arrow

विराटको छल प्रस्टिँदै

logo
प्रकाशित २०७२ चैत १ सोमबार
petrol-distribution-in-nepal.jpg.jpeg
काठमाडौं-उपभोक्तासँग चर्को मूल्य असुलेर पेट्रोल बेचिरहेको विराट पेट्रोलियमले झुटो दलिल अघि सारेर कालोबजारी गरेको पुष्टि हुँदै छ। अन्तःशुल्क नै महँगो परेकाले भाउ चर्किएको दाबी गर्ने विराटले आइतबार एकाएक मूल्य घटाएपछि उसले वितरण गरेको पेट्रोलको गुणस्तरमाथि नै आशंका उब्जिएको छ। नागरीक दैनिकमा समाचार छ।
 
 
२० प्रतिशतभन्दा नाफा राख्न नपाइने कानुनी सीमा मिचेर प्रतिलिटर १ सय ३० रुपैयाँमा पेट्रोल बेचेको विराटले चौतर्फी आलोचनापछि आइतबार भाउ घटाएर आयल निगमकै सरह ९९ रुपैयाँमा बेच्न थालेको हो । विराटले यु–४ मापदण्डको पेट्रोल बेचेको दाबी गर्दै आएको छ ।
 
त्रिपुरेश्वरस्थित जयन्ती आयल स्टोरका व्यवस्थापक राजकुमार महर्जनले आइतबारदेखि प्रतिलिटर ९९ रुपैयाँमा बेच्न मिल्ने गरी विराटले पेट्रोल उपलब्ध गराएको बताए । 'शनिबारसम्म १ सय ३० रुपैयाँमा बेचेका थियौँ,' उनले नागरिकसँग भने, 'चार दिन बेचेपछि मूल्य परिवर्तन भयो ।'
 
माली आयल, कालिमाटी, भ्याली रिकेश आयल स्टोर्स, गैरीगाउँ र जयन्ती आयल स्टोर्स, त्रिपुरेश्वरले निगमकै अनुमतिमा विराटको महँगो पेट्रोल बेच्दै आएका थिए ।
 
प्रतिलिटर ३९ रुपैयाँ ६० पैसामा खरिद गरेको तेल अन्तःशुल्क, कर, ढुवानी, व्यवस्थापन, प्राविधिक क्षति, वित्तीय शुल्क, डेमरेजलगायत खर्च जोडेर १ सय ३० रुपैयाँमा बेच्दा पनि १३ रुपैयाँ ७ पैसा घाटा भएको विराटको दाबी थियो । निगमले भने ९९ रुपैयाँमा बेच्दा पनि १७ रुपैयाँ नाफा हुने बताउँदै आएको छ ।
 
भारतबाट पेट्रोल ल्याउँदा प्रतिलिटर १०.३२ पैसा अन्तःशुल्क लाग्ने भए पनि विराटले २४ रुपैयाँ ९४ पैसा बढी देखाएर उपभोक्ता ठगेको खुलेको छ । 'विराटले भारतमा ३५ रुपैयाँ २८ पैसा अन्तःशुल्क तिरेँ भन्नु झुटो हो,' निगमका एक निर्देशकले भने, 'प्रतिलिटर १० रुपैयाँ ३२ पैसा मात्र अन्तःशुल्क लाग्छ तर विराटले ३५ रुपैयाँ २८ पैसा लाग्यो भनेर सबैलाई झुक्यायो ।'
 
१ लाख ३२ हजार लिटर पेट्रोल ल्याएको विराटले त्यसमध्ये धेरै परिमाण महँगोमा बेचिसकेपछि मूल्य घटाएको छ । यससँगै विराटले 'असामान्य नाफा' राखेर असुलेको अतिरिक्त रकम उपभोक्तालाई फिर्ता गर्नुपर्ने आवाज उठ्न थालेको छ । 'निगमको भन्दा ३१ रुपैयाँ महँगोमा तेल भ¥यौँ,' जयन्तीमा पेट्रोल भरेका एक उपभोक्ताले भने, 'हामीसँग असुलेको अतिरिक्त पैसा फिर्ता दिनुपर्छ ।'
 
युरो–४ मापदण्डको तेल बेचेको दाबी गर्दै आएको विराटले मूल्य घटाएसँगै गुणस्तरमा पनि झुक्याएको प्रस्टिएको छ । निजी कम्पनीले गुणस्तर ढाँटेर कालोबजारी गरिरहँदा नियमनकारी निकाय भने मूकदर्शक मात्र बनिरहेका छन् ।
 
सबैजसो पम्पमा सहजै पेट्रोल पाइन थालेकाले आफ्नो तेल नबिकेपछि विराटले घाटा खाएर ९९ रुपैयाँमा झारेको आपूर्ति विभागका महानिर्देशक गोकुल धितालले बताए । 'धेरै मूल्यमा बेचेको बारे हामीले पनि चासो राखेका थियौं,' उनले भने, 'तर, अहिले मूल्य घटाएको जानकारी आएको छ ।' चार दिनसम्म उपभोक्तासँग चर्को मूल्य असुल्ने पम्प र विराटलाई कारबाही गर्ने÷नगर्नेबारे छलफल भइरहेको उनले जानकारी दिए । 'कागजात मगाएर अध्ययन गरिरहेका छौं,' धितालले भने, 'कालोबजारी पुष्टि भए कानुनबमोजिम दण्डित गर्छौं ।'
 
भारतीय नाकाबन्दीपछि तेल ल्याउन सुरु गरेको विराटलाई उच्च राजनीतिक र प्रशासनिक संरक्षण भएकाले कारबाही गर्न नसकिएको सरकारी अधिकारी नै स्विकार्छन् । आपूर्ति मन्त्रालयका एक उच्च अधिकारीले विराटलाई कारबाही गर्ने हैसियत आफूहरूसँग नरहेको बताए । 'नीतिगत रूपमा मन्त्रालय र विभागले कानुनी दायरामा ल्याउनुपर्ने हो,' उनले भने, 'माथिल्लो निकायबाटै संरक्षण भएकाले हामी निरीह भएका छौं ।'
 
आयातितमध्ये अधिकांश पेट्रोल महँगोमा बेचिसकेपछि मूल्य घटाउनुको औचित्य नरहेको उपभोक्ताको भनाइ छ । 'चार दिनसम्म उपभोक्ता ठगिँदा सबै टुलुटुल हेरेर बसे,' एक उपभोक्ताले भने, 'तेल सकिन लागेपछि मूल्य घटाएर उन्मुक्ति पाइन्छ ?'
 
भारतबाट आयातितमध्ये धेरै पेट्रोल बिक्री भइसकेको विराट पेट्रोलियमका परशुराम उप्रेतीले स्विकारे । 'अब केही ट्यांकर मात्र बाँकी छ,' उनले नागरिकसँग भने । यद्यपि उनले पेट्रोलको मूल्य घटाएको स्विकारेनन् । त्रिपुरेश्वरस्थित जयन्ती आयलले प्रतिलिटर ९९ रुपैयाँमा बेचिरहेको बारे उनले अनभिज्ञता दर्साए ।
 
भारतमै अन्तःशुल्क महँगो परेकाले यहाँ धेरै मूल्यमा बेच्नुपरेको उप्रेतीको तर्क छ । 'निगमले पेट्रोल ल्याउँदा अन्तःशुल्क लाग्दैन,' उनले भने, 'हामीले अन्तःशुल्क तिर्नुपर्ने भएकोले महँगो परेको हो ।' प्रतिलिटर १०.३२ पैसा अन्तःशुल्क लाग्ने गरेकोमा विराटले २४ रुपैयाँ ९४ पैसा बढी देखाउनुको औचित्य भने उनले खुलाउन सकेनन् ।
 
विराटले कानुन हातमा लिएर उपभोक्ताको ढाड सेकेकाले कारबाही गर्नुपर्ने उपभोक्ता हित संरक्षण मञ्च अध्यक्ष ज्योति बानियाँ बताउँछन् । 'उपभोक्तामाथि खेलबाड गर्न व्यवसायीलाई छुट छैन,' उनले भने, 'कालोबजारी गरेर तेल बेच्नेलाई कारबाही गर्नुपर्छ ।'
 
वाणिज्य तथा आपूर्ति मन्त्रालयले गत कात्तिकमा छ महिनाका लागि निकासी–पैठारी (नियन्त्रण) ऐन २०१३ को दफा २ को अधिकार प्रयोग गरी पेट्रोलियम पदार्थ बिक्रीवितरण गर्न इजाजत दिएको थियो । उक्त इजाजत नै खारेज गर्नुपर्ने सरोकारवालाको तर्क छ । इजाजत खारेज नभएसम्म निजी क्षेत्रका नाममा उपभोक्ता ठगिइरहने नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघ अध्यक्ष खगेश्वर बोहोराले बताए । 'पूर्वाधार नभएका संस्थालाई लाइसेन्स दिनु नै गलत थियो,' उनले भने, 'ती संस्थालाई दिएको इजाजत खारेज गर्नुपर्छ ।'
 
विराटले पेट्रोलियममा चर्को मूल्य असुलेको बारे संसदको सार्वजनिक लेखासमितिले आपूर्ति मन्त्रालयलगायत निकायलाई पत्राचार गरिसकेको छ । विराटले यसअघि पुस दोस्रो साता ९६ हजार १ सय लिटर पेट्रोल काठमाडौं, काँडाघारीस्थित समृद्धि आयल स्टोरबाट बेचेको थियो । तत्कालीन अवस्थामा एकपटकका लागि भन्दै प्रतिलिटर १ सय ९० रुपैयाँमा बेचेर प्रतिलिटर ८६ रुपैयाँ नाफा कमाएको थियो ।
 
नाकाबन्दी हटेर आयात सहज भइसक्दा पनि ग्यास र डिजेलमा कालोबजारी नघटेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चासो देखाउँदै सम्बन्धित निकायलाई वितरण व्यवस्था प्रभावकारी बनाउन निर्देशन दिएको छ । आयोगले आइतबार आपूर्ति मन्त्रालय, विभाग र निगमका उच्च अधिकारीलाई बोलाएर आपूर्ति व्यवस्था तत्काल सहज बनाउन र कालोबजारी नियन्त्रण गर्न निर्देशन दिएको हो । 'इन्धन सहज नभएको विषयमा अख्तियारले बोलाएको हो,' मन्त्रालयका प्रवक्ता दीपक सुवेदीले भने, 'अहिलेको अवस्थाबारे जानकारी गरायौँ । सहज गर्न पहल गर्ने प्रतिबद्धता जनाएका छौं ।' डिजेल र ग्यासमा समस्या देखिए पनि उपभोक्ताले सहज रूपमा पेट्रोल पाउन थालेको निगम प्रवक्ता मुकुन्द घिमिरले बताए । 'पम्पमा पुग्नासाथ सजिलै पेट्रोल पाउन थालेका छन्,' उनले भने, 'डिजेलको माग उच्च रहेकाले समस्या भएको हो । केही दिनमै यो समस्या अन्त्य हुन्छ ।' पछिल्लो समय तोक आदेशमा डिजेल वितरण गर्दै आएको निगमले आइतबारबाट तोक लगाउन छाडेको छ । तोकको डिजेल दुरुपयोग भएको गुनासो बढेपछि निगमले निर्णय परिवर्तन गरेको हो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ