arrow

सफ्टवेयरबाटै मिर्गौला रोग र क्यान्सरको जानकारी

logo
प्रकाशित २०७६ वैशाख २२ आइतबार
helth-apps.jpg.jpeg

बागलुङ । जिल्लाको बागलुङ नगरपालिका –१४ स्थित नारायणस्थान स्वास्थ्यचौकी व्यवस्थापन समितिले जनताको स्वस्थ्य अवस्था जानकारी लिनका लागि सफ्टवेयर प्रविधि प्रयोगमा ल्याएको छ ।
    
सफ्टवेयर प्रविधिले नारायणस्थानका चार हजार ७०० को व्यक्तिगत स्वास्थ्य अवस्थाबारे तथ्याङ्क राख्न सहयोग पुगेको नारायणस्थान स्वास्थ्यचौकीले जनाएको छ । रु ८० हजारको लागतमा निर्माण गरिएको सफ्टवेयरका लागि बागलुङ नगरपालिकाले रु ४० हजार र वडा कार्यालयले रु ४० हजार विनियोजन गरेको थियो ।

सफ्टवेयरले प्रत्येक महिला तथा पुरुषको स्वास्थ्य अवस्थाको जानकारी दिनेछ । बालबालिकाले खोप लगाए-नलगाएको, पोषणको अवस्था, गर्भवती तथा कुपोषित महिलाको अवस्था, परिवार नियोजनको अवस्था, मधुमेह, उच्च रक्तचाप, मिर्गौला रोग, क्यान्सर, उमेरअनुसारको जनसङ्ख्यालगायतका विषयमा जानकारी राखिने स्वास्थ्यचौकी प्रमुख ऋषिराम शर्माले बताए ।

हरेक सङ्घसंस्थालाई प्रविधिमैत्री बनाउँदै लैजाने नगरपालिकाको योजनाअनुसार सफ्टवेयर सञ्चालन गरिएको बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले बताए । “हामीले स्वास्थ्यचौकी तहमा नै सफ्टवेयर निर्माण गरी प्रत्येक जनताको स्वास्थ्य अवस्था जानकारी राख्न लागेका छौँ”, पौडेलले भने, “देशकै एउटा नमूना काम भएको र आगामी वर्षमा यस प्रविधिलाई पालिकाका अन्य स्वास्थ्य संस्थामा समेत लागू गराउन प्रयत्न गरिने छ ।” एक वर्षको निरन्तर अभ्यासपछि वडामा रहेका रोगीका आधारमा स्वास्थ्य सेवा प्रदान गर्नलाई ‘वेब वेस हेल्थ प्रोफाइल’ नामक सफ्टवेयर निर्माण गरिएको चौकी प्रमुख शर्माले बताए ।

सफ्टवेयरमा वडाभरका व्यक्तिको रोगको विवरण राखिने भएकाले स्वास्थ्य सेवा, औषधि तथा स्वास्थ्य योजना निर्माणका लागि सहयोग पुग्नेछ । “वडामा कस्ता विरामी बढी छन् त्यसैलाई केन्द्रित गरेर सेवा प्रदान गर्न सफ्टवेयरले सहयोग पुग्नेछ”, शर्माले भने । स्वास्थ्य सेवाका बारेमा केही जानकारी लिनुपरेमा सफ्टवेयरका माध्यमबाट तुरुन्त पत्ता लाग्नेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ