arrow

गोरुको विकल्प हाते ट्रयाक्टर

logo
कृष्ण न्यौपाने,
प्रकाशित २०७६ वैशाख २ सोमबार
tactor1.jpg

दमौली । तनहुँको भिमाद नगरपालिका–९ पाथर्दीकी कल्पना थापाले हाते ट्रयाक्टरले खेतबारी जोत्न थालेको तीन वर्ष पुग्यो । पहिला खेताला खोजेर गोरु लगाएर बारी जोत्ने उनि अहिले आफैले सजिलै ट्रयाक्टर चलाएर खेतबारी जोत्न सक्छिन्।

गाउँमा गोरु नै पाल्न छाडेपछि हिजोआज कल्पना जस्तै अन्य किसान हाते ट्रयाक्टरले नै खेतबारी जोत्न थालेका छन्। गोरुले जोत्दा दिनभर लाग्ने काम हाते ट्रयाक्टर लगाउँदा केही घन्टामै सकिने हुँदा किसान ट्रयाक्टरप्रति आकर्षित भएका हुन् ।

महिलाले गोरु जोत्न हुन्न भन्ने मान्यता भए पनि गाउँमा हिजो आज महिला नै ट्रयाक्टरको चालक भएर खेतबारी जोत्न थालेका छन् । त्यसको उदाहरण बन्नुभएको छ कल्पना । उनले भनिन्,“पहिलो कुरा त गाउँमा गोरु नै पाइन छाड्यो, त्यसमाथि जोत्ने मान्छे पनि नपाइने । अहिले हाते ट्रयाक्टरले सजिलै जोत्न सकिने हुँदा समय र पैसाको पनि बचत भएको छ ।”

श्रीमान् पूर्णबहादुरलाई काममा सघाउन कल्पना आफै ट्रयाक्टर लिएर बारी जोत्न अगाडि सर्छिन् । पूर्णबहादुर र कल्पना दुवै गाउँकै एक बोर्डिङ स्कूलका शिक्षक समेत हुन् ।

विद्यालय जान घरबाट सँगै निस्कने र फर्कने उनिहरु दुबै आलोपालो घर र खेतबारीको काममा खट्ने गरेका छन् । विगतमा खेतबारी जोत्ने बेलामा गोरु नपाएर कयौं दिन पालो पखर्नुपरेको स्मरण गर्दै कल्पनाले भनिन् , “गोरुले जोत्ने समयमा पहिला पहिला खेत जोत्नको लागि दिन हेराए झैं हुन्थ्यो, तर आजकल दिउँसो विद्यालय गएर पनि बिहानबेलुका आफैले ट्रयाक्टर  लगाएर बारी जोत्न भ्याइन्छ ।”

गाउँकै एक किसानसँग रु ३२ हजारमा उक्त ट्रयाक्टर  खरीद गरेको उनले जानकारी दिइन्। उनका अनुसार गोरु लगाउदा भन्दा ट्रयाक्टर  लगाउदा खेती धेरै उब्जनी भएको छ । भीमाद नगरपालिका–९ का अध्यक्ष इमान थापाले कृषिलाई आधुनिक र व्यावसायिक बनाउन हाते ट्रयाक्टर  प्रयोग गर्न प्रोत्साहन गरिएको बताए । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ