arrow

थाइल्याण्डमा नेपालीहरुको इतिहास सार्वजनिक

logo
प्रकाशित २०७५ चैत १९ मंगलबार
thailand-nepali.jpg

थाइल्याण्ड । थाइल्याण्डका नेपाली आप्रवासीहरुको कथा समेटिएको पुस्तक 'थाइल्याण्डमा नेपालीहरुको इतिहास' पुस्तक बैंककमा बिमोचन गरिएको छ। असी वर्षभन्दा बढी लामो समयदेखि थाइल्याण्डमा बसोबास गरिरहेका नेपाली डायस्पोराको बारेमा वर्षदिन लामो अध्ययन र अनुसन्धानपछि यो पुस्तक सार्वजनिक गरिएको हो । थाइल्याण्डका नेपालीहरुको संस्था थाइ नेपाली संघको यही मार्च ३० र ३१ मा सम्पन्न पाँचौ महाधिवेशनमा पुस्तकको लोकार्पण गरेको हो । पुस्तकको लोकार्पण थाइल्याण्डका लागि नेपाली राजदुत डा.खगनाथ अधिकारी लगायतका अतिथिहरुले गरेका थिए ।

पुस्तकले नेपालीहरुको आप्रवासन र थाइल्याण्डमा नेपालीहरुको इतिहासबारे लुकेका तथ्यहरु बाहिर ल्याएको छ । बर्मासँग सीमा जोडिएको थाइल्याण्डको पिलोक भन्ने ठाउँमा माईनको काम गरेर सुरु भएको नेपालीहरुको थाइल्याण्ड आप्रवासनको कथालाई पुस्तकले समेटेको छ । अघिल्लो वर्ष थाइ नेपाली सङ्घले थाइल्याण्डमा नेपालीहरूको इतिहासका सन्दर्भहरूको खोजी गर्ने निर्णय गरेको थियो । इतिहासको अध्ययन गर्ने यो सिलसिलाले नै थाइल्याण्डमा नेपालीहरूको इतिहासको महत्त्वपूर्ण पक्ष उजागर गर्ने प्रयास गरेको छ । यसले इतिहासका महत्त्वपूर्ण सन्दर्भहरूको खोजी गरेको छ । उनीहरूको दैनिक जीवन, रहनसहन र चालचलनलाई अध्ययन गरेको छ । एउटा पहाडको टुप्पोमा नेपालीहरुले बिताएका करीव ५० वर्ष र त्यस क्रममा देखिएका र अनुभव गरेका कुराहरुलाई पुस्तकले समेटेको छ । पिलोकभन्दा अघि थाइल्याण्डमा माईन सुरु नभएको र त्यसमा नेपालीहरुको संलग्नता भएको तथ्य पनि पुस्तकले बाहिर ल्याएको छ ।
 
आफ्नै विशेष धर्म, संस्कृति, रीतिरिवाज र परम्परा बोकेर करीब पचास वर्षको अवधि पिलोक बसेका नेपाली मूलका मानिसहरू लामो समय अनागरिकको रूपमा रहेको तथ्य पनि यसले बाहिर ल्याएको छ । उनीहरूको अनागरिकदेखि थाइ नागरिकसम्मको यात्राको सन्दर्भ पनि पुस्तकमा समावेश गरिएको छ । पिलोकमा लामो समय बिताएका बूढापाका र अनुभवी मानिसहरू, थाइ नागरिकहरू, थाइ सरकार र सुरक्षा अङ्गमा रहेर काम गरेका करीब २ सयभन्दा बढी स्रोत व्यक्तिहरुसँगको कुराकानी, थाइल्याण्डमा भएको नेपालीहरुको आप्रवासनका ऐतिहासिक दस्तावेजहरुको अध्ययनपछि यो पुस्तक तयार गरिएको हो ।

पुस्तकले नेपाली मुलका मानिसहरुको पुरानो दिनचर्या र उनीहरुको इतिहासलाई बाहिर ल्याएको र यो महत्वपूर्ण सुरुवात भएको प्रमुख अतिथि नेपाली राजदुत अधिकारीले बताए । आउँदो समयमा अरु धेरै कुरा थप्न सकिने भएकाले यो इतिहासको दस्तावेजले नेपाली मुलका मानिसहरुको बारेमा महत्वपूर्ण जानकारी दिएको उनले बताए। कार्यक्रममा विशेष अतिथि भान्ते डा.अनिल शाक्यले थाइल्याण्डमा नेपालीहरुको इतिहासको बारेमा चर्चा गरेका थिए । म्यान्माबाट आएका अखिल म्यान्मा देशीय हिन्दू धार्मिक संघका अध्यक्ष सागर घिमिरे र संरक्षक मणिलाल पौडेलले संघले नेपालीहरुलाई जोड्न दश वर्षमा नै महत्वपूर्ण काम गरेको बताए ।

थाइ नेपाली संघका अध्यक्ष कुमार कार्कीले थाइल्याण्डमा जन्मे हुर्केका आजका र भावी पुस्तालाई समेत पुख्र्यौलीहरुको महत्वपूर्ण कुरा जानकारी दिन इतिहासको पुस्तक सहयोगी हुने विश्वास व्यक्त गर्नुभयो । कार्यक्रममा संघका संरक्षक डेभिट खनाल लगायतका व्यक्तिहरुले पनि मन्तव्य व्यक्त गरेका थिए । पुस्तकका लेखक तथा सम्पादक रमेश खड्काले थाइल्याण्डमा नेपाली आप्रवासीको यो दस्तावेजले मौखिक इतिहासमा सीमित कुरालाई लिखित दस्तावेजको रुपमा बाहिर ल्याएको र यसले आफूलाई खुशी दिएको बताउनुभयो । दुईदिन संचालन भएको महाधिवेशनले कुमार कार्कीको अध्यक्षतामा संघको नयाँ कार्यसमिति गठन गर्नुको साथै यसका विभागहरुको पनि गठन गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ