arrow

रुकुमका सबै गाविस र नगरपालिका साक्षर

logo
गणेश खनाल,
प्रकाशित २०७२ चैत ५ शुक्रबार
Rukum-hamrakura.jpg.jpeg
रुकुम। रुकुमका सबै गाविस र नगरपालिकाहरु साक्षर घोषणा भएका छन् । जिल्ला शिक्षा कार्यालयका अनुसार जिल्लाका २ नगरपालिका र ३९ गाविसहरुलाई औपचारिक कार्यक्रमहरुबिच साक्षर घोषणा गरिएको हो।
 
कार्यालयका अनुसार बैशाखमा जिल्लालाई नै साक्षर घोषणा गर्ने कार्यक्रम रहेको छ । प्रत्येक गाविस र नगरपालिकाका ९५ प्रतिसतबढि जनसंख्या साक्षर भएपछि साक्षर घोषणा गरिएको हो। जिल्लाको पहिलो साक्षर गाविसको रुपमा दुली र अन्तिम साक्षर गाविसको रुपमा सिस्ने घोषणा भएको जिल्ला शिक्षा समितिका अध्यक्ष एवं स्थानीय विकास अधिकारी भरतकुमार शर्माले जानकारी दिए । कार्यालयका अनुसार १५ देखि ६० बर्षसम्मका व्यक्ति सामान्य साक्षर हुनुपर्ने प्रावधान तोकिएको छ । जिल्ला शिक्षा कार्यालयले २०६७ सालदेखि साक्षर कार्यक्रम संचालन गरेको थियो । २०६७ को घरधुरी सर्भेक्षणअनुसार जिल्लामा ५४ हजार ४६ जना निरक्षर रहेको कार्यालयले जनाएको छ । कार्यालयले निरक्षरहरुलाई साक्षर बनाउनका लागि प्रत्येक गाविसका प्रत्येक वडाहरुमा साक्षरता कक्षाहरु संचालन गरिएको जनाएको छ । २०६७ सालदेखि २०७१ सम्म सबै निरक्षरहरु साक्षर भएको कार्यालयले जनाएको छ ।
 
समान्य हस्ताक्षर गर्नसक्ने, नेपाली अक्षरहरु तथा अङ्कहरु लेख्न र पढ्न सक्ने, आफ्नो नाम लेख्नसक्ने व्यक्तिलाई साक्षर व्यक्ति मानिएको जिल्ला शिक्षा कार्यालयका शाखा अधिकृत बिश्वास रोकामगरले जानकारी दिए । जिल्लाको प्रत्येक नपा र गाविसहरुको उच्चतम विद्यालय तथा गाविस कार्यालयहरुमा औपचारिक कार्यक्रमहरुका बिच साक्षर घोषणा गरिएको उनले जनाए । साक्षर घोषणा हुनुपूर्व नगरपालिका तथा गाविसस्तरीय शिक्षा समितिले अनुगमन कार्यक्रम संचालन गरेका थिए । घोषणा कार्यक्रमका लागि गाविस तथा नगरपालिकाहरु, विद्यालयहरु र सामुदायिक अध्ययन केन्द्रहरुले संयोजन गरेका थिए । साक्षरता कार्यक्रम सफल बनाउन शुरुमा गाविस कार्यालहरुले, दोस्रो चरणमा सामुदायिक अध्ययन केन्द्रहरुले र तेस्रो चरणमा माध्यमिक विद्यालयहरुले अभियान संचालन गरिरहेका थिए । 
 
पूर्ण रुपमा साक्षर जिल्ला घोषणा गर्नका लागि बिभिन्न सरकारी तथा गैरसरकारी निकायहरु, विद्यालय,सामुदायिक अध्ययन केन्द्र, स्थानीय स्तरका समुहहरुलाई परिचालन गरी कार्यक्रम सफल बनाईएको जिल्ला शिक्षा अधिकारी रामलाल खड्काले जानकारी दिए । ‘चैत्र महिनाभर एसएलसीका लागि कार्यालयको जनशक्ति र शैक्षिक संस्थाहरु परिचालन गर्नुपर्ने भएकाले बैशाख महिनाभित्र जिल्लालाई साक्षर बनाईने छ,’ जिल्ला शिक्षा अधिकारी खड्काले भने, ‘बिशिष्ठ व्यक्तिको उपस्थितीमा भव्य औपचारिक कार्यक्रमका बिच जिल्लालाई पूर्ण साक्षर घोषणा गरिने छ ।’ 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ