arrow

असिनापीडितलाई राहत दिन माग

logo
प्रकाशित २०७५ चैत २४ आइतबार
asina-pani.jpeg

सुर्खेत । कर्णाली प्रदेशसभामा दैलेखबाट प्रतिनिधित्व गर्ने सदस्यले हावाहुरी र असिनापानीले करोडौं क्षति पुर्‍याएको भन्दै राहत तथा क्षतिपूर्ति दिलाउन प्रदेश सरकारको ध्यानाकर्षण गराएका छन् । प्रदेशसभाको आज बसेको बैठकमा विशेष समय लिएर बोल्दै सांसदहरुले २४ घण्टाभित्र अनुगमन समिति गठन गरी क्षतिपूर्तिको घोषणा गर्न माग गरेका हुन् ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रदेशसभा सदस्य मीनासिं रखालले यही चैत २२ र २३ गते आएको हुरीबतास र असिनापानीले दैलेखको क्षेत्र नं २ मा करोडौं मूल्य बराबरको अन्नबाली, फलफूल नष्ट गरेको जानकारी गराइन्। उनले क्षतिको मूल्याङ्कनका लागि तत्काल अनुगमन समिति गठन गरी क्षतिपूर्ति उपलब्ध गराउन प्रदेश सरकारसँग माग गरिन्।

नेपाली काङ्गे्रसका प्रदेशसभा सदस्य हिमबहादुर शाहीले असिनापानीले सिङ्गो जिल्ला प्रभावित हुँदासमेत प्रदेश सरकार मौन बसेको भन्दै आक्रोश पोखे। दैलेखकै अर्का प्रदेशसभा सदस्य सुशीलकुमार थापाले पाँचवटै स्थानीय तहमा असिनापानी र हावाहुरीले ठूलो क्षति पुर्‍याएकाले तत्काल राहत प्याकेज घोषणा गर्न जोड दिए।

जुम्लाका प्रदेशसभा सदस्य पदम रोकायाले कर्णाली राजमार्गको कालीकोट र दैलेखको सीमा क्षेत्र दहीखोलामा खसेको पहिरो हटाउन माग गरे। पहिरो खसेको तीन दिन बितिसक्दासमेत यातायात सुचारु नहुँदा यात्रुले सास्ती भोग्नुपरेको उनको भनाइ थियो । साथै, उनले प्रदेश सरकारले मातहतका निकायलाई बजेट खर्चको अख्तियारी नदिँदा विकास योजना अझैं सञ्चालन हुन नसकेको बताए।

दुई विधेयक विषयगत समितिमा
प्रदेशसभा बैठकले थप छलफलका लागि दुई विधेयकलाई विषयगत समितिमा पठाउने निर्णय गरेको छ । ‘खाद्य उत्पादन, अधिकार तथा सम्प्रभूता सुनिश्चित गर्न बनेको विधेयक’लाई सामाजिक विकास समिति तथा ‘सार्वजनिक र निजी क्षेत्रको साझेदारीको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ लाई अर्थ तथा प्राकृतिक स्रोत समितिमा पठाउने निर्णय सर्वसम्मत पारित गरेको हो ।

दुइटै विधेयकलाई थप छलफल आवश्यक रहेको भन्दै सरकारका तर्फबाट आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले समितिमा पठाउन प्रस्ताव बैठकमा पेश गर्नुभएको थियो । त्यस्तै, बैठकमा ‘प्रदेश लोकसेवा आयोगको काम, कर्तव्य र अधिकारका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ माथि सैद्धान्तिक छलफल शुरु भएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ