arrow

प्रश्नपत्र बाहिरिएपछि विद्यार्थी आन्दोलित, शिक्षक नियन्त्रणमा

logo
प्रकाशित २०७५ चैत १५ शुक्रबार
see_(2).jpg

सप्तरी । माध्यमिक शिक्षा परीक्षा (एसइई)अन्तर्गत शुक्रबार अनिवार्य सामाजिक अध्ययन विषयको परीक्षा स्थगित भएपछि विद्यार्थी आन्दोलित भएका छन् । परीक्षार्थीको भविष्यसँग खेलवाड भइरहेको भन्दै विद्यार्थीले राजविराजमा विरोध प्रदर्शन गरेका थिए ।

परीक्षाअगावै प्रश्नपत्र बाहिरिएपछि बिहीबारको विज्ञान विषयको परीक्षा रद्द गरिएको थियो । सामाजिक विषयको प्रश्नपत्र पनि बिहीबार रातिनै सामाजिक सञ्जालमा आएपछि आजको परीक्षा पनि स्थगन गरिएको जिल्ला शिक्षा विकास तथा समन्वय एकाइ समितिका प्रमुख शङ्करराज लुइँटेलले जानकारी दिए । परीक्षा स्थगित भएपछि विद्यार्थीले नाराबाजी गर्दै जुलुशसहित राजविराज नगर परिक्रमा गरेका थिए । प्रहरी नायब उपरीक्षक भावेश रिमालले सुरक्षित साथ राखिएको प्रश्नपत्र सप्तरीबाट नभई अन्यत्रबाट नै बाहिरिएको बताए ।

“शिलबन्दी गरिएको प्रश्नपत्र परीक्षा शुरु हुनुभन्दा आधा घण्टा अघि मात्र परीक्षा केन्द्रमा पुर्‍याइने गरिन्छ”, उनले भने। शिक्षा एकाइ समन्वय समितिका प्रमुख लुइँटेलले पनि प्रश्नपत्र अन्यत्रबाटै बाहिरिएको बताए । एक दिनअगावै प्रश्नपत्र बाहिरिएपछि बिहीबार प्रदेश नं २ मा विज्ञान विषयको परीक्षा रद्द गरिएको थियो । राष्ट्रिय परीक्षा बोर्डको निर्देशनमा शुक्रबारको परीक्षा पनि स्थगित गरिएको छ ।

आगामी दिनको परीक्षा स्थगित हुने वा सञ्चालन हुने भन्नेबारे विद्यार्थी दोधारमा छन् । मोबाइल र सामाजिक सञ्जालबाट प्रश्नपत्र बाहिर ल्याउने कार्यमा संलग्न भएको आरोपमा प्रहरीले विभिन्न विद्यालयका शिक्षकलाई नियन्त्रणमा लिई अनुसन्धान थालेको छ । राष्ट्रिय परीक्षा बोर्ड बैठकले प्रश्नपत्र बाहिरिएको विषयमा अध्ययन अनुसन्धान गरेर १५ दिनभित्र प्रतिवेदन पेश गर्न चार सदस्यीय छानबिन समिति गठन गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ