arrow

यसकारण होस्टलबाट उद्धार गर्नुपर्‍यो बालबालिका...

logo
नारायण ढुङ्गाना,
प्रकाशित २०७६ वैशाख २५ बुधबार
children-crying.jpg.jpeg

काठमाडौँ ।  कर्णाली क्षेत्रका ४७ बालबालिकालाई एक वर्षअघि नै कालीकोटका जयबहादुर विकले निश्चित शुल्कमा जिम्मा लिएर पठनपाठनका लागि भन्दै काठमाडौँको गल्फुटारस्थित न्यू कर्णाली एजुकेशन होस्टलमा राखेका थिए ।

तीनजना सञ्चालककै आफन्त भए पनि ४४ बालबालिका विभिन्न क्षेत्रका थिए । अभिभावकसँग विवाद भएपछि यसअघि २४ बालबालिकालाई अभिभावकले फिर्ता लगेको बताइए पनि यकिन जानकारी नआएकाले अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । उजुरी परेपछि १९ लाई भने सोमबार प्रहरीले उद्धार गरिसकेको छ ।

होस्टलको रेखदेख गर्दै आएका कमल विकका अनुसार शुरुआती समयमा बालबालिकाको बसाइ र पढाइ राम्रै थियो । विभिन्न सङ्घसंस्थाबाट सहयोग प्राप्त हुँदा बालबालिकाको सरसफाइदेखि खानपान तथा स्वास्थ्य शिक्षामा कुनै समस्या थिएन ।

बाहिरी सहयोग आउन छाडेपछि अवस्था नाजुक बन्दै गएको विकको भनाइ छ ।  महानगरीय प्रहरी वृत्त महाराजगञ्जका अनुसार सोमबार बच्चा भेट्दा कोठा दुर्गन्धित थियो । खानेपानी तथा खान लगाउनकै समस्या थियो । पसलबाट ल्याएको रासनको पैसा तिरिएको थिएन । बालबालिकाको अवस्था सरसफाइविहीन भेटिएको घटनास्थलको मुचुल्का गर्न गएका प्रहरी हवल्दार ओमप्रकाश बैठाले बताए ।

विगतमा प्रतिव्यक्ति रु २५ हजारदेखि रु दुई लाखसम्म उठाएर बालबालिका ल्याएका जयबहादुरले होस्टलको आर्थिक अवस्था कमजोर भएको भन्दै अभिभावकसँग पुनः मासिक एक हजार दिनुपर्ने माग गरेपछि समस्या बल्झिएको हो । कतिपय अभिभावकले दिने सहमति जनाए भने कतिपयले पैसा तिर्न नसक्ने जवाफ दिए । कतिपयले दिएको पैसा र बालबालिका फिर्ता गर्न माग गरेपछि विवाद शुरु भएको हो ।

त्यसअघि रु २५ हजारदेखि दुई लाखसम्म पैसा लिएर बालबालिकालाई १० कक्षासम्म पढाइ दिने सहमति गरी जयबहादुरले बालबालिका ल्याएको होस्टल रेखदेख गर्दै आएका विकको भनाइ छ । उनका अनुसार पढाइ पनि चल्दै थियो ।

विवादका कारण अभिभावकले पैसा र बालबालिका फिर्ता मागेपछि जयबहादुरले एक वर्षसम्म पालनपोषण गरेको पैसा कटाएर दिने बताएको विकको भनाइ छ । त्यसपछि रुष्ट अभिभावक प्रहरीको शरणमा पुगेका हुन् । “अब हाम्रो भन्नु केही छैन, अभिभावकले जे भन्नुहुन्छ, हामी त्यही गर्छौं”, विकले भने।

अभिभावककै उजुरीका आधारमा सोमबार बूढानीलकण्ठ नगरपालिका–८ गल्फुटारबाट १९ बालबालिकालाई प्रहरीले उद्धार गरेको थियो । जयबहादुर विकले बोर्डिङमा पढाइदिन्छु भन्दै हरेक विद्यार्थीबाट झण्डै रु दुई लाखसम्म उठाएर बालबालिका ल्याएको प्रारम्भिक अनुसन्धानमा खुलेको प्रहरीको भनाइ छ ।

वृत्तबाट खटिएको प्रहरीद्वारा उद्धार गरिएका बालबालिकामध्ये नौ जना हिमाली नवीन समाज महाराजगञ्ज र १० जना साझा मञ्च बालुवाटारको संरक्षणमा रहेका छन् । जयबहादुर हाल फरार रहेकाले उनको खोजी जारी रहेको तथा सो विषयमा अनुसन्धान भइरहेको वृत्तका प्रहरी निरीक्षक प्रकाश थापाले बताए ।

ठगी मुद्दा लाग्दै

प्रलोभनमा पारी पैसा लिएर बालबालिकालाई अलपत्र पारेको भन्दै बालबालिकाका अभिभावकले ठगी गरेको आरोपमा कारवाहीको माग गरेका छन् ।  बालबालिकाका चार अभिभावक रामबहादुर बुढा, बुद्धिमान रोकाया, वीरबहादुर कटुवाल र कल्पना सिंहले महाराजगञ्ज प्रहरी वृत्तमा जाहेरी दरखास्त दिँदै रु १३ लाख १३ हजार ठगी गरेको आरोपसहित कारवाहीको माग गरेका छन् । अन्य अभिभावकसमेत सम्पर्कमा आइरहेको प्रहरीले जनाएको छ ।

“हामी अनुसन्धानकै क्रममा छौँ, जाहेरीको आधारमा शुरुमा ठगी मुद्दा अगाडि बढ्ने देखिएको छ, त्यसपछि प्रमाणको आधारमा अरु कारवाही हुन्छ”, वृत्तका प्रहरी नायब उपरीक्षक फणीन्द्र प्रसाईंले भने । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ