arrow

मेनका गान्धी र अखिलेश यादवको राजनीतिक फैसला आइतबार

भारतमा छैठौँ चरणको निर्वाचनको प्रचारप्रसार बन्द

logo
प्रकाशित २०७६ वैशाख २८ शनिबार
menuka-gandi-akhilesh-yadav.jpg

नयाँ दिल्ली। भारतमा भइरहेको लोकसभा निर्वाचन अन्तर्गत छैठौँ चरणको निर्वाचनका लागि शुक्रबारदेखि प्रचारप्रसार गर्न नपाइनेगरी मौन अवधि सुरु भएको छ। छैठौँ चरणको निर्वाचन यही मे १२ तारिखका दिन आइतबार हुने तय भएको छ। यस चरणमा ५९ ओटा निर्वाचन क्षेत्रमा मतदान हुने निर्वाचन आयोगले जनाएको छ। 

आइतबार हुने निर्वाचनबाट संघीय मन्त्री मेनका गान्धी, समाजवादी पार्टीका अध्यक्ष अखिलेश यादव, काँग्रेस नेता दिग्विजय सिंह र भारतीय जनता पार्टी (भाजपा)का प्राज्ञ सिंह ठाकुरसहित ९ सय ६८ जनाको राजनीतिक फैसला हुने भएको छ।

यस चरणमा उत्तर प्रदेशका १४, हरियानाका दश, मध्य प्रदेश, विहार र पश्चिम बंगालका आठ आठ, नयाँ दिल्लीका सात र झारखण्डका चार निर्वाचन क्षेत्रमा मतदान हुन लागेको हो।

यसअघिको लोकसभा निर्वाचनमा यी ५९ सिट मध्ये भारतीय जनता पार्टीले ४४ ठाउँमा जित हासिल गरेको थियो। भारतमा गत अप्रिल ११ देखि यस पटकको लोकसभा निर्वाचन भइरहेको छ। सात चरणमा हुने केन्द्रीय निर्वाचनको अन्तिम चरण यही मे १९ मा सम्पन्न हुनेछ।

यसअघि अप्रिल १८ मा दोस्रो चरणको, अप्रिल २३ मा तेस्रो चरणको, अप्रिल २९ मा चौथो चरणको र यही मे ६ तारिखका दिन पाँचौँ चरणको निर्वाचन भएको छ। सम्पूर्ण निर्वाचनको परिणाम यही मे २३ देखि सार्वजनिक हुनेछ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ