arrow

मेरा आफ्ना

logo
मोहन सिटौला
प्रकाशित २०७५ चैत १९ मंगलबार
mohan-sitoula-2019.jpg

आफ्नो जन्मथलो र यी छविहरू सुश्रेय हुन् सृष्टिमा
आफ्नै जन्मसँगै छ शब्दसुषमा सुप्रेय भाषा जहाँ
पाइलाहरू पुग्दछन् यी सहजै उत्सुक औ विस्मयी
लिंदै भाव, विभावका दिलहरू पर्दा खोली चिन्मयी 
आफ्नो रुप, स्वभावका, चलनका, संस्कार, सुश्रेयका
संस्कृति प्रिय मान्यता सहजका सँगै रहन्छन् सदा ।

मिल्दाहुन् अरु साथमा दिलहरू सुमानवी ढङ्गले 
खिल्दाहुन् सुकथा सुखी दिवस नै सुखी, खुशी कार्यले
यो संसार विशाल नै छ यसमा लाखौं करोडौंपना
कला, काव्य र रङ्ग, ढङ्ग विविधा भाषा, भुषा, कल्पना
मिल्नै पर्छ मिजासले मनुजले सम्मानले, प्रेमले
हाम्रो पूर्व सुसंस्कृति निशिदिनै गाउँछ यै मङ्गले 
मान्छेको ममता, सुकार्य, क्षमता, विवेक, स्वप्नामयी 
नीति, न्याय र ईशभाव दिलको हो धर्म हो मानवी 
सारा विश्वनिकायका मनहरू, सुशास्त्र औ सभ्यता 
भन्छन् ज्ञान महान् हो मनुजको कल्याणको स्निग्धता !

नेपालै छ पवित्र ! विश्व भरमा प्यारो, मीठो चित्तको       
मेरो जन्मभूमि छ उच्च तहको, सौन्दर्यको, सीपको
प्रकृति प्रिय संस्कृति छ जसमा वैभिन्य स्वरूपको
जस्ले बास्दछ सुप्रभात सुरिलो आवाज सन्दूरको 
ल्याई बाल्दछ शुक्र तारक आहा ! पूर्वीय आकाशमा  
निम्त्याई नव चेतना हृदयमा स्वर्णीम यो प्रातमा !
रात्री गैगो नि, आए सुखमय सबला प्रातकालीन आए 
चक्र्यो पूर्वी आकाशै सुमधुर रङ्गले कान्ति स्वर्णीम ल्याए
पाए नौला सुरङ्गी लहर रहरका नव्य दिवा उदाए
झुल्के नौरङ्गी नाना रङ्ग र रमिता नव्य विप्ना खुलाए !

मेरी प्यारी सुप्रीया शुभसुखमयी म्लानमा बस्दथिन् ती
त्यस्तो ठण्डी गयो नी ! अब जगतमा भव्य झुल्क्यो वसन्ती !
यस्ता सम्बेग साँच्चै हरहर मनमा उठ्दछन् गाउँ, देश  
सम्झिन्छु, लाग्छ ज्यूँनै मन अधिक उठी सुन्छु सन्देश बेस !!!
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ