arrow

स्थानीय तहले रोक्यो छाउ गोठमा बस्नेको सेवा सुविधा

logo
विमलबहादुर विष्ट,
प्रकाशित २०७५ चैत १० आइतबार
Chaupadi-sketch.jpeg

डोटी । जिल्लाको पूर्वीचौकी गाउँपालिकाले आफ्नो गाउँपालिकाभरिमा छाउपडी गोठमा बस्नेलाई स्थानीय तहले प्रदान गर्ने सेवा सुविधामा रोक लगाउने भएको छ । पूर्वीचौकी गाउँपालिकाको सहयोगमा सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्रले पूर्वीचौकी गाउँपालिका–५ काँडामाडौँमा आयोजना गरेको कार्यक्रममा गाउँपालिका अध्यक्ष दीर्घराज बोगटीले छाउपडी गोठमा बस्नेलाई स्थानीय तहले प्रदान गर्ने सबैखाले सेवा सुविधामा रोक लगाउने बताए ।

उनले भने, “महीनावारी भए छाउगोठमा बसे सबै सेवासुविधा कटौती गर्छौं, सफासुग्घर हुनुस् घरैमा बस्नुहोस् ।” पूर्वीचौकी गाउँपालिकासँगै डोटी जिल्ला र सुदूरपश्चिम प्रदेश क्षेत्र छाउपडी प्रथाका नाममा बदनाम भइसकेको र छाउपडीलाई जानाजान प्रथाका रुपमा मान्नेलाई आफूले प्रदान गर्ने सेवा सुविधामा रोक लगाउने उनले बताए ।

उक्त कार्यक्रमलाई सम्बोधन गर्दै डोटीका प्रजिअ यादव सुवेदीले छाउपडीलाई कुप्रथा र अपराधका रुपमा लिइसकेकाले कसैले पनि छाउपडीका नाममा अपराध गर्न नहुने बताए । उनले भने, “छाउपडी प्रथा अपराध मानिएको छ, अपराधजन्य काम कसैले गर्नु भएन ।”

डोटीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक विद्यानन्द माझीले छाउपडीलाई प्रथाका रुपमा लिई असुरक्षित तवरले गोठमा बस्ने विषयमा गाउँगाउँमा जनचेतना फैलाउनु पर्ने र अटेरी गरेमा कानूनी कारवाही गर्नुपर्ने बताए । उनले भने, “जबर्जस्ती छाउगोठमा राख्नेलाई कारवाही नगरेसम्म यो प्रथा हट्ने देखिन्न ।”

गाउँमा छाउपडीका विषयमा जानकारी नभएर नभई बुझेर बुझ पचाएका कारण समस्या भएको पूर्वीचौकी गाउँपालिकाका उपाध्यक्ष निर्मला साउदले बताए । उनले भने, “छाउपडी हटाउन सुरक्षित तवरले घरभित्र बस्नेहरुलाई पुरस्कृत र कुप्रथा मान्नेलाई कानूनी सजाय गर्न जरुरी भएको छ ।”

लैङ्गिक समानता तथा सामाजिक समावेशीकरणसम्बन्धी कार्यक्रम भए पनि कार्यक्रमका अधिकांश वक्ताले छाउपडी प्रथाकै विषयमा समय खर्चेका थिए । सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्रले जिल्लाका विभिन्न स्थानमा पछिल्लो समय स्थानीय तहसँगको समन्वय र सहयोगमा समुदाय प्रहरी साझेदारी कार्यक्रम गरिरहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ