arrow

बिस्केट जात्रा भब्य बनाउन कार्यदल गठन

logo
प्रकाशित २०७५ फागुन ३० बिहिबार
bisket.JPG

भादगाउँ । भक्तपुरको प्रसिद्ध बिस्काः (बिस्केट) जात्रा व्यवस्थित र शान्तिपूर्ण तवरले सम्पन्न गर्न विभिन्न कार्यालयका प्रमुख, स्थानीय बुद्धिजीवी र संस्कृतिप्रेमीको भेलाले भक्तपुर नगरपालिका प्रमुख सुनिल प्रजापतिको संयोजकत्वमा ११ सदस्यीय विशेष कार्यदल गठन गरेको छ । 

त्यस्तै भेलाले नगरपालिकाले माइकिङ, सूचना प्रवाह, पर्चापम्प्लेट प्रकाशित गर्ने र नगरवासीलाई विभिन्न गतिविधिमार्फत शान्तिपूर्णरूपमा जात्रा सञ्चालन गर्न आग्रह गर्ने साथै नगरभरि जात्रा सञ्चालन गर्ने क्षेत्रमा सरसफाइ गर्ने, जिल्ला प्रशासन कार्यालय तथा मातहतका सम्पूर्ण सुरक्षा निकायले जात्रा अवधिभर सुरक्षा व्यवस्थालाई प्रभावकारी बनाउने, गुठी संस्थान, भैरवनाथ जात्रा सहयोग समितिलगायत सम्बिधत संस्थाले समयमै शान्तिपूर्ण र व्यवस्थितरूपमा जात्रा सञ्चालन गर्न आवश्यक तयारी गर्ने, नेपाल विद्युत् प्राधिकरण, नेपाल टेलिकम, केबुल नेटवर्क तथा इन्टरनेट सेवा प्रदायक संस्थाले जात्रा सञ्चालन हुने क्षेत्रमा आ–आफ्ना तार तथा लठ्ठा व्यवस्थित गर्ने र नगरपालिकाका जनप्रतिनिधि, सुरक्षा निकाय, विभिन्न सङ्घ–संस्थाका प्रतिनिधि, विद्यालय कलेज तथा स्थानीय जनताको व्यापक सहभागितामा ¥याली तथा सभा गर्ने निर्णय गरेको छ । 

भेलामा सहभागीले आन्तरिक र बाह्य पर्यटकसमेत अवलोकनका लागि आउने बिस्काः जात्रा सञ्चालनका लागि सरोकारवाला निकायको समन्वय र सहकार्य हुनुपर्नेमा जोड दिएका छन् । 

उनीहरुले गुठी संस्थान र भैरव नाइकेले पूजा समयमै सम्पन्न गरी जात्रा समयमै शुरु गरी अँध्यारो हुनुभन्दा अगाडि नै सम्पन्न गर्नुपर्ने, हुलहुज्जत गर्नेलाई कडाइका साथ कारवाही गर्नुपर्ने र कारवाही गरिएकालाई सार्वजनिकीकरण गर्नुपर्ने, भैरवनाथको रथ तान्नु एक दिन अगाडि रथ निर्माण र रङ्गरोगनका सम्पूर्ण काम सकाउनुपर्ने, रथ तान्ने डोरी बलियो राख्नुपर्ने, रथ बनाउने रकमीलाई समयमै भुक्तानी दिनुपर्ने सुझाव दिएका छन् । 

भेलामा नगरप्रमुख प्रजापतिले भक्तपुरको बिस्केट जात्रा मर्यादित, शान्तिपूर्ण र अनुशासितरूपमा सम्पन्न गर्न सके भक्तपुर नगर र देशकै प्रतिष्ठा बढ्ने विचार व्यक्त गर्दै बिस्काः जात्रालाई पनि सम्पदाको रूपमा विकास गरी यसको संरक्षण र संवद्र्धन गर्न नगरपालिका तत्पर रहेको बताए ।

नगरपालिकाका उपप्रमुख रजनी जोशीले बिस्काः जात्रालाई शान्तिपूर्णरूपमा सम्पन्न गर्न नगरपालिकाले आवश्यक भूमिका खेल्ने, संस्कृति र जात्रामा भएका विकृतिलाई हटाउँदै संस्कृतिलाई अगाडि लानुपर्ने र जात्राका हरेक गतिविधिलाई लिपिबद्ध गर्नु आवश्यक रहेको बताए ।

प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले बिस्काः जात्राको व्यवस्थापन निकै चुनौतीपूर्ण रहेको र ती चुनौती समाधान गर्न सम्बन्धित सरोकारवालाले आ–आफ्नो ठाउँबाट भूमिका निर्वाह गर्न आग्रह गरे । 

भक्तपुर प्रहरी प्रमुख प्रहरी उपरीक्षक हिमालयकुमार श्रेष्ठले विगतका वर्षमा भएका कमजोरीलाई समीक्षा गर्नुपर्ने आवश्यकता औँल्याउँदैं जात्रा सञ्चालन हुने क्षेत्रमा रहेका निर्माण सामग्री हटाउन सूचना प्रकाशित गर्नुपर्ने बताए ।

गुठी संस्थान भक्तपुरका प्रमुख हरि सुवेदीले विगतका दिनमा देखिएका कमीकमजोरी नदोहो¥याउने प्रतिबद्धता व्यक्त गर्दै जात्रा सञ्चालनमा गुठी संस्थानले व्यवस्थापकीय भूमिका निर्वाह गर्ने विश्वास दिलाए । 

कार्यक्रममा भैरवनाथ मन्दिर जीर्णोद्धार उपभोक्ता समितिका अध्यक्ष न्हुछेराम भेले, विद्युत् प्राधिकरण भक्तपुरका कार्यालय प्रमुख प्रज्वलमान श्रेष्ठ, नेपाल टेलिकम भक्तपुरका कार्यालय प्रमुख वीरेन्द्र श्रेष्ठ, स्थानीय अनन्त धौभडेल, हाकुज्या प्रजापति समाजका अध्यक्ष रामबहादुर प्रजापतिलगायतले जात्रालाई व्यवस्थित र शान्तिपूर्ण तरिकाले सम्पन्न गर्न विभिन्न सुझाव दिएका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ