arrow

प्रदेश सभामा कांग्रेसको भूमिका कमजोर

logo
प्रदीप आचार्य,
प्रकाशित २०७६ वैशाख २२ आइतबार

बुटवल । पार्टीभित्र गुटगत प्रभावका कारण प्रदेश नं ५ को प्रदेशसभामा नेपाली कांग्रेसको भूमिका कमजोर भएको छ । संसदीय दलका पदाधिकारीहरु नै लामो समयसम्म प्रदेशसभा बैठकमा अनुपस्थित हुने गरेका कारण प्रदेशसभामा कांग्रेसको भूमिका कमजोर देखिएको कांग्रेस सांसदहरुकै गुनासो छ ।

प्रदेशसभामा कांग्रेस संसदीय दलका नेता बलदेव शर्मा पोखरेल बिरामी भएका कारण बिगत लामो समय सम्म प्रदेशसभा बैठकमा उपस्थित हुन सकेका छैनन् भने संसदीय दलका प्रमुख सचेतक सुरेन्द्र हमाल पनि १५ दिनसम्म संसदमा उपस्थित नहुने गरेका कारण प्रदेशसभामा कांग्रेसको भूमिका कमजोर देखिएको हो ।

नेतृत्वको अभावका कारण प्रदेशसभामा पार्टीको रणनीति के हो र कसरी प्रस्तुत हुने भन्ने विषयमा छलफल नहुंदा प्रदेशसभामा पार्टीले उठाउनुपर्ने मुद्धा के हो र कसले कसरी उठाउने भन्ने विषय अन्यौल हुने गरेको कांग्रेस सांसदहरु बताउंछन् ।

 संसदीय दलको नेता बिरामी पर्नु, उपनेता चयन नहुनु र प्रमुख सचेतक र सचेतकसमेत नियमित उपस्थित नहुनुले कहिलेकाही प्रदेशसभामा कांग्रेस पदाधिकारीबिहीन हुने गरेको छ ।

नेतृत्वको अभावमा कांग्रेस सांसदहरुले समसामयिक बिषय र आफ्नो क्षेत्र र जिल्लामा देखिएका समस्याहरु प्रदेशसभामा उठाउंदै आएका छन् तर एकाध बिषयमाबाहेक संस्थागत निर्णयका आधारमा कांग्रेसको भूमिका कमजोर हुदै गएको छ ।

चुनावमा टिकट बितरणदेखिनै हाबी रहेको संस्थापन पक्ष प्रदेशमा पार्टीलाई स्थापित गराउनेभन्दा पनि गुटलाई बलियो बनाउने रणनीति लिएका कारण प्रदेशसभामा कांग्रेसले जुन किसिमको भूमिका खेल्नुपर्ने हो सो भूमिका खेल्न नसकेको नाम उल्लेख नगर्ने सर्तमा एक प्रदेशसभा सदस्यले बताए ।

टिकट वितरणमै संस्थापन पक्षले एकलौटी गरेका कारण प्रदेश नं ५ का कतिपय संघीय संसद, प्रदेशसभा र स्थानीय तहमा समेत पराजय भोग्नुपरेको असन्तुष्टि कांग्रेसमा छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ