चरित्र बढ्ने  र कांग्रेस जरोदेखि कमजोर बन्ने  निश्चित देखिन्छ ।

कांग्रेसका संस्थापक र बर्षौ कांगेसको पार्टी सभापति रहेका कृष्ण प्रसादको पुण्य तिथिलाई पनि कांग्रेसले औपचारिकता पुरा गर्न बाहेक सम्झिएको जस्तो देखिएन । योगदान र कांग्रेसी संस्कार दुवै बोकेका किसुनजीलाई बिर्सिने अहिलेको कांग्रेस नेतृत्वले आफुलाई कता लाने हो कस्तो कांग्रेस बनाउने हो भविष्यले बताउला तर संकेत उत्साहजनक भने पक्कै  छैन ।

माथि उल्लेख गरिएको पत्रमा वीपीले भनेका छन "देशको उन्नति हाम्रो लक्ष हो । कांग्रेस संस्था हाम्रो साधन हो । हामी सेवक हौ । यदि कांग्रेसलाई कोहि  व्यक्तिगत स्वार्थ साधनको निमित्त बनाउन लाग्दछ भने हामीले उसलाई कांग्रेसबाट टाढै राख्नुपर्छ ।" योगदान भएकाहरु बिर्सिएर सेवकबाट शासकमा रुपान्तरित कांग्रेसी नेतृत्वमा फेरी वीपीले भनेजस्तै कांग्रेसी संस्कार पुनर्जीवित होस धेरै कांग्रेस समर्थकको चाहना देखिन्छ ।

ईआइसिटी नेपाल प्रालिद्धारा संचालित हाम्राकुरा डटकममा प्रकाशित कुनै पनि सामाग्री ईआइसिटी नेपालको पूर्व जानकारी विना हुवहु एवं आंशिक रुपमा समेत कपी गरि प्रकाशन गर्नु दण्डनीय छ। यस किसिमका कार्य गर्ने उपर ईआइसिटी नेपाल कानुनी उपचार खोज्न बाध्य हुने भएकाले सम्बन्धित सवैलाई सचेत हुन जानकारी गराइन्छ।

नयाँ