arrow

सुब्बाहरुले घरमा राख्दै आएको ऐतिहासिक दुई निशान संग्राहलयमा राखिने

logo
जितेन्द्र भण्डारी,
प्रकाशित २०७५ चैत १७ आइतबार
nishan_photo.JPG

पाँचथर ।  प्रत्येक दशैंको नवमीका दिन प्रदर्शन गरेपछि सुब्बाहरुले पालै पालो राख्ने गरिएका श्रीकम्पु र श्रीजङगी निशानलाई अब संग्राहलयमा राखिने भएको छ । याङवरक गाउँपालिका वडा नं. ४ स्थित थर्पुमा चैत्र १५ गतेदेखि तीन दिनसम्म सञ्चालन भएको सुब्बाहरुको सम्मेलनले सो निर्णय गरेको हो ।

घर–घरमा निशाना राख्दा खर्च हुने गरेकोले त्यसको जिम्मेवारी लिएका लिम्बूहरुको आर्थिक अवस्था कमजोर बनाएको निष्कर्ष निकाल्दै अब संग्राहलय निर्माण गरेर संग्रहित गर्ने तयारी गरिएको स्थानीय अमर तावाले बताए।

शाहा वंशले गोर्खा राज्य विस्तार गर्ने क्रममा पूर्वमा लिम्बूहरुलाई पराजित गर्न नसकेपछि सो क्षेत्रका भूमि लगायतका अन्य व्यवस्था हेर्ने अधिकार दिने गरी सुब्बा कायम गरी निशाना प्रदान गरेको इतिहासका अध्येता चन्द्रप्रसाद योङयाले बताए । नेपालमा भूमि व्यवस्थापन गर्ने भन्दै नापी लागू भएपछि सुब्बाका ति अधिकार खोसिएकाले ति सामग्रीहरुलाई परापूर्वकाल जस्तो व्यवस्थापन गर्न कठिनाई भएको उनले जानकारी दिए। याङवरक गाउँपालिकाको थर्पुमा प्रदर्शन गरिने निशानमध्ये श्रीकम्पु तर्फ १३ थरीका २२ सुब्बा र श्रीजङ्गी तर्फ १६ थरीका ५२ सुब्बा रहेका छन् ।  

सम्मेलनको उद्घाटन गर्दै १ नं. प्रदेशका प्रमुख प्रा.डा. माननीय गोविन्दबहादुर तुम्बाङले इतिहास र संस्कृतिको जगेर्ना गर्नु पर्ने बताएका थिए ।

सम्मेलनले ति निशानहरुलाई व्यवस्थापन गर्न रणबहादुर तावाको अध्यक्षतामा ३१ सदस्यीय व्यवस्थापन समिति गठन गरेको छ । समितिको उपाध्यक्षमा शर्ण लक्सम, सचिव महेन्द्र सेलिङ, सहसचिव धनकुमार योङहाङ र कोषाध्यक्षमा कलिन्द्र तावा चयन भएका छन् ।

अन्य विभिन्न थरी र सुब्बाहरुलाई मिलाएर समिति चयन गरिएको अध्यक्ष तावाले जानकारी दिए । समितिले विषय विज्ञहरुसँग परामर्श गरी चाँडै संग्राहलय निर्माण गर्ने समेत उनले जानकारी दिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ