arrow

आचार्य हत्या प्रकरण : दोषी पत्ता नलाग्दा पीडित परिवारलाई थप पीडा

logo
रासस,
प्रकाशित २०७५ चैत २७ बुधबार
Surkhet-hamrakura-news.jpeg

सुर्खेत। वीरेन्द्रनगर–१ निवासी व्यवसायी चन्द्रप्रसाद आचार्यको शङ्कास्पद मृत्यु भएको ४० दिन बित्यो। प्रहरीले आचार्यको हत्याको भएको स्वीकार गरे पनि घटनामा संलग्नको भने अझै पहिचान गर्न सकेको छैन।

यही फागुन १८ गते वीरेन्द्रनगर–६ बुद्धपथ नजिकै आचार्यको शव रक्ताम्य अवस्थामा फेलापरेको थियो। परिवारका सदस्यले हत्यामा संलग्नको पहिचान गरी कानूनी कारवाही गर्ने प्रहरीले आश्वासन दिए पनि अनुसन्धानमा चासो नदिएको आरोप लगाएका छन्। छोरी सङ्गीताले प्रहरीले चित्तबुझ्दो अनुसन्धान नगरेको दुखेसो पोखिन्। “बुबाको स्वभाविक मृत्यु भएको भए हामीलाई यति तनाव हुन्थेन”, उनले भनिन्, “हत्या हुँदासमेत प्रहरीले घटनालाई हल्कारूपमा लियो, हामी परिवारलाई पीडामाथि पीडा भोग्नुपर्‍यो।”
 
वीरेन्द्रनगर जुम्लारोडमा चिया–नास्ता पसल सञ्चालन गर्दै आएका आचार्य फागुन १८ गते बैंकमा खाता खोल्नुछ भन्दै दिउँसो घरबाट निस्किएका थिए। दिनभर नास्ता पसलमै रहेका उनी सोही दिन राति साढे १० बजे बुद्धपथमा मृतावस्थामा फेला परेका थिए।

आचार्यको शरीरमा गहिरो चोट भए पनि शव भेटिएको स्थानमा रगत नदेखिएकाले अन्यत्रै हत्या भएको हुनसक्ने परिवारको दाबी छ। “टाउकोको दुवै भागमा गहिरो चोट र दायाँ भागमा निलडाम थियो”, दाजु भवानीप्रसादले भने, “प्रदेश राजधानीको मुख्य बजारमा भएको घटनाको अनुसन्धानमा भइरहेको ढिलाइले परिवारमा आशङ्का उब्जाएको छ।” शव परीक्षण रिपोर्टमा करङ भाँच्चिएको बताइएको छ। चन्द्रप्रसादको कुनै पनि व्यक्तिसँग लेनदेन, झैझगडा वा मनमुटाव केही नभएको परिवारको भनाइ छ।

सुक्ष्म अनुसन्धान भइरहेको छ : प्रहरी 

उता, जिल्ला प्रहरी कार्यालय सुर्खेतले चन्द्रप्रसाद आचार्य हत्या प्रकरणको सुक्ष्म अनुसन्धान गरिरहेको दाबी गरेको छ। जिल्ला प्रहरीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले अनुसन्धानमा दत्तचित्त भएर खटिरहेको प्रहरीमाथि परिवारकै सदस्यबाट अनावश्यक आरोप लगाउनु दुखद् भएको बताए।

उनले हत्याका ठोस आधारहरु नभेटिएपछि शून्यबाट घटनाको अनुसन्धान गर्नुपरेको बताए। “घटनालाई गम्भीररूपमा लिएका छौँ”, प्रहरी नायब उपरीक्षक क्षेत्रीले भने, “अनुसन्धानकै क्रममा २० बढीलाई सोधपुछ गरिसकेका छौँ। मङ्गलबार पनि दुई जनालाई नियन्त्रणमा लिएका छौँ।’ अनुसन्धान गर्ने बित्तिकै परिणाम नआउने भन्दै यस घटनालाई गम्भीरतापूर्वक लिएर नै प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले पनि अनुसन्धान गरिरहेको उनले जानकारी दिए। प्रहरीले घटनास्थलमा भेटिएका प्रमाणलाई ल्याव परीक्षणका लागि काठमाडौँ पठाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ