arrow

त्रिभुवन विश्वविद्यालयका सबै संकायमा नेपाली विषय अनिवार्य गराउछौँ : प्रा.डा. लुईँटेल

logo
प्रकाशित २०७५ चैत २९ शुक्रबार
manak-bhasa.jpg

काठमाडौं । मानक नेपाली भाषा अभियान अन्तर्राष्ट्रिय सञ्जालका अध्यक्ष प्रा.डा. खगेन्द्रप्रसाद लुईँटेलले त्रिभुवन विश्वविद्यालयका सबै संकाय र अध्ययन संस्थानहरूमा एउटा प्रयोजनपरक नेपाली विषय अनिवार्य गर्नुपर्ने बताएका छन् । आज कीर्तिपुरस्थित त्रिवि, विश्वविद्यालय क्याम्पसको सभाकक्षमा सम्पन्न सञ्जालको दोस्रो वार्षिक साधारण सभालाई सम्बोधन गर्दै अध्यक्ष लुईँटेलले सो कुरा बताएका हुन् । पहिला सबै संकायमा नेपाली विषय अनिवार्य रहेको स्मरण गर्दै उनले कालान्तरमा विभिन्न षड्यन्त्र र आडम्बरी अँग्रेजी मोहका कारण नेपाली विषय हटाइएको तर अब फेरि नेपाली विषय अनिवार्य गर्नुपर्ने बेला आएको लुईँटेलको कथन छ । 

राष्ट्रिय परीक्षा बोर्डअन्तर्गतको कक्षा ११ र १२ मध्ये कक्षा ११ मा मात्रै नेपाली विषय अनिवार्य गरिएकोमा आफूहरूकै पहलमा कक्षा ११ र १२ मा समेत अनिवार्य नेपाली विषय राख्न सफल भएको भन्दै लुईँटेलले त्रिभुवन विश्वविद्यालयमा मात्रै नभई अन्य विश्वविद्यालयहरूमा पनि हरेक संकायमा एक प्रयोजनपरक नेपाली विषय अनिवार्य हुनुपर्ने औँल्याएका छन् । ‘वर्णविन्यासमा भित्र्याइएको जुन बेथिति थियो, एक हिसाबले त्यसको समाधान गरिसकेका छौँ, अबका दिनमा वर्णविन्यासका नेपाली भाषाका समग्र विकासमा कदम अगाडि बढाइनेछ’, लुईँटेलको कथन छ। 

राज्य नै लागेर नेपाली भाषालाई सखाप पार्न लागि परेतापनि आफूहरूको अभियान, सञ्चारमाध्यमको साथ र भाषा प्रयोक्ताको भाषिक मोहका कारण धेरै व्यवस्थाहरू पल्टाउन सफल भएकोमा आफूहरूलाई गौरवको अनुभूति भएको लुईँटेलको भनाइ छ । ‘पहिला लोकसेवा आयोगका हरेक परीक्षामा एउटा नेपाली विषय अनिवार्य रहने गरेकोमा सो पनि हटाइएको छ, अहिले पुनः एउटा नेपाली विषय राख्न पहल भइरहेको छ र त्यसको पनि छिट्टै निर्णय हुनेछ’, लुइँटेलले भने । साथै उनले हरेक उच्च तहका सरकारी निकाय एवं सार्वजनिक संस्थानहरुमा समेत १ जना भाषाविज्ञ राख्नुपर्नेलगायतका सुझावसमेत प्रस्तुत गरेका छन् । 

सो कार्यक्रममा भाषिक मानकीकरणका प्रक्रियाका सम्बन्धमा कार्यपत्र पेश गर्दै त्रिवि, नेपाली केन्द्रीय विभागका प्रमुख एवं नेपाली शिक्षण समितिका अध्यक्ष प्रा.डा. देवीप्रसाद गौतमले भाषाले विभिन्न चरण पार गरी मानकीकरण प्राप्त गर्ने बताउँदै नेपाली भाषाले आवश्यक सबै पार गरी स्तरीय मानक भाषाका रूपमा विकसित भएको बताएका छन् । नेपाली भाषाप्रति सम्मान प्रकट गर्न अँग्रेजी लगायत अन्य भाषाको विरोध गर्नुनपर्ने अभिव्यक्ति दिँदै गौतमले भाषाको निर्धारण प्रयोक्ताको भाषिक आस्थाले गर्ने उल्लेख गरेका छन् । 

दोस्रो साधारणसभाका अवसरमा सञ्जालका महासचिव डा. लक्ष्मणप्रसाद गौतमले साङ्गठनिक प्रतिवेदन पेश गरेका थिए भने कोषाध्यक्ष डा. नारायण गैरेले आर्थिक प्रतिवेदन पेश गरेका थिए । कार्यक्रमलाई सञ्जालका वरिष्ठ उपाध्यक्ष डा. भरतकुमार भट्टराईले गरेका थिए । कार्यक्रममा विभिन्न पेशामा आबद्ध एकसयभन्दा बढी नेपाली भाषाप्रेमीहरूको उपस्थिति रहेको थियो । 

नेपाली वर्णविन्यासमा देखिएका विकृति र बेथितिहरूउपर सरकारी तवरबाटै गल्ती सच्याई मानक नेपाली भाषाको पक्षमा निर्णय भएको अवसर पारी सञ्जालले चैत २९ गतेलाई भाषा दिवसका रुपमा मनाउँदै आएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ