arrow

चौथो नदी शिखर सम्मेलन कालीगण्डकी नदीमा गर्ने घोषणा सहित तेस्रो नदी सम्मेलन सम्पन्न

logo
सीता डोटेल, 
प्रकाशित २०७५ चैत १८ सोमबार
kali.jpg

पाल्पा । अबको चौथो नदी शिखर सम्मेलन कालीगण्डकी नदीमा गर्नेसहित बिभिन्न १५ बुंदे घोषणा पत्र जारी गर्दै कर्णालीमा भएको चार दिने तेस्रो नदी शिखर सम्मेलन सकिएको छ । 

कर्णाली नदीको किनार दैलेखको पर्यटकीय राकम कर्णालीमा सहभागी विभिन्न देशका नदी विद् तथा नेपालका दर्जन बढी नदी क्षेत्रका प्रतिनिधि सहभागी सम्मेलनले आगामी २ बर्ष पछि हुने चौथो नदी शिखर सम्मेलन शालिग्राम शिला पाइने एकमात्र नदी कालीगण्डकी नदीमा गर्ने घोषणा पत्रमा समेटेको छ ।

 ‘‘जीवनका लागि नदीको व्यवस्थापन’’ नारा सहित भएको सम्मेलनले अव्यवस्थित शहरीकरण र प्रदुषणबाट नदीको जिवन समाप्त हुने हुँदा यसको सभ्यता जोगाई प्रभावकारी समाधानको लागि आबश्यक कदम चाल्ने, जलबिद्युत्तको विकासमा हिमाल तराई पहाडमा दीर्घकालिन प्रतिकुल प्रभाव पर्न सक्ने हुँदा समग्रमा पर्ने प्रभाव मुल्याङ्गन र त्यस क्षेत्रको रणनितिक व्यवस्थापन अध्ययन गरेर मात्र अगाडी बढ्नुपर्ने, संरक्षणबाट सिमान्तकृत र प्राकृति स्रोतमा निर्भर समुदायको हितमा हुनुपर्ने, एकीकृत भुउपयोग योजना बनाएर कार्यान्वयन गर्नुपर्ने र जथाभावी विकासलाई निषेध गर्नुपर्ने, मौसम जस्तो पुर्वानुमान प्रविधि जस्तै नदीजन्य प्रकोपको पुर्व तयारी गर सुचना दिन शसक्त बनाउने, जलविद्युत्त उत्पादन लाइसेन्सको बजारीकरणमा बिरोध गर्दै तत्काल बन्द गर्न आह्वान समेत गरेको छ । 

जलचरको संरक्षणमा संघ, प्रदेश तथा स्थानीय तहमा जलीय जैविक विविधता कानुन तर्जुमा गर्ने र कार्यान्वयन गर्ने, ऐतिहासिक प्राकृतिक तथा सांस्कृतिक महत्व बोकेको कर्णाली नदीलाई विश्व सम्पदा सुचीमा राख्ने त्यसका लागि नदीको ५ किलोमिटर क्षेत्रलाई नदी क्षेत्र कायम गरि संरक्षण र भावी सन्ततिको अधिकारका रुपमा नदीलाई स्वतन्त्र रुपमा बग्न पाउने गरि राख्ने र कर्णालीका धार्मिक, सांस्कृतिक तथा प्राकृतिक पर्यटन विकास गर्दै व्यापक प्रचार प्रसार गर्ने साथै पर्यापर्यटनको हब बनाउने, आगामी २ बर्षमा ५ नम्बर प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेश समेट्ने गरि राकम कर्णालीदेखि टिकापुर कैलालीसम्मको क्षेत्रमा ¥याफ्टिङ दौड प्रतियोगिता गर्ने, नदी पर्व र नदीसँग जोडिएका पर्वलाई राष्ट्रिय पर्वका रुपमा मनाउने लगायतका निर्णय गर्दै घोषणा पत्र जारी गरिएको हो ।  

राकममा भएको सम्मेलनमा बिभिन्न देशबाट भेला भएका नदी विज्ञ र सरकारका उच्च पदस्थ प्रतिनिधिको उपस्थिति रहेको थियो । नदी किनारमा ४ दिनसम्म चलेको छलफलमा जलिय जैविक विविधता र यसले मानव तथा वातावरणमा पार्ने प्रभाव, संभावना, नदी र समुदायका अनुभवहरुका  बिषयमा अमेरिका, क्यानाडा, भारत, बंगलादेश लगायतका देशका विज्ञहरु र नेपालका नदीविद्हरु बीच छलफल भएको हो । 

यस्तै नदी संरक्षणमा नेपाल बाहिरको अनुभव र दिगो जलविद्युत सम्बन्धी पनि छलफल भएको थियो । छलफलमा जलिय जैविक विविधता मात्र नभई मानव जिवनमा पर्न सक्ने असरका बारेमा समेत चर्चा गरिएको थियो । 

रामपुर नगरपालिकाका पाल्पाका नगर प्रमुख रमण बहादुर थापाले अस्तित्व जोगाएको नदीको बहाव नै मोडेर अन्त लैजाँदा त्यस भन्दा तल्लो क्षेत्रमा पर्न सक्ने वातावरणीय असर र यसले जलचर मात्र नभएर मानव जीवनमा पार्ने असरका बारेमा बिज्ञहरुसग छलफल गरेका थिए ।  

कालीगण्डकी उपत्यका विकासका अभियान्ता शान्त बहादुर श्रेष्ठले प्राकृतिक सम्पदा नदीलाई बङ्याएर अर्को तर्फ मोड्दा तल्लो क्षेत्रका आम नागरिकलाई पर्ने असर र त्यसको अध्ययनबारे त्यस भेगका नागरिकले पाउनुपर्नेमा जानकारी के रहन्छ भन्ने बारे आफ्ना भनाई राखे । उनले नदीको उचित प्रयोग साटो नदी डाईभर्सनले पार्ने प्रभावबारे स्थानीय नै अनभिज्ञ हुनुपर्ने अबस्था आउनु दुःखद भएको बताए ।    

नदीहरु नियमित प्रवाह बदलिएका कारण तल्लो तटीय क्षेत्रमा ठुलो समस्या देखा पर्न थालेको वातावरण विद् नारायण रिजालले बताए । उनले आयोजना बलाउन प्राकृतिक प्रवाह परिवर्तन गर्दा ठुलो क्षेत्र सुख्खा भएको र यसले मानव जिवन प्रभावित भएको समेत बताए । विद्युत्त र सिंचाईमा व्यापारिक फाइदा हेर्दा यसको वातावरणलाई ख्याल नगर्दा बर्षेनि समस्या थपिएको वातावरणीय अध्येता सुनिता धौवन्जारले बताइन् । 

  नेपालका विभिन्न भुभागबाट आएका नदी संरक्षण अभियान्ताहरु, प्रदेश तथा स्थानिय सरकारका प्रतिनिधीहरु, त्रिभुवन विश्वविद्यालय, काठमाण्डौं विश्वविद्यालय, मध्य पश्चिम विश्व विद्यालयका अनुसन्धानदाता र विद्यार्थीहरु तथा नदीमा आधारित जिवनयापन गरिरहेका विभिन्न समुदायका प्रतिनिधीहरु सम्मेलनमा सहभागी भएका थिए ।

 छलफलमा नदी विदहरुले जलविद्युत लगायतका ठुला संरचनाको निर्माण, अव्यवस्थित फोहोर विर्सजन गर्ने चलन, वन विनास र जथाभावी भारी उपकरणको प्रयोगले स्वतन्त्र बहाव भएका नदी र यस भित्रको जलिय जैविक विविधता माथी चुनौती थपिदै गएको तर्फ सचेत गराएका छन् । अन्धाधुन्द तरिकाले नदीजन्य पदार्थको दोहनका कारण पनि माछा लगायत पानीमा बस्ने प्रजातीहरुको अस्तित्व संकटमा रहेको प्रति उनीहरुले सचेत गराएका छन् । 

 सम्मेलनले नदी क्षेत्रमा देखिएका समस्या र समाधानका उपायको वारेमा सरकार र सरोक रवालालाई सुझाव सहितको घोषणा पत्र गरेको हो । त्यसलाई कार्यान्वयन गर्नका लागि विभिन्न तहका सरकार र समुदाय सँग समन्वय र छलफल गरिने आयोजक नदी संरक्षण कोषका अध्यक्ष मेघ आलेले बताए । 

कर्णाली नदी किनारको समथर रहेको भुभागमा १ सय ५० टेण्ट सहित सबै सुविधा सहित ४ दिने सम्मेलन सफल बनाएको हो । सम्मेलनमा विभिन्न देशका विज्ञ प्रतिनिधि सहित नेपाली गरि तीन सयको सहभागिता रहेको थियो । 

नेपाल नदी संरक्षण कोष, कर्णाली प्रदेश सरकार, दैलेखको आठविस नगरपालिका र अछामको पञ्चदेवल विनायक नगरपालिका लगायतको आयोजनामा भएको यस कार्यक्रममा युएसएआइडी पानी परियोजना लगायतका सघंसस्थाको सहयोग थियो ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ