arrow

देश केक बन्ने चिन्ता, प्रधानमन्त्री ओली केक खानमै मस्त

logo
हाम्राकुरा डेस्क
प्रकाशित २०७५ फागुन २९ बुधबार
oli-cake.JPG

काठमाडौँ । स्वतन्त्र मधेशका अभियन्ता सिके राउतका कार्यकर्ताको गतिविधि हेर्दा नेपाल कतै केक त बन्दै छैन भन्ने प्रश्न टड्कारो बनेको छ । 

राउतको गतिविधि अन्तर्राष्ट्रिय स्तरमा हेर्दा पहिलेदेखि नै शंकास्पद बन्दै आएको छ । यही शंकाका बीच प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले स्वतन्त्र मधेश गठबन्धन समूहबीच ११ बुँदे सहमति गरेर झनै बढी सनसनी मच्याएको छ । 

प्रधानमन्त्री ओलीको पार्टी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेताहरु नै मुलुकलाई बिखण्डन गर्ने दिशामा आफ्ना अध्यक्ष लागेको आरोप लगाउन थालेका छन् । 

ओली भने तिनै जेलबाट छुट्नासाथ आफूलाई भेट्न प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार आएका सिके राउतको बचाउ गर्दागर्दा थाकेका छैनन् । 

सिकेको बचाउ गर्दा उनले आफ्नो पार्टीको एकता (एमाले र माओवादी केन्द्रबीच) लाई मजबुद बनाउन खेल्ने भूमिका नै बिर्सेजस्तो भएका छन् । 

अर्थात् नेकपाका सयौं नेता लाखापाखा भएको फरक पर्दैन तर सिके राउत आफ्नो पकडबाट उम्कन भएन भनेजसरी ओली लागिरहेका छन् । 

ओलीकै पथमा नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पनि हिँडिरहेका छन् । उनले पनि आफ्ना नेताहरुलाई सचेत गराएका छन् । 

नेपालबाट मधेशलाई अलग गराएको हैकम पिट्दै हिँड्ने मधेश गठबन्धनका कार्यकर्तालाई एक रत्ति पनि कुनै डिस्टर्भ नगरी ओली सरकारले रमिता हेरिरहेको छ । 

ओली दंगदास हुँदै निकै रमाइरमाइ केक पो खाइरहेका छन् त । राष्ट्रिय सुरक्षा परिषद् सचिवालयको १८औँ वार्षिकोत्सवका अवसरमा सोमबार सिंहदरबारमा आयोजित समारोहमा उनले सहज र सुखद् रुपमा पृथकतावादी गतिविधि अन्त्य हुनु मुलुकको शान्तिसुरक्षामा महत्वपूर्ण र सकारात्मक उपलब्धि हो भन्दै केक खाए । 

केक खुवाइरहने मन्त्रीहरुको कार्यसम्पादनमा कम नम्बर ल्याएर पद खुस्किने अवस्थामा पुगेका उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल हुन् भने त्यसको साक्षी अर्का कार्यसम्पादनमा फितलो देखिएका अर्थमन्त्री डा युवराज खतिवडा हुन् । 

यसबीचमा उनले आफ्नै दलका असन्तुष्ट नेताहरुसंगै विपक्षी दलका नेताहरुलाई निकै नै दयनीय शैलीमा प्रहार गर्न भ्याए ।  

सरकार र मधेशमा विभिन्न माग राखेर आन्दोलन गरिरहेको गठबन्धनबीच गत फागुन २४ गते ११ बुँ्दे राजनीतिक सहमति भएको थियो ।

 विखण्डनकारी गतिविधि परित्याग गरेर राष्ट्रिय राजनीतिको मूलधारमा रहने सहमति गरेको दावी ओलीको रहे पनि राउतले भने काठमाडौंको राष्ट्रिय सभागृहमा भएको सहमतिपछि तत्काल फेसबुकबाट जनमत संग्रहलाई सरकारले स्वीकारेका शब्दहरु लेखेका थिए । 

यसरी लेख्दासमेत ओलीले राउतप्रति कुनै वैरभाव देखाएनन् उल्टै ओलीलाई सचेत गराउने आफ्नै पार्टीका नेताहरुलाई वैयक्तिक असन्तुष्टि र निहित उद्देश्य बोकेका केही व्यक्तिबाट मात्र त्यसको विरोध भएको हो भन्न भ्याए । 

ओलीलाई लागेको छ कि राष्ट्रिय सार्वभौमसत्ता, अखण्डता र स्वाधीनताका विषयमा भने जनमत संग्रह हुन सक्दैन । उनले नेपालबाट पृथकतावादी गतिविधि निस्तेज हुँदा एकथरि मान्छे पानीविनाको माछाजस्तो भुट्भुटिएको तर्क दिइरहेका छन् । 

राष्ट्रिय अखण्डता र सार्वभौमसत्तामा आँच पुर्याउने कुरामा जनमत संग्रह गर्ने भन्ने कुरा सोच्न पनि नमिल्ने कुरा भएको भन्दै ओलीले आफूलाई सान्त्वना दिन खोजे वा राउतलाई भन्न खोजे ? सम्भवतः गुलियो केक खाएका बेलामा उनको जिब्रोले बिना सुझबुझ भनेको पो हो कि ?

सुरक्षा परिषदकै बैठकमा जसरी ओलीले बोलिरहेका थिए त्यसले उनी सिके राउतप्रति पूर्ण विश्वस्त रहेका देखिन्छन् । तर सिकेमा भने त्यस्तो कुनै भावना रहेको पाइँदैन । 

यदि मुलुकले गल्ती गर्दा सिके राउतजस्ता अवसरवादीलाई फाइदा पुग्यो भने त्यतिबेला ओलीले केक खाएर मुड फ्रेस गर्छन् वा आपराधिक गतिविधिमा लागेकाहरुलाई कार्वाही गर्न तर्साउने नेत्रविक्रम चन्द विप्लवको पार्टीलाई कुनै पनि गतिविधिमा प्रतिवन्ध लगाएजस्तै कडा प्रतिशोधमा उत्रन्छन् ? 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ