चौथो शताब्दीका चन्द्रगुप्त द्वितीय : जसको समयमा पूर्वीय बैज्ञानिकहरुले अन्तरिक्ष पत्ता लगाए

यही समयमा पृथ्वीले सूर्यलाई घुम्दछ भन्ने सिद्धान्तको समेत प्रतिपादन पूर्वीय बैज्ञानिकहरुले नै गरेका थिए

सुदर्शन अर्याल, प्रकाशित मिति : २०७६ बैशाख २ सोमबार

काठमाडौं । अहिले विश्व ब्ल्याक होलको तस्वीर भेटिएको खुशियालीमा छ । अन्तरिक्षको विज्ञानमा धेरै अघि बढिसकेको पाश्चात्य बैज्ञानिकहरुले ब्ल्याक होलको तस्वीर अहिले पत्ता लगाएपनि अन्तरिक्ष विज्ञानको बारेमा भने केही समय अघि नै ज्ञान हाँसिल गरिसकेका थिए । तर, पाश्चात्य बैज्ञानिकहरुले अन्तरिक्ष पत्ता लगाउनु पूर्व नै पूर्वीय बैज्ञानिकहरुले १८ सय वर्ष पहिले नै यसबारेमा खोज गरिसकेका थिए । गुप्त सम्राटहरुको समयका बैज्ञानिकहरुले त्यतिबेला नै अन्तरिक्षबारे ज्ञान हाँसिल गरिसकेका थिए । 
 
यिनै कारणले गुप्तहरुको शासनकाललाई भारत वर्षको स्वर्णकालको रुपमा मानिन्छ । तेस्रो शताब्दीको मध्येतिरबाट सुरु भएको गुप्त साम्राज्य सातौं शताब्दीको मध्यसम्म चलेको पाइन्छ । गुप्तहरुको उत्पत्तिको विषयमा पनि इतिहासकारहरुमा अहिलेसम्म एक मत भने पाईँदैन । गुप्तहरु कुन् कूलमा जन्मिएका थिए ? यसबारे पनि धेरैको मतभेद रहेको छ । यसमा स्पष्ट प्रमाण भेटिएको छैन । कसैले उनीहरुलाई शुद्र जातिको शासक भन्दछन् भने कसैले उनीहरु ब्राह्मण त कसैले क्षेत्रीय कूलको समेत मान्ने गरेका छन् । 

गुप्तहरुको आदि शासक को थिए ? भन्ने सवालमा पनि एकमत पाईँदैन । कसैले श्री गुप्तलाई आदि शासक मानेका छन् भने कसैले चन्द्रगुप्त प्रथमलाई नै गुप्तहरुको आदिराज मानेका छन्। प्रभावती गुप्तको पुना अभिलेखमा श्री गुप्तको उल्लेख पाउन सकिन्छ । जसमा श्री गुप्त (इसाको २४० देखि २८०)लाई यस वंशको आदिराज मानिएको छ । यद्यपि इतिहासकारहरुले भने उनी कसैको अधिनमा रहेको र राजा नभई सामन्त मात्रै रहेकोले उनलाई आदिराज मान्न नसक्ने तर्क पनि आउने गरेको छ । 

श्री गुप्तले महाराजको उपाधि धारण गरेका थिए । उनले राजाको रुपमा नभई सामन्तको रुपमा महाराजको उपाधि धारण गरेका थिए । यसैलाई आधार मानेर इतिहासकारहरुले उनी अरुको अधिनमा काम गर्ने भएकोले उनलाई नै गुप्ता शासनकालको उत्पत्तिकर्ता मान्न नसकिने तर्कहरु पनि गर्ने गरेका छन् ।

श्री गुप्तपछि उनको उत्तराधिकारीको रुपमा आएका तिए घटोत्कच (शासन : २८० देखि ३१९ ई) । कुषाणहरुले त्यतिबेला मगधमा राज्य गर्दथे भने गुप्तहरु मगधको आसपासमा सामन्तको रुपमा रहेका थिए । यदि श्री गुप्तलाई आदिराज नमान्ने हो भने घटोत्कच पनि आदिराजको लागि योग्य देखिँदैनन् । कारण हो कि उनी पनि श्री गुप्त जस्तै सामन्त मात्रै थिए । 

चन्द्रगुप्त द्वितीयको योगदान
समस्त गुप्तराजाहरुमा चन्द्रगुप्त द्वितीय सबैभन्दा प्रतापी शासक थिए । उनले देवगुप्त, देवराज र विक्रमादित्यको उपाधि धारण गरेका थिए । उनलाई शकारिको नामले पनि चिनिन्छ । शक राजाहरुलाई नाश गरेका कारण पनि उनलाई सो उपाधि दिईन्छ । चन्द्रगुप्त द्वितीय पनि प्रथम जस्तै बुद्धिमान थिए । चन्द्रगुप्तले आफ्नी पुत्री प्रभावतीको विवाह वाकाटक नरेश रुद्रसेनसँग गराएका थिए । चन्द्रगुप्त द्वितीयको राजधानी पाटलीपुत्रमा थियो । उज्जैन उनको दोस्रो राजधानी थियो । रुद्रसेनको मृत्युपछि उनको राज्य आफ्नो राज्यमा गाभेपछि उनले दोस्रो राजधानी उज्जैन बनाएका हुन् । 

चिनियाँ यात्री फाह्यान चन्द्रगुप्तकै समयमा भारत गएका थिए । उनी बौद्ध धर्मको प्रचार गर्ने र बौद्ध धर्मको प्रमाणिक खोज तथा तीर्थस्थल देख्नको लागि आएका थिए । आफ्नो यात्राको अन्तिम चरणमा नै उनी लुम्बीनी र बैशाली गएका थिए । चन्द्रगुप्त द्वितीयले पनि मुद्राको क्षेत्रमा नवीनता दिएका थिए। शक मुद्राहरु जस्तै नै चन्द्रगुप्त द्वितीयले चाँदिको सिक्का चलाएका थिए। चन्द्रगुप्त द्वितीयले सबैभन्दा पहिले चाँदीको सिक्का चलाए । तर, उनको अधिकतम सिक्काहरु स्वर्णधातुमै थियो । 

चन्द्रगुप्त द्वितीयको समयमा त्यहाँको प्रशासनिक सुधार पनि धेरैभएको थियो । उनको समयमा उनका प्रधान सचिव बीरसेन थिए । 
प्रधान सचिव बाहेक उनको समयमा प्रशासनको स्वरुप अनुसार 
प्रशासनिक अधिकारीलाई – कुमारामात्य 
सेनाका अधिकारीलाई – बलाधिकृत     
न्यायाधीशलाई – महादण्डनायक 
मुख्य सुरक्षा अधिकारी – महाप्रतिहार     

धार्मिक हिसावले चन्द्रगुप्त द्वितीय बैष्णव धर्मका अनुयायी थिए । उनले परम भागवतको उपाधि धारण गरेका थिए । त्यसले पनि उनको धर्मिक सम्प्रदायबारे जानकारी पाईन्छ । उनका सचिव वीरसेन शैव सम्प्रदायका थिए भने उनका सेनापति बौद्ध धर्मका थिए । यसबाट पनि उनी धार्मिक रुपमा एकदमै सहिष्णु थिए भन्ने पुष्टि हुन्छ ।

चन्द्रगुप्त द्वितीय आफैंपनि विद्वान थिए भने अरु विद्वानहरुलाई पनि सम्मान र आश्रय दिने स्वभावका थिए । उनको दरबारमा ९ विद्वानहरुको मण्डली थियो । त्यसमा कालिदास, बराहमिहिर, धन्वन्तरी, वररुची जस्ता विद्वानहरु थिए । जसलाई नवरत्न मानिन्छ । त्यतिबेला पाटलीपुत्र र उज्जैन विद्याको प्रमुख केन्द्र थियो । 

गुप्त कालको वैज्ञानिक प्रगति योगदान
गुप्तकालमा खगोल–शास्त्र, गणित तथा चिकित्सा शास्त्रको विकास समेत आफ्नो चरमोत्कर्षमा थियो । यस कालमा प्रसिद्ध खगोलशास्त्री वराहमिहिरले प्रसिद्ध ग्रन्थ वृहत्संहिता एवं पञ्चसिद्धान्तिकाको रचना गरेका थिए । आर्यभट्ट आफ्नो समयको विख्यात गणितज्ञ थिए । जसले दशमलव प्रणालीको विकास गरेका थिए । आर्यभट्ट प्रथम नक्षत्र विज्ञानका ज्ञाता थिए । 

उनले पहिलो पटक पृथ्वी आफ्नो धुरीमा घुम्दछ र सूर्यको चक्कर लगाउँदछ भन्ने सिद्धान्त प्रतिपादन गरेका थिए । यसका अलावा चिकित्साको क्षेत्रमा केवल ‘वाग्भट्ट’ जस्ता विद्वानहरुले आयुर्वेदको प्रसिद्ध ग्रन्थ ‘अष्टांग हृदय’ को रचना गरे । ‘धन्वन्तरी’ जस्ता प्रसिद्ध आयुर्वेदाचार्य र चिकित्सकले शल्य–शास्त्र (सर्जरी) को विकास गरेका छन् । अणु–सिद्धान्त जो आधुनिक क्वान्टम भौतिक शास्त्रको आधारशीला हो । यो प्रतिपादन समेत गुप्तकालमा नै भएको थियो । 
 

ईआइसिटी नेपाल प्रालिद्धारा संचालित हाम्राकुरा डटकममा प्रकाशित कुनै पनि सामाग्री ईआइसिटी नेपालको पूर्व जानकारी विना हुवहु एवं आंशिक रुपमा समेत कपी गरि प्रकाशन गर्नु दण्डनीय छ। यस किसिमका कार्य गर्ने उपर ईआइसिटी नेपाल कानुनी उपचार खोज्न बाध्य हुने भएकाले सम्बन्धित सवैलाई सचेत हुन जानकारी गराइन्छ।

नयाँ