arrow

आसन्न चीन भ्रमण परामर्शः उच्चस्तरको सम्बन्ध बनाउन सुझाव

logo
प्रकाशित २०७६ वैशाख २५ बुधबार
china-flag-620x330.png.png
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आसन्न चीन भ्रमणका विषयमा पूर्वप्रधानमन्त्री, परराष्ट्रमन्त्री तथा परराष्ट्र सचिवसँग परामर्श गर्नुभएको छ । बालुवाटारमा आइतबार साँझ भएको छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले चीन घनिष्ट मित्रराष्ट्र भएकाले दुई देशको सम्बन्धलाई कसैसँग तुलना नगरी मित्रवत् रुपमा अघि बढाउन सुझाव दिएको बताए । 
 
“अन्तर्राष्ट्रिय सम्बन्ध अत्यन्त संवेदनशील हुन्छन्, आन्तरिक तयारी गरेर जानु उपयुक्त हुन्छ, नेपाल संवेदनशील भू–राजनीति भएको र स्वतन्त्र र सार्वभौम राष्ट्र भएकाले प्रत्येक देशसँग स्वतन्त्र ढङ्गले सम्बन्ध अगाडि बढाउनुपर्छ, त्यस्तै चीनसँग पनि”– भटृराईले भने । त्यस्तै, आर्थिक परनिर्भरताको अन्त्य गर्नका लागि भौतिक निर्माणको कुरामा जोड गर्नुपर्ने भन्दै भट्टराईले रसुवागढीको नेपालपट्टिको बाटो अझै पूर्णरुपमा निर्माण नभएको र रेलमार्ग जोड्नुपर्ने कुरालाई बढी प्राथमिकता दिनुपर्ने सल्लाह दिएको जानकारी दिए । 
 
पूर्वप्रधानमन्त्री भट्टराईले अहिलेको युग कूटनीतिक भएकाले चीनको पूँजी आकर्षित गरेर नेपालको यातायात, जलस्रोतलगायतका क्षेत्रमा विकास गर्न सुझाव दिएको बताए । पूर्वपरराष्ट्रमन्त्री डा रामशरण महतले चीनसँग विश्वासको वातावरण निर्माण गरी रेलमार्ग विकास तथा चीनको सहयोगका निर्माणाधीन योजना चाँडो सम्पन्न गर्ने सुझाव दिएको  बताए । “कतिपय योजनामा ढिलाइ भएको छ, चीनको लगानी नेपालमा विगतमा भएको प्रतिबद्धता कार्यान्वयन भएको छैन, त्यो हुनुपर्‍यो”– भट्टराईले भने । 
 
पूर्वपरराष्ट्रमन्त्री महतले लगानी विस्तार गर्न दुई देशको सम्बन्धलाई अझ बलियो बनाई चीनको बजारमा नेपालको सामानको व्यापार विस्तारलगायतका विषयमा सुझाव दिएको बताए । प्रधानमन्त्रीका विदेश मामिला विज्ञ गोपाल खनालले सरकारको आसन्न चीन भ्रमणका क्रममा दुई देशबीचको उच्चस्तरको सम्बन्ध, विश्वासको वातावरण बनाई पारवहन सम्झौता र व्यापारिक सम्झौता गर्नुपर्ने सुझाव आएको जानकारी दिए। 
छलफलमा प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधान मन्त्री तथा परराष्ट्रमन्त्री कमल थापा, पूर्वप्रधानमन्त्री डा भट्टराई, पूर्वपरराष्ट्रमन्त्रीहरु डा महत, रमेशनाथ पाण्डे, महेन्द्र पाण्डे, ईश्वर पोखरेल, माधव घिमिरे तथा पूर्वपरराष्ट्र सचिवहरुको उपस्थिति थियो ।  
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ