arrow

प्रधानमन्त्री–मन्त्रीका हेलिकप्टर भ्रमण खर्च: वर्षदिनमै अर्व नाघ्यो !

(भाग एक)

logo
केदार सुवेदी,
प्रकाशित २०७६ वैशाख २४ मंगलबार
helicoptor3.jpg

चैत्र १६ को हावाहुरीले विनास गरेको बाराको फेटा गाउँपालिका र वरपर यसको एकमहिना पछि, बैशाख २१ मा अर्को त्यस्तै हुरी आयो । यो चाहि प्राकृतिक थिएन । उपप्रधानमन्त्री र मन्त्रीहरु सवार हेलिकप्टरको हुरी थियो यो ।

एकै ठाउँमा एकैपटक तीन तीतवटा हेलिकप्टर अवतरित हुँदा  त्यो ठाउँमा कस्तो हावाहुरी चल्छ अनुमान गर्न सकिन्छ ।

यो दिन ती ठाउँमा त्यो हावाहुरीबाट घरवार गुमेकाहरुको आवास निर्माणको शिलान्यास गर्न यसदिन एकैपटक दुइ उपप्रधानसहित ११ जनामन्त्री त्यहाँ पुगेका थिए यी तीन हेलिकप्टर मार्फत ।

यी हेलिकप्टर प्रतिघण्टा सरदर ४ लाख दरका थिए । जाँदा, काम सम्पन्न गर्दा र फर्किदा गरी तीन घण्टाको समयबाट हिसाव हुँदा ४० लाखको हारारीमा खर्च देखियो ।  यो समय तीनघण्टाले मात्रै पुग्ने थिएन । सरकारको प्रचारको पनि कुरा थियो तर यहाँ न्यूनतमको मात्र हिसाव भएको हो ।

यो सरकारका प्रधानमन्त्री, मन्त्री सबै नै हेलिकप्टर बाहेक पाइलो चाल्दैनन् भन्ने आरोप लागको छ सरकार गठन भएको केही समय देखिनै । हुँदैजाँदा  विवरणहरुले पनि यो कुरालाई पुष्टी गर्दै आए । हिसाव हुँदा यो सरकारको हेलिकप्टर उडानको खर्चमात्रै अर्वमा उक्लिएको पाइयो यो वर्षदिनकै सेरोफेरोमा ।

सरकार गठन भएलगत्तै यही सरकारको पर्यटन मन्त्रालयले बनाएको आचारसंहिता र सरकारी भ्रमणबारे देशले अवलम्बन गरेको नियमावलीमा ‘जस्तासुकै पदाधिकारीको मोफसलमा भ्रमण हुँदा नजिकको हवाइजहाज प्रयोग गर्नुपर्नेछ’ भन्ने स्पष्ट किटान गरिएकोछ । त्यसमाथि सरकारी कम्पनीको विमान नै हुनुपर्छ । सरकारी कम्पनीको उडान नभएका ठाउँमा निजी विमान कम्पनी पर्छन् । हेलिकप्टरका उडानकाबारे त कतै व्यवस्था नै गरिएको छैन । तर यहाँ यसको उल्टो भयो, हेलिकप्टरकै  प्रयोग धेरै भयो ।

यसबाहेक सरकारले मीतव्ययिताको पनि निर्देशिका बनाएको थियो । सरकारको छ महिनाको कार्य प्रगति विवरणमा त्यसको जानकारि दिइएको छ – ‘सार्वजनिक खर्चमा मितब्ययिताः कार्यालय सञ्चालन र साधारणखर्च कम गर्दै पूँजीगत खर्च वृद्धि गर्ने उद्देश्य अनुरुप तयार पारिएको सार्वजनिक खर्चमा मितव्ययिता र प्रभावकारिता कायमगर्ने नीतिगत मार्गदर्शन, २०७५ कार्यान्वयनमा ल्याइएको छ ।’

तर यी सबै कुरा उल्लंघनमा परे । कम्तीमा हेलिकप्टर प्रयोगकाबारेमा त यो मितव्ययितको  मार्गदर्शन व्यंग्य नै बन्यो ।

जस्तो विमानस्थल नजिक भएको ठाउँमा पनि हेलिकप्टर नै रोजियो भने विमान चार्टर गरेर कतै जानुपर्ने भयो  भनेपनि सरकारी होइन नीजीलाई छान्न थालियो । त्यसको उदाहरण प्रधानमन्त्री आफैले कायम गरे गएको साउनमा चीन  जाँदा । जसको हवाइखर्च दुइ करोडको हाराहारीमा भएको भनी त्यसबेला नै समाचार आएका थिए ।

सगरमाथा टेलिभिजनले अशोज ४, २०७५ को आफनो प्रसारणमा हेलिकप्टर उडानको त्यसबेलासम्मको विवरण दिएको थियो । सो अनुसार यो दिनसम्म उच्चपदस्थ व्यक्तिले जिल्ला भ्रमणका लागि पछिल्लो अवधिमा ८ सय घण्टाभन्दा बढी समय सैनिक हेलिकप्टर प्रयोग गरेका थिए । यो भनेको सरकारको छ महिनाको विवरण भनी बुझनु पर्छ ।

सेनाको हेलिकप्टरको भाडादर तीन देखि साढे पाँचलाखको हारहारीमा आउछ । यसलाई सरदरमा हिसाव गर्दापनि उक्त टिभिले भनेको ८ सय भन्दाबढी घण्टाको मूल्य करिव ३५ करोड हुन आउँछ।

यतिबेला हिसाव भएको अर्को बाँकी छ महिनाको उडान जोडियोस् । पहिलो छ महिना यतिविधि उडियो भने पछिल्लो छ महिनामा त्यो घट्यो होला भन्न सकिन्न । तलका विवरणहरुले यस्तो उडान झनै बढेको देखाउछन् । स्वाभाविक छ  सोही अनुसार खर्चपनि बढने भयो नै । त्यसकारण यसमा त्यही न्यूनतमको अर्को अंक ३५ करोड जोडिन जान्छ ।

पछिल्लो समय तातोपानी नुहाउन देखि चियापानसम्म २०–३० लाख खर्चेर हेलिकप्टर भ्रमण गरिएका यही तल प्रस्तुत विवरणका केही नमूना मात्रैले पनि यो अंकलाई करिव  तीन गुनाले नै हिसाव गर्न लगाउछ ।

भदौको पहिलो साता तिर प्रकाशित अर्को एउटा समाचार विवरणले प्रधानमन्त्री केपी ओलीको मात्र पाँचमहिनाको हेलिकप्टर भ्रमण खर्च  १५ करोड रहेको हिसाव देखाइएको थियो । यतिबेला प्रधानमन्त्रीको चौध महिनको कार्यकाल चलिरहेको छ । त्यसैपनि नयाँवर्षको आफनो शुभकामना सन्देशमा प्रधानमन्त्री आफैले वितेको यो एकवर्षमा २९ वटा जिल्लाका ३१४ ठाउँको भ्रमण गरेको भन्ने जानकारी दिएका छन । एउटा अनलाइन माध्यम देशसञ्चारले गरेको एउटा अध्ययन अनुसार यी मध्ये धेरै भ्रमण हेलिकप्टरबाट भएको थियो ।

नेपाली सेनाबाट प्राप्त तथ्यांकअनुसार सरकारी, गैरसरकारी तथा निजी क्षेत्रबाट आयोजित विभिन्न कार्यक्रममा उपत्यकाबाहिर जाँदा विशिष्ट व्यक्ति (मन्त्रीहरु) ले करोडौं रुपैयाँ खर्च हुने गरी सैनिक हेलिकप्टर प्रयोग गरेका हुन् ।

कतिसम्म भने काठमाडौंबाट मुस्किलले २० किमि दुरीमा रहेको काभ्रे जाँदा पनि सैनिक हेलिकप्टर नै प्रयोग गरिएको पाइयो जो अरु भन्दा ठूलो भएको कारणले पनि होला महँगो पनि छ तर मन्त्रीका यात्रा यसैमा भैरहेका छन् ।

मन्त्रीका कारण हेलिकोप्टर अभाव
यही  बैशाख १६ मा नयाँ पत्रिकाले एउटा समाचार प्रकाशित गर्‍यो । त्यसमा मन्त्रीहरुको यस्तो भ्रमणका कारण सर्वसाधारणको उद्दारमा समेत गम्भीर प्रभाव परैको कुरा उल्लेख छ ।

‘हुम्लाको ताँजाकोट गाउँपालिकामा रुघाखोकीको प्रकोप रोक्न चिकित्सक र औषधिको टोली पुगेको छ। प्रकोप फैलिएको २० दिनपछि १५ बैशाखमा सेनाको हेलिकोप्टरबाट चिकित्सक टोली ताँजाकोट पुगेको हो। हालसम्म रुघाखोकीबाट नौजनाले ज्यान गुमाइसकेका छन्। ताँजाकोटमा रुघाखोकीबाट दुई सयभन्दा बढी बिरामी परेका छन्। यहाँ औषधिको चरम अभाव भएको थियो। सदरमुकामबाट ४५ कोष टाढाको यस गाउँमा १९ दिनसम्म कुनै सरकारले डाक्टर र औषधि पठाउन सकेको थिएन। सदरमुकामबाट ताँजाकोटसम्म पैदल पुग्न तीन दिन लाग्छ।

प्रमुख जिल्ला अधिकारी धोलकराज ढकाल र कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री दल रावलको आग्रहपछि गृह मन्त्रालयले हेलिकोप्टर पठाएको हो। ‘गृह मन्त्रालयले हेलिकोप्टर उपलब्ध गराएपछि विशेषज्ञ टोली सामाजिक विकास मन्त्रालयले पठाएको हो,’ मन्त्री रावलले भने। औषधि उपकरण र स्वास्थ्यकर्मी लैजान हेलिकोप्टरले सुर्खेतदेखि ताँजाकोटसम्म दुईपटक उडान भरेको थियो। जनतालाई औषधि पुर्‍याउन हेलिकोप्टर उडाउन २० दिन लाग्छ, तर मन्त्रीहरू गोरु जुधाएको हेर्न पनि हेलिकोप्टर चढ्छन ।’  

मन्त्रीका हेलिकोप्टर मोह
मन्त्रीहरु कतिसम्म हेलिकोप्टर मोह राख्छन भन्ने केही नमूना हेरियो भने यो विना उनीहरु एकपाइला पनि चाल्न नसक्ने अवस्था प्रकट हुन्छ । त्यसैकारण औषधी पुर्‍याउनपनि २० दिन पख्न परेको हुनु पर्छ । त्यसका केही नमूना यस्ता छन –

एक: गृहमन्त्री हेटौँडामा पनि हेलिकोप्टरमै गए – गृहमन्त्री रामबहादुर थापा काठमाडौंबाहिर हुने अधिकांश कार्यक्रममा हेलिकोप्टर चढेरै पुग्छन। प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा भाग लिन सातै प्रदेशका राजधानी उनी हेलिकोप्टरबाटै गएका थिए । हेटौँडा पनि उनी हेलिकोप्टरबाटै गए । पछिल्लोपटक १५ बैशाखमा मात्रै उनी सेनाको हेलिकोप्टर चढेर जिल्ला प्रशासन कार्यालय भोजपुरको भवन उद्घाटन गर्न पुगे।  त्यहाँबाट इलामको पशुपतिनगर पुगेर अध्यागमन कार्यालयको उद्घाटन गरेर काठमाडौं फर्किए । भोजपुरको यो कार्यालय विमानस्थल छेउमै पर्छ । तर उनले हेलिकप्टर नै रोजे । यी दुइठाउँमा भ्रमण गर्दा त्यसदिन यो उडान सरदर पाँच घण्टाको थियो । यो एकदिनको उडानमामात्र २५  लाख खर्च भयो । माथि नै विवरण आइसकेको छ यो हेलिकप्टरको उडान खर्च घण्टाको पाँचलाख पर्छ । प्रतिक्षामा बसेको घण्टाको पनि हिसाव गर्ने हो भने त कति हो कति । एउटा उद्घाटन कार्यक्रम भनेको  दुइतीन घण्टा कमका हुँदैन । कति समय त मन्त्री आफैले पनि बोल्नमानै दुइघण्टा लगाइन्दिछ ।

दुइ: क्रिकेट पिचमा रक्षामन्त्रीको हेलिकोप्टर –उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल गत १७ कात्तिकमा सेनाको हेलिकोप्टर चढेर नेकपा बाराको कार्यालय उद्घाटन गर्न पुगे। उनको हेलिकोप्टर ल्यान्ड गर्न कलैयास्थित सिद्धेश्वर क्रिकेट मैदानमा चलिरहेको जिल्लास्तरीय अन्तरविद्यालय क्रिकेट प्रतियोगिताका दुई खेल नै रद्द गर्न लगाइयो। पिच भत्किएकोले दसैँअगाडि नै सकिनुपर्ने प्रतियोगिता स्थगित भयो, फाइनल खेल दसैँपछि खेलाउनुपर्‍यो । यो हेलिकप्टरको पनि समय पाँच घण्टाको थियो । सो अनुसार २५ लाख त रकम नै खर्चभयो ।

तीन: गोरु जुधाएको हेर्न कृषिमन्त्री हेलिकोप्टरमा – कृषि मन्त्री चक्रपाणि खनाल गत १ माघमा धादिङको नीलकण्ठ नगरपालिका खाल्टे फ्याक्सेमा भएको गोरुजुधाइ कार्यक्रम हेर्न हेलिकोप्टर चढेर गए। र, केहीबेर सम्बोधन गरेर काठमाडौं फर्किए। जब कि, त्यहाँ पुग्न काठमाडौंबाट गाडीमा तीन घन्टा मात्रै लाग्छ। धादिङ नजिकैको भुमि हो तर आउँदा जाँदा न्यूनतम पनि त्यो हेलिकप्टर एकघण्टा त उड्यो नै र सकियो पाँचलाख !

हेलिकप्टरबाट हवाइस्थल
यो चाहिँ  पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल नेतृत्वको संसदीय उपसमितिको कुरा हो । त्यसमा दुइजनामन्त्री पनि थिए । यो टोलीले हेलिकप्टरबाटै  दुई घन्टाको एउटा हवाइ निरीक्षण गर्दा १० लाख रुपैया सरकारको कोषबाट खर्च गरिदिएको थियो गएको कार्तिक १९ मा । त्यसबारेको समाचार यसरी आयो –‘यो दिन दिउँसो नेपाली सेनाको हेलिकप्टर लिएर उपसमिति सदस्य निजगढ उडेका थिए । उनीहरू उडेको हेलिकप्टर निजगढमा अवतरण गरेन । आकाशमा चक्कर लगाएर फर्कियो । पर्यटन मन्त्रालयले बाराको निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बनाउन रूख काट्ने अनुमतिका लागि वन मन्त्रालयमा पत्र लेखेको थियो ।  सो विषयमा संसदको अन्तराष्ट्रिय सम्बन्ध समितिले चासो व्यक्त गरेपछि यस्तो भ्रमण गरेका वा गराइएको हो ।

प्रतिनिधि सभाको अन्तराष्ट्रिय सम्बन्ध समितिले निजगढ विमानस्थल निर्माण क्षेत्रमा रूख कटानबारे पर्यटन मन्त्री रवीन्द्र अधिकारीसँग छलफल गरेको थियो । छलफलपछि समितिले अध्ययनका लागि पूर्वप्रधानमन्त्री नेपाल नेतृत्वमा उपसमिति गठन गरेको थियो ।

‘जाँदा फास्ट ट्र्याक हेर्दै गयौँ’, निरीक्षणमा गएका उपसमितिका सांसद दिव्यमणि राजभण्डारीले सेतोपाटीसँग भनेका थिए, ‘निजगढमा घना जंगल देखियो। कतै फडानी गरेको पनि देखियो । टाँगिया बस्ती हेरियो ।’ उनले निजगढको वन फन्को मारे पनि निर्माण क्षेत्र एकिन गर्न नसकिएको बताए । ‘गाइड पनि भएन’, राजभण्डारीले भने, ‘एरियल भ्यू हेरियो ।’

संसदीय उपसमितिका सदस्यसँगै वन मन्त्री शक्ति बस्नेत र पर्यटन मन्त्री रवीन्द्र अधिकारी पनि हेलिकप्टरमा गएका थिए ।

अनुगमनका लागि नेपाली सेनाको एमआई १७ हेलिकप्टर प्रयोग गरिएको थियो । सेनाले उक्त हेलिकप्टर उडाउन प्रतिघन्टा ४ लाख ६५ हजार लिने गरेको लरबाट  यो एउटा हवाइनीरिक्षणमा मात्रै ९ लाख ३० हजार खर्च भयो । विवरणमा नै आयो यो भ्रमण कतै अवतरण नभै सम्पन्न भएको थियो ।

उडन उडाउन प्रतिस्पर्धा
गएको फागुन २७ मा प्रकाशित राजधानीसंग जोडिको जिल्ला धादिङमा २४ दिनमा नेता र मन्त्रीका २८ वटा उडान भएको भन्ने समाचार विवरणले पनि हेलिकप्टर उडानको झन पछिल्ला दिनको अवस्थालाई बुझाउँछ । राजधानीबाट सवारी साधनमा जाँदा २ देखि अढाई घण्टामै सदरमुकाम धादिङबेंसी पुगिन्छ । पृथ्वीराजमार्ग वरपर त झनै छिटो पुगिन्छ । सदरमुकामभन्दा बाहिर २ देखि ३ घण्टामा नपुग्ने कुनै बस्ती छैन । तर, आफ्नो पहुँच र शक्ति प्रदर्शनका लागि नेताहरु हेलिकप्टर प्रयोग गर्ने प्रतिस्पर्धा नै चलेको देखियो । विवरण भन्छ –गत साउनदेखि फागुन १७ सम्मको २४ दिनमा २८ वटा हेलिकप्टर धादिङको भूमीमा उत्रिए छन् ।

राजमार्ग जोडिएको बेनीघाट चरौँदी महोत्सव उद्घाटन गराउन आयोजकले नेकपा अध्यक्ष पुष्पकमल दाहाललाई मंसिर १५ गते हेलिकप्टरबाट ल्याए । अध्यक्ष दाहाललाई नै गत माघ १ गते घले समाजद्वारा सरदमुकाममा आयोजित ल्होसार मनाउन हेलिकप्टरमै ल्याइयो ।

नेता वा मन्त्रीले कुनै प्रकारले त्यस्ता संस्थालाई आर्थिक सहयोग पुर्‍याउने  त्यही स्रोतबाट हेलिकप्टर शयर गर्ने गराउने प्रवृत्तिको यो एउटा नमुना हुनु पर्छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ