arrow

ब्राजिलका राष्ट्रपति अमेरिका भ्रमणमा

logo
एएफपी,
प्रकाशित २०७५ चैत ४ सोमबार
jair-bolsonaro-brazil-president1.jpg

वासिङ्टन। ब्राजिलका राष्ट्रपति जेयर बोल्सोनारो संयुक्तराज्य अमेरिकाका राष्ट्रपतिसँग भेटवार्ता गर्न आइतबार वासिङ्टन डिसी आएका छन्। दुबै राष्ट्रपतिले मुख्यरुपमा भेनेजुएला सङ्कटका बारेमा छलफल गर्ने समाचारमा जनाइएको छ।

राष्ट्रपति बोल्सोनारोका मन्त्रिपरिषदका छ सदस्य पनि समावेश छन्। ब्राजिलका विदेश मन्त्री अर्नेस्टो आराउजो, अर्थ मन्त्री पाउलो गुडेस र कानुन मन्त्री सर्जेइ मोरो भ्रमण दलमा सहभागी छन्।

बोल्सोनारोले वासिङ्टनमा आइपुगेपछि गर्नुभएको ट्वीटमा भन्नुभएको छ, “अमेरिका विरोधी नरहेका पहिलो राष्ट्रपति अमेरिका भ्रमणमा आइपुगेको छ। यो वर्षौंपछि पहिलो पटक हुन लागेको छ।”

राष्ट्रपति बोल्सोनारोको जनवरी १ मा कार्यभार सम्हालेयता कुनै राष्ट्रको पहिलो औपचारिक भ्रमण हो। यसअघि उनी गत जनवरीमा स्वीट्जरल्यान्डमा आयोजित डाभोस बैठकमा सहभागी भएका थिए।

राष्ट्रपति बोल्सोनारो मङ्गलबार स्वदेश फर्कनेछन्। ह्वाइट हाउसको बाहिर दर्जनौं प्रदर्शनकारीले बोल्सोनारोको विरुद्धमा नाराजुलुस गरेका थिए। उनीमाथि अधिकारकर्मी मारिएला फ्रान्कोको हत्यामा संलग्न रहेको आरोप छ। प्रहरीले भने फ्रान्कोको हत्यामा राष्ट्रपतिको कुनै संलग्नता नरहेको दाबी गरेको छ।

अमेरिकी राष्ट्रपति ट्रम्प र ब्राजिलका राष्ट्रपति बोल्सोनारो दुबैमाथि दक्षिणपन्थीको आरोप लाग्ने गरेको छ। अमेरिकी महादेशका यी दुई विशाल भूगोल र जनसंख्या भएका देशबीच पछिल्लो समय क्षेत्रीय मामिलामा एकमत देख्न पाइन्छ।

भेनेजुएला सङ्कटका बारेमा संयुक्तराज्य अमेरिका र ब्राजिलले त्यहाँका विपक्षी नेता हुवाँ गुएइदोको समर्थन गरेका छन्। दुबै मुलुकले भेनेजुएलाका राष्ट्रपति निकोलास मदुरोलाई सत्ताच्यूत गर्न चाहेका छन्।

ब्राजिल फर्किएलगत्तै राष्ट्रपति बोल्सोनारोले चिली र मार्चको अन्त्यमा इजरायलको भ्रमण गर्नेछन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ