arrow

सडक डिभाइडरमा बुद्ध मूर्ति

logo
प्रकाशित २०७६ वैशाख १ आइतबार
budhha-murti.jpg

बुटवल ।प्रदेश सरकारले घोषणा गरेको लुम्बिनी भ्रमण वर्ष २०७६-७७ को अवसर पारेर रुपन्देहीको तिलोत्तमा नगरपालिकाले नगरभित्र पर्ने सिद्धार्थ राजमार्गको बीच भाग डिभाइडरमा बुद्धका आकर्षक मूर्ति स्थापना गर्ने कामको थालनी गरेको छ ।

लुम्बिनीको पर्यटन प्रवद्र्धनमा टेवा पुर्‍याउने उद्देश्यले लुम्बिनी भ्रमण वर्षको अवसर पारेर तिलोत्तमाले बुटवल भैरहवा व्यापारिक मार्गअन्तर्गत नगरपालिका क्षेत्रमा पर्ने सडकको डिभाइडरमा बुद्ध मूर्ति राख्ने कामको थालनी गरेको हो । तिलोत्तमाको प्रवेशद्वार योगीकुटीमा स्थापना गरिएको बुद्ध मूर्तिको आज प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लीला गिरीले अनावरण गरे । व्यापारिक मार्गको सडक डिभाइडरको २५० देखि ३०० मिटर दूरीमा बुद्ध मूर्ति राखिने नगरपालिकाका प्रवक्ता सुरेन्द्र श्रीले बताए ।

उक्त राजमार्ग खण्डमा पहिलो चरणमा छ लेन निर्माण पूरा भएको मङ्गलापुरसम्म २२ आकर्षक बुद्ध मूर्ति राखिने नगरपालिकाले जनाएको छ । नगरपालिकाले चालू आवको बजेटमा छ लेनमा बुद्ध मूर्ति राख्ने गरी बजेट विनियोजन गरेको थियो । निर्माण सकिएसँगै कोटिहवासम्मकै सडक डिभाइडरमा बुद्ध मूर्ति राख्ने नगरपालिकाको योजना छ ।

छ लेनमा हरियाली प्रवद्र्धन र नियमित सरसफाइ अभियान सञ्चालन गर्दै आएको तिलोत्तमाले पर्यटकलाई आकर्षित गर्न सडकमा बुद्ध मूर्ति राखेको हो । बुद्ध मूर्ति अनावरण कार्यक्रममा मन्त्री गिरीले लुम्बिनीको पर्यटन प्रवद्र्धनले समग्र प्रदेशको विकासमा महत्वपूर्ण टेवा पुर्‍याउने भएकाले प्रदेश सरकारले यो वर्षलाई लुम्बिनी भ्रमण वर्ष घोषणा गरेको जानकारी दिए । लुम्बिनी भ्रमण वर्षलाई सफल बनाउन सबैले आ—आफ्नो क्षेत्रबाट योगदान गर्नुपर्नेमा जोड दिँदै मन्त्री गिरीले सडकलाई सुन्दर बनाउने गरी तिलोत्तमाले बुद्ध मूर्ति राखेकामा सराहना व्यक्त गरे ।

प्रदेश सरकारले अधिकतम स्वदेशी तथा विदेशी पर्यटक लुम्बिनी ल्याउने गरी लुम्बिनी भ्रमण वर्ष घोषणा गरी विभिन्न योजना बनाएको जानकारी मन्त्री गिरीले दिए ।

नगरपालिका प्रमुख वासुदेव घिमिरेले बुद्ध मूर्ति राखिएसँगै छ लेन सडकको डिभाइडरलाई आकर्षक फूलबारी बनाउने योजनाका साथ नगरपालिका अघि बढेको जानकारी दिए । स्थानीय बासिन्दाको साथ र सहयोगले छ लेनलाई आकर्षक बनाउन विभिन्न काम भइरहेको बताउँदै उहाँले बुद्ध मूर्ति नगरको पहिचानका लागि पनि हुने उल्लेख गरे ।

यस्तै नेपाल कम्युनिष्ट पार्टीका नगर अध्यक्ष मोहन चापागाईंले छ लेनलाई आकर्षक बनाउन निर्माण गरिएको संरचनाको संरक्षण र राम्रो बनाउने दायित्व  स्थानीय बासिन्दाको भएको उल्लेख गरे । यस्तै नेपाली काङ्ग्रेसका नगर सभापति हरिलाल पाण्डेयले तिलोत्तमा सुन्दर, शान्त र भेदभावरहित नगरको रुपमा अघि बढ्ने विश्वास व्यक्त गर्दै यो अभियानलाई सबैले सघाउने बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ