arrow

प्रतिनिधिसभा बैठक अवरुद्ध : लाल प्रतिवेदन सार्वजनिक गर्न माग

logo
प्रकाशित २०७५ चैत १० आइतबार
rajapas.JPG

काठमाडौँ । राष्ट्रिय जनता पार्टी नेपालले तराई मधेशमा भएको आन्दोलनको छानबिन गर्न गिरीशचन्द्र लालको नेतृत्वमा गठित आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै प्रतिनिधिसभाको आजको बैठक अवरुद्ध गरेको छ ।

बैठकको शुरुमै राजपाका सांसदहरुले आसनबाट उभिएर विरोध जनाएपछि सभामुख कृष्णबहादुर महराले सांसद लक्ष्मणलाल कर्णलाई बोल्ने समय दिएका थिए । मधेशमा भएको आन्दोलनको छानबिन गर्न सरकारले सर्वोच्च अदालतका पूर्वन्यायाधीश गिरीशचन्द्र लालको नेतृत्वमा आयोग गठन गरेको थियो ।

सांसद कर्णले आफूहरुले सो आयोगको प्रतिवेदन सार्वजनिक गर्न पटक पटक माग गरे पनि सरकारले सुनुवाइ नगरेपछि संसद् अवरोध गर्नुपरेको बताए । उहाँले यसअघि आफूहरुको मागअनुसार सभामुखबाट प्रतिवेदन अविलम्ब सार्वजनिक गर्न निर्देशन जारी भए पनि अझै सार्वजनिक नभएको जानकारी गराउनुभयो ।

सानो विषयमा पनि पटक पटक माग गर्दा सरकारले सुनुवाइ नगरेको भन्दै सांसद कर्णले यही अवस्थामा रही रहे बैठक अवरोध गर्ने बताउनुभयो । बैठकमा सभामुखले आफ्नो निर्देशन सरकारले सकारात्मक ढङ्गले जवाफ दिइसकेकाले अवरोध नगर्न आग्रह गर्नाका साथै आसन ग्रहण गर्न आग्रह गरे पनि राजपाका सांसदले उभिएर विरोध जारी राखेपछि बैठक १० मिनेटका लागि स्थगन गरिएको थियो ।

राजपाका सांसदहरुले १० मिनेट पछिको बैठकमा पनि विरोध जनाएर आसनबाट उठेपछि सभामुखले बैठकमा प्रधानमन्त्रीको सम्बोधन रहेकाले बैठक अवरुद्ध नगर्न आग्रह गर्नुभएको थियो । सभामुखको आग्रहपछि बैठक निरन्तर सञ्चालन भएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ