arrow

पढाई प्रभावित भएको भन्दै क्याम्पस प्रमुखको कुर्सी जलाइयो

logo
ईश्वर दत्त बडू,
प्रकाशित २०७६ वैशाख ९ सोमबार
kanchanpur-college.jpg

कञ्चनपुर । क्याम्पसमा नियमित पठन पाठन नहुँदा विद्यार्थीको पढाई प्रभावित भएको भन्दै भीनपा १८ मा रहेको जनज्योती बहुमुखी क्याम्पसका प्रमुख खेमलाल घिमिरेको कुर्सी जलाईदिएका छन् ।
 
सोमबार तीन विद्यार्थी संगठन नेपाली काँग्रेस निकट नेविसंघ, पुर्व माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी र एमाले निकट अनेरास्ववियुले बिहान क्याम्पस प्रमुख घिमिरेको कुर्सी बाहिर ल्याएर जलाईदिएका हुन् ।

 संयुक्त विद्यार्थी संगठनले क्याम्पसमा नियमित पठन पठानको माग अघि सार्दै क्याम्पस प्रमुखको कार्यकक्षमा तोडफोडका साथै कुर्सी समेत जलाईदिएका हुन् ।

बैशाख पहिलो सातादेखि विभिन्न विषयका प्राध्यापक क्याम्पसमा उपस्थित नहुँदा विद्यार्थीको पढाई प्रभावित भएको विषयमा क्याम्पस प्रशासनलाई जानकारी गराउँदा समेत कुनै सुनुवाई नगरेका कारण बाध्य भएर प्रमुखको कुर्सी जलाएको तीन विद्यार्थी संगठनले बताएका छन् ।

 अखिल क्रान्तिकारी जनज्योती क्याम्पस इकाई अध्यक्ष दल बहादुर धामीले पटक पटक क्याम्पस प्रमुखलाई नियमित पठन पाठनको माग राख्दा समेत वेवास्ता गरेका कारण कुर्सी जलाउन बाध्य भएको बताए ।

यस अघि घिमिरे क्याम्पस प्रमुख हुँदा क्रान्तिकारीले उतिबेलै  पनि उनको कार्यशैली बिरुद्ध आन्दोलन गरेको बताउदै ८ बर्ष अघि घिमिरेको कुर्सी जलाएको बताए । ‘क्याम्पस प्रमुख घिमिरेको कार्यशैली प्रति हामीले उतिबेलै आन्दोलन छेडेका थियौँ, ‘उनले भने, ‘अहिले आएर उनी क्याम्पस प्रमुख हुँदा सबै विद्यार्थी संगठन घिमिरे बिरुद्ध आन्दोलनमा उत्रिएका छन् ।’

अनेरास्ववियुका इकाई अध्यक्ष सरोज भण्डारीले क्याम्पस प्रमुखको गैर जिम्मेबारीपनका कारण बाध्य भएर आन्दोलनमा उत्रिएको बताए । ‘आज बिहानैदेखि क्याम्पसमा पढाई भएन, ‘उनले भने, ‘क्याम्पस प्रमुख पनि क्याम्पसमा आएनन् ।’

नेवि संघ इकाई सभापति सरोज रोकायाले विद्यार्थी संगठनले अघि सारेका माग पुरा नभएसम्म आन्दोलन जारी राख्ने चेतावनी दिए । विद्यार्थीको आन्दोलनका कारण क्याम्पस ठप्प भएको छ । बिहानैदेखि तोडफोड, आगजनी भएपछि सोमबारको पठनपाठन समेत ठप्प भएको क्याम्पसले जनाएको छ ।

क्याम्पस प्रमुख खेमलाल घिमिरेले क्याम्पस सुधारका लागि आफूले प्रयत्न गर्दा केही क्याम्पसका शिक्षक प्राध्यापकको चलखेलका कारण तोडफोड र आगजनी भएको बताउँछन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ