arrow

बिजुलीबजार र तीनकुनेमा नयाँ प्रविधिको पुल

logo
प्रकाशित २०७६ वैशाख २५ बुधबार
1034760817.jpeg
काठमाडौँ । माइतीघर–तीनकुने नमूना सडकखण्डको बिजुलीबजारस्थित धोबीखोला र तीनकुनेको बाग्मतीमा नेपालमै पहिलोपटक नयाँ प्रविधिको पक्की पुल निर्माण हुने भएको छ ।  नेटवर्क आर्च ब्रिज प्रविधिको पुल नेपालमै पहिलोपटक निर्माण गर्न लागिएको काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले जनाएको छ । माइतीघर–तीनकुने सडकखण्डलाई आठ लेनसहितको नमुना बनाइए पनि धोबीखोला र बाग्मतीमा चार लेनकै पुल हुँदा ट्राफिक जाम हुने गरेको छ । यो जामबाट मुक्तिका लागि पुल निर्माणको नापजाँच गरिएको आयोजनाले जनाएको छ । 

‘बिजुलीबजारस्थित धोबीखोलामा अहिले चालु रहेको चार लेन पुलको उत्तरतिर ५० मिटर र दक्षिणतिर ५० मिटर लम्बाइको पुल निर्माण गर्नका लागि डिजाइन गरी सडक विभागको पुल महाशाखामा पठाइएको छ, दुबै पुल १२ मिटर चौडाइको हुनेछ’– आयोजना प्रमुख मनोज श्रेष्ठले भने । २०७४ साल पुसमा सकिने यो पुलका लागि अनुमानित लागत रु १३ करोड १३ लाख लाग्नेछ । निर्माणका लागि जेई कन्स्ट्रक्सनलाई ठेक्का दिइएको छ । 

तीनकुनेस्थित बाग्मती नदीमाथि पनि सोही प्रविधिको पुल निर्माण गरिने भएको छ । अहिले चालु रहेको चार लेनको पुलको उत्तरतिर ८५ मिटर र दक्षिणतिर ८५ मिटर लम्बाइको १२ मिटर चौडा पुल निर्माण गर्न लागिएको छ । पुल निर्माणका लागि पपु कन्स्ट्रक्सनलाई ठेक्का दिइएको आयोजनाले जनाएको छ । निर्माणको लागत रु २१ करोड ३३ लाख अनुमान गरिएको छ । यसको निर्माण २०७५ साल भदौमा सम्पन्न हुनेछ । 

अहिलेसम्म नेपालमा निर्माण भइरहेका पुल २५ मिटरको भाग छुट्याएर ढलान गर्ने गरिएको छ । यो प्रविधिको पुल भने जति लम्बाइको बनाइन्छ, त्यति नै लम्बाइको ढलान गरिनेछ । यसमा आर्चले भार बहन गर्नेछ । यो प्रविधिको पुल हेर्दा आकर्षक हुनाका साथै लागत पनि कम लाग्ने आयोजनाका शाखा अधिकृत भवानीप्रसाद घिमिरेले जानकारी दिए । 
पुलको डिजाइन सम्पन्न गरी विभागको पुल महाशाखाबाट स्वीकृत गराई विभागका महानिर्देशकले अन्तिम स्वीकृति दिएपछि नयाँ प्रविधिको भएकाले भारत अथवा बङ्गलादेशका सम्बन्धित विशेषज्ञबाट जाँच गराएर पुल निर्माण सुरु गरिने आयोजनाले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ